• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१० आश्विन २०७९, सोमबार


    बिज्ञापन
  • सुरु भयो नवरात्री तीर्थ मेला

    टोखा टाइम्स, काठमाडौँ । सोह्र श्राद्ध सके लगतै असोज कृष्णपक्ष पतिपदाको दिन सपनतीर्थगौमुखी र दुधमुखी खोलाको सङ्गम स्थलमा स्नान गरेसंगै टोखामा नवरात्री तीर्थ मेला (नौ रथ) सुरु हुन्छ । टोखाका सांस्कृतिक भजन दापा खलः लगायतका बाजा खलःहरु भक्ती गीत बजाएर नौ दिनसम्म झिसमिसे विहानीमा विभिन्न तीर्थ स्थलमा गएर स्थान गरी नवरात्री तीर्थ मेला मनाउदै आइरहेको छ ।

    यस नवरात्री तीर्थ मेलाको अवधिभर हालको टोखा नगरपालिका अन्तरगत पर्ने तीर्थ स्थलको बारेमा यहाँ चर्चा गर्नु सान्दर्भिक देखिन्छ । नवरात्रीको पहिलो दिन गौमुखी, दुधमुखी र बौमुखी अर्थात कालि गण्डकी, दुध गण्डकी र निलगण्डकी यी तीन खोलाको सङ्गम भएको स्थानलाई त्रिवेणी गंगाको रुपमा रहेको सपनतीर्थमा स्थान गर्ने गर्दछ । यसरी तीर्थमा जान्दा दाफा भजन खलःको पालो परेको घरबाट पूजाको सामाग्री तयार गरी ल्याईन्छ । स्नान पश्चात पूजाआजा गरी भक्ती भजन बजाउदै टोखा नगर परिक्रमा गर्ने गर्दछ । नवरात्री तीर्थ मेलामा पवित्र तरीर्थ स्थलहरुमा स्नान गरी आफ्नो ग्रहदशा तथा दीघायुको कामना गर्दै ग्रहदश पन्छ्याउन पूजा आजा गर्ने दिनको रुपमा लिने गरेको पाइन्छ । यसबा साथै आफ्ना दिवंगत परिवारका सदस्यको मुक्तीको कमना गरी उनिहरुको नाममा पूजा पाठ समेत गर्ने गरिन्छ ।

    यसै दिन घट्स्थापना गरिने हुनाले सकेसम्म सपनतीर्थमा स्थान गरी त्यही खोलाको बालुवा ल्याई घट्स्थापना गर्ने गर्दछ । नसके आफुलाई पायक पर्ने खोलबाट बालुवा ल्याएर घट्स्थापना गरिन्छ । यसै दिन टोखाको तलेजु मन्दिरमा बाह्र थकालीहरुको उपस्थितिमा घट्स्थापना गरिन्छ ।

    नवरात्रीको दोस्रो दिन दृतियका दिन सिपतं दोंमा रहेको नलि गंगा, दुध गंगा र काली गंगाको सङ्गम भएर त्रिवेणी गंगाको रुपमा रहेको तीर्थमा स्थान गरिन्छ । तेस्रो अर्थात तृतीयाका दिन बाघद्धार तेतिसकोटी देवताले महायज्ञ गरेको स्थलमा र चौठीका दिन बिष्णाप नारायण र बुढानिलकण्ठ नारायण बाट बगेको खोलाको सङ्गम स्थल बलन्ती खाल्डो तीर्थमा स्नान गरिन्छ । साथै यस मेलामा जान्दा र्टाई नाई (एक प्रकारको बाजा)  बजाइन्छ । यस असोज महिनामा र्टाई नाई जातको एक प्रकारको पहेले फुल फुल्ने गर्दछ । त्यसैको नाममा नवराथ लाई कतिपयले र्टाई नाई जाने पनि भन्ने गर्दछ ।

    पञ्चमिका दिन विष्णुमति गंगा धनधिनकुरेश्वर महादेव खोला र लृरे खोला गंगाको संङ्गम स्थलमा स्नान गरिन्छ । षष्टमीका दिन साङ्गले खोला र विष्णुमति खालाको संङ्गम स्थल मनोहर तीर्थमा स्नान गरी मनमैजुको इन्द्रायणी र फुटुङ्गको महालक्ष्मी दर्शन गरी टोखा नगर परिक्रमा गर्ने गर्दछ । सप्तमिका दिन गणेशस्थान जलेश्वर महादेव र धनेश्वर महादेव वारीपारी दर्शन गरी श्री गणेशको पूजा गरिन्छ । अष्टमिका दिन नाट्थेश्वर गुरु र थरलेश्वर महादेवको नाउँमा नासकोय्मा रहेको सपनतीर्थ खोलामा स्नान गरिन्छ । नवमिका दिन टोखा दोभान संङ्गले खोला र सपनतीर्थको सङ्गम स्थल त्रिवेणीमा स्नान गरिन्छ ।

    यसरी नौ दिनसम्म चल्ने नवरात्री तीर्थ मेलाको अन्तिम दिन पिगं द्यः, कोथु गणेश, सरस्वती, देम द्यः, नात्थेश्वरी, गणेश, भिमसेन क्वाथ तलेजु मा अलगै पूजा राखी नवदुर्गाको पूजा गरिन्छ । नौ रथ समाप्त हुन्छ सबै देविदेवतालाई कुखुराको फूल र तलेजु भगवानलाई हाँसको फूल चढाइन्छ । र नवयात्री तीर्थ मेला समाप्न हुन्छ ।

    एकादशीका दिन तलेजु मन्दिरमा खःद्यः जात्रा मनाइन्छ । तलेजु मन्दिरका बाह्र थकालिहरुको यो जात्रा निकै नै रोचक हुने गर्दछ । यसै दिन जीवित देवी गणेश कुरमारीको समेत जात्रा हुने गर्दछ ।

    Facebook Comments Box