• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ माघ २०८२, शुक्रबार


    बिज्ञापन

    गगन-विश्व : हिरो कि जिरो ?

    • बाबुलाल भण्डारी

    भारतीय राष्ट्रिय कांग्रेसभित्र सन् १९६९ को वर्ष सत्ताशक्ति र सिद्धान्त बिच चर्को अन्तर्द्वन्द्व र निर्णायक मोडको वर्ष बन्यो। एकातिर कामराज, मोरारजी देसाई र निजालिङ्गप्पा जस्ता पुराना घाघडान नेताहरूको सिन्डिकेट समूह थियो। उनीहरू स्थापित सत्ता र शक्ति केन्द्रलाई सधैं आफ्नो नियन्त्रणमा राख्न चाहन्थे र अर्कोतिर स्व। प्रम नेहरूकी युवा छोरी इन्दिरा गान्धी थिइन्। बुढाहरूले निर्णय लिन नसक्ने, सोझी, लजालु र अनुभवहीन केटी (गुँगी गुडिया) ठानेर इन्दिरालाई कठपुतलीझैँ प्रयोग गर्ने भ्रम पालेका थिए। तर समयले अर्कै कथा लेख्दै थियो।

    त्यतिबेला भारत गम्भीर सामाजिक आर्थिक सङ्कटमा थियो र सरकार र पार्टी प्रति जनआक्रोश उत्कर्षतर्फ बढ्दै थियो। इन्दिराले जनतालाई केही राहतका कार्यक्रम सहित अर्थतन्त्रलाई समाजवादी धार दिन खोज्थिन् तर पुराना नेताहरू ठूला प्रकृतिका परिवर्तनको शख्त विरोध गर्दै यथास्थितिमै रमाउन चाहन्थे।

    सिन्डिकेटको भ्रम तब भत्कियो जब देशमा व्याप्त गरिबी, असमानता र जनआक्रोशलाई सम्बोधन गर्न इन्दिराले साहसिक र क्रान्तिकारी कदम चालिन्। उनले ‘गरिबी हटाओ’को नारा, ठूला बैंकहरूको राष्ट्रियकरण र ५६५ पूर्व राजा-रजौटाको ठूलो धनराशिको ‘प्रिभी पर्स’ खारेजीजस्ता साहसिक क्रान्तिकारी कदम उठाइन् जो बुढा नेताहरूको हित र स्वार्थ विरुद्ध थिए।

    हुँदाहुँदा विचार र नीतिको द्वन्द्व युवा र पुरानो बिच पुस्तागत विवादमा बदलियो। बेमेल र असमझदारी बढ्दै गएपछि राष्ट्रपति निर्वाचनमा पार्टी सिन्डिकेटको आधिकारिक उम्मेदवार नीलम सञ्जीव रेड्डी विरुद्ध इन्दिराले आफ्नो उम्मेदवार भिभी गिरीलाई उठाएर चुनौती मात्र दिइनन् भारी मतले विजय दिलाउन पनि सफल भइन्। अब द्वन्द्व बढेर कांग्रेस ‘ओ’ (अर्गनाइजेशन) र कांग्रेस ‘आइ’ को रूपमा पार्टी औपचारिक विभाजनमा गयो। यो विभाजन नेतृत्व, विचारधारा, सत्ता संरचना र समयको बदलिँदो दबाबको परिणाम थियो।

    पुराना नेताहरूले उनलाई विदेशीको इसारामा पार्टी फुटाल्ने मूर्ख दुस्साहसी लड्कीको संज्ञा दिँदै देशभर भरमार भ्रम फैलाउन थाले र उनी टिक्नै नसक्ने समेत भविष्यवाणी गरे।

    तर इतिहासले अर्कै फैसला सुनायो। कांग्रेस ‘ओ’ पुरानो सोच र संरचनासँगै इतिहासमा हराउँदै गयो भने इन्दिराको नेतृत्वमा रहेको कांग्रेस ‘आई’ जनताको पार्टीका रूपमा उदायो। इन्दिरासङ्ग नयाँ सोच, स्पष्ट दृष्टिकोण, प्रचुर हिम्मत, जनतासङ्ग सिधै संवाद गर्ने कला र युवाशक्तिको साथ थियो, जो बुढा अहङ्कारी नेताहरूमा थिएन। यसबाट इन्दिरा गान्धी एउटा सफल नेतृ मात्र नभएर परिवर्तनकै प्रतीक बनेर स्थापित भइन्।

    यो घटनाले एउटा शाश्वत सत्य सिकाउँछ- समय र इतिहास सधैं नयाँ चेतना र परिवर्तनकारी शक्तिको पक्षमा उभिन्छ। जतिसुकै बलियो देखिए पनि समयको पदचाप बुझ्न, इतिहासको धारा समात्न र जनताको नाडी छाम्न अनि बदलिन नचाहने पुरानो संरचना अवश्य पनि ढल्छ र जतिसुकै षडयन्त्र गरेपनि इतिहासको पानामा जान्छ जान्छ।

    अब यताको प्रसङ्ग जोडौं। हिजो यहाँ कांग्रेसभित्र जुन विभाजन आयो, त्यसको पृष्ठभूमिमा परिस्थिति झन्डै यही देखिन्छ। फरक छ भने एउटै छ- भारतमा कांग्रेस सिन्डिकेटका नेतामाथि व्यक्तिगत रूपमा कतै पनि भ्रष्टाचारको एउटै पनि आरोप थिएन तर यहाँ त कांग्रेसकै अधिकांश नेता कार्यकर्ताले कांग्रेस ‘प्रष्ट कांग्रेस’ र ‘भ्रष्ट कांग्रेस’ मा विभाजित भएको नारा घन्काएकै सुनियो। बाहिरबाट हामी अरू थप नभनौं !

    अन्तमा हिम्मत र अठोट सहित जोखिम मोल्न उठेको नयाँ कदमलाई स्याबासी, बधाई र सफलताको शुभकामना दिँदै गगन-विश्वहरू हिरो ठहर्छन् कि जिरो भन्ने प्रश्नको छिनोफानो समयको जिम्मामा छोडौं- धन्यवाद !

    Facebook Comments Box