टोखा टाइम्स, काठमाडौँ । नेकपा एमालेले नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित) पारित गरेको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले बुधबार ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरिएको जानकारी दिए।
माघ १९ को बैठकले सचिवालय बैठकले संशोधनसहित नियमावली पारित गरेर लागु गर्ने निर्णय गरेको हो। बुधबार सार्वजनिक भएको संशोधन नियमावलीमा केन्द्रीय विभागको आकार बढाएको छ। पार्टी सञ्चालनका लागि एमालेले नियमावलीमा चौथो संशोधन गर्दै केन्द्रका ३३ विभागमा प्रमुख,उपप्रमुख र सचिवसहित प्रत्येकमा ३५ सदस्य रहने व्यवस्था गरेको हो। विभागका प्रमुख, उप–प्रमुख, सचिव र सदस्यको मनोनयन केन्द्रीय कमिटीले गर्ने नियमावलीमा उल्लेख छ।
महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भएपश्चात् केन्द्रीय विभागको कार्यकाल स्वतः समाप्त हुनेछ। विभागले मातहतका कमिटी तथा निकायहरूलाई सिधा निर्देशन दिने वा परिचालन गर्ने छैनन्। मातहत कमिटी वा निकायलाई निर्देशन वा पत्राचार गर्नुपरेमा केन्द्रीय कार्यालयमार्फत गर्नुपर्नेछ।
एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पुर्णकालीनरूपमा पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य, कार्यालय सचिव र कर्मचारीलाई सम्बन्धित कमिटीले
निर्धारण गरेबमोजिम पारिश्रमिक र सुविधा दिने र पार्टीले तोकेको काममा खटिई जाने नेता तथा कार्यकर्ताको खर्च सम्बन्धित कमिटीले व्यहार्नुपर्ने उल्लेख छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)