टोखा टाइम्स, काठमाडौं । ‘महिलाको सुरक्षा सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ लघु उद्यम महिला समाजको आयोजनामा आजदेखि पाँच दिने कानूनी सचेतना तथा संस्थागत विकास तालिम शुभारम्भ भएको छ ।
सो तालिमको कार्यक्रमकी प्रमुख अतिथि टोखा नगरपालिका २ वडा कार्यालयकी महिला सदस्य सविना श्रेष्ठले उद्घाटन गरेकी थिइन् ।
उनले कार्यक्रममा सम्बोधन गर्दै महिलाहरूलाई लक्षित गर्दै नगरपालिका र वडाले विभिन्न सीपमुलक, व्यवसायिक मुलक तालिमहरू सञ्चालन गर्दै आएको भए पनि, आजको यो तालिम वास्तवमै महिलाहरूका लागि निकै नै महत्वपुर्ण तालिम भएको उनले बताइन् ।
महिलाहरूलाई कानुनको बारेमा खासै जानकारी नहुँदा विभिन्न घरेलु, सामाजिक तथा मानसिक यातना, हिंसा जस्ताको सिकार हुनुपरिरहेको छ, यदि हामीसँग कानुनको केही ज्ञान भएमा त्यसको प्रतिकार गर्न सकिने उनले बताए । उनले महिलाहरूको सीप, नेतृत्वको विकासका लागि आवश्यक तालिमको लागि वडाको विशेष साथ सहयोग रहने बताइन् ।
समाजकी अध्यक्ष निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा टोखा-२ का निवर्तमान अध्यक्ष दिपकराज जोशीले कार्यक्रममा बोल्दै आफ्नो पाँच वर्षको कार्यकालमा देखेका, भोगेका र अनुभव गरेका घटना तथा कानुनी समस्याहरू सबैमाझ साझा गरेका थिए ।
उक्त पाँच दिने तालिममा संविधान र संविधानमा मौलिक हक, नेपालको संविधानमा महिला अधिकार, सामाजिक, राजनीती र आर्थिक विकासमा महिलाको भूमिका, साइबर क्राइम, अंशबन्ध सम्बन्धि कानुनी व्यवस्था मूलुकी देवानी र फौजदारी संहिता घरेलु हिसां र महिला अधिकार र कर्तव्य लगायतका विषयहरु बिज्ञहरुद्वारा तालिम दिनइने कार्यक्रम संयोजक तथा अधिवक्ता सुशिला श्रेष्ठले बताइन् ।
टोखा चण्डेश्वरी अस्पतालको सभाकक्षमा हुने उक्त कार्यक्रममा लघु उद्यम महिला समाजका सदस्यहरुको सहभागि रहने छ । उक्त कार्यक्रम टोखा नगरपालिकाको सहयोगमा सञ्चालन भएको हो ।