टोखा टाइम्स, १८ चैत्र । प्रत्येक वर्ष बैशाख १ गते लाग्ने टोखाको सपनतीर्थ मेला तथा बिस्का: जात्रालाई लक्षित गरी शान्तिसुरक्षा, ट्राफिक लगायतका व्यवस्थापन सम्वन्धि सरोकारवालाहरू बीच सर्वपक्षीय छलफल भएको छ ।
सपनतीर्थ क्षेत्र बिकास समितिका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा सपनतीर्थ मन्दिर प्राङ्गणमा आज (सोमबार) सम्पन्न भएको छलफलमा नगर उपप्रमुख मुरारी तामाङ, टोखा-१ का वडाध्यक्ष रमेश लामिछाने, टोखा-२ का वडासदस्य आर्यन डंगोल, टोखा संस्कृति संरक्षित क्षेत्रबिकास समिति सदस्य सचिव रबिना श्रेष्ठ, नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापित, टोखा प्रहरी प्रभाग प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बिरेन्द्र पाण्डे, ट्राफिक प्रहरी टोखाका प्रमुख आशिष दर्लामी मगर, टोखा नगर प्रहरी प्रमुख प्रकाश भण्डारी, बिकास समितिका उपाध्यक्ष पञ्चलाल डंगोल, सचिव हेराकाजी डंगोल, सदस्य सिद्धिलाल महर्जन, सल्लाहकार अष्टनारायण डंगोल लगायत बीच मेला तथा जात्रा व्यवस्थापन सम्बन्धि प्रारम्भिक चरणको बैठक बसेको हो ।
बैठकमा सपनतीर्थ क्षेत्र बिकास समितिका अध्यक्ष देवराज डंगोलले विगतका मेलामा भएका र गर्दै आइरहेका व्यवस्थापनहरूको जानकारी गराएका थिए ।
मेला भर्न देशभरका श्रद्धालु भक्तजनहरू मेलासम्म विना अवरोध सहजतवरले आउने वातावरण मिलाउन नगर उपप्रमुखसंग डंगोलले आग्रह गरेका थिए। मन्दिरसम्म आउने बाटोहरूको उचित व्यवस्थापनका साथै उनले लाखौंको संख्यामा आउने दर्शनार्थीहरूका लागि अस्थायी शैचालय र लुगा फेर्ने ठाउँको व्यवस्थापन गर्न आवश्यक रहेको बैठकमा जानकारी गराए ।
टोखाका उपप्रमुख मुरारी तामाङले ऐतिहासिक सहर टोखाबाट टोखा नगरपालिकाको नामाङकरण भएको भन्दै टोखाको सान र पहिचान सपनतीर्थ मेला र विस्काः जात्रा सभ्य र भव्य रूपमा सम्पन्न गर्न आवश्यक साथ सहयोग गर्न नगरपालिकाले कुनै पनि कन्चुसाई नगरिने बैठममा बताए ।
टोखाको विभिन्न बाटोहरूमा निर्माण तथा मर्मतको कार्य भैरहेको छ । सके मेला अगाडि सम्पन्न गर्ने नसके मेलामा आउन सहज हुने गरि व्यवस्थापन गरिने समेत उपप्रमुख तामाङले बताए ।
त्यस्तै, बैठकमा टोखा-२का वडासदस्य आर्यण डंगोलले आफ्नो वडाले मेला तथा जात्राका लागि आवश्यक पर्ने भौतिकपुर्वाधारहरूको व्यवस्थापन गर्ने कार्यको सुरू गरिसकेको जानकारी दिए । उनले मेलाका लागि आवश्यक पर्ने वडाको तर्फबाट सहयोग रहने समेत बताए ।
विगतको मेला तथा जात्राको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएपछि टोखा प्रहरी प्रभागका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक बिरेन्द्र पाण्डेले मेला र जात्राभरी नगरप्रहरी ट्राफिक प्रहरी र सम्बन्धि सबैसँग सहकार्य गर्दै शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनमा आफुहरूले सक्दो प्रयास गर्ने बताएका थिए ।