• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ माघ २०७८, बिहीबार


    बिज्ञापन

    राप्रपाबाट ३१ वर्षपछि बाहिरिए कमल थापा

    पूर्वउपप्रधानमन्त्री कमल थापाले ३१ वर्ष उतारचढाव भोगेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन्। निवर्तमान अध्यक्ष थापाले मंगलबार पत्रकार सम्मेलन गरी आफू अलग भएको घोषणा गरेका हुन्। यससँगै नयाँ दल गठनतर्फ लागेको निकटस्थ नेता राजाराम बर्तौलाले बताए। ‘नयाँ पार्टी नै हुन्छ, कस्तो के भन्ने बारेमा सल्लाह हुँदै छ’, उनले भने।

    थापाले ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ’ पार्टीबाट अलग हुने निर्णय गरेको बताए। ‘पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कृष्ट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, उनले प्रेस विज्ञप्तिमा लेखेका छन्।

    ६६ वर्षीय थापाले कार्यकर्ता तथा शुभेच्छुकसँग अन्तक्र्रिया गर्दै स्वेच्छाले दल रोज्न आग्रह गरे। ‘म कसैलाई मेरोपछि लाग्नु भन्दिनँ। मेरो विश्वास लाग्छ भने आउनुहोस्’, उनले भने, ‘नत्र राप्रपामै रहँदा पनि तपार्इंहरूप्रति मेरो उत्तिकै सम्मान रहनेछ।’

    मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै उनी असन्तुष्ट रहँदै आएका थिए। थापाले पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण आफू पराजित भएको दोहोर्‍याए। उनले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न नसकिने बताए।

    ‘राप्रपा अब निर्मल निवासको रिमोर्ट कन्ट्रोलबाट चल्ने शक्ति भएको छ। हामी अब नविन विचारलाई बोक्छौं’, उनले भने, ‘२०६३ सालबाट निर्मल निवासले पार्टीमा हस्तक्षप सुरु गरेको हो। २०७४ मा राप्रपालाई तीन टुक्रा पार्दा पनि मैले सहेर बसें। यसपटक निर्मल निवासबाट नियोजित रूपमा मेरो पक्षमा हालिएको चार सय मत बदर गर्न लगाएर ठूलो अपमान गर्दा दुःख लागेको छ।’

    थापा राप्रपाबाट ९ पटक सत्ता समीकरण सहभागी भए। उनी पहिलो पटक २०५२ देखि २९ फागुन २०५३ सालसम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री भएका थिए। २८ असोज २०७४ मा उपप्रधानमन्त्री भएका थिए।

    २०४७ मा राप्रपा (थापा)को राजनीतिक सचिव भएका थापा २०४८ मा पार्टी एकीकरणपछि २०५८ सम्म राप्रपाका प्रवक्ता भए। २०५८ मा महामन्त्री, २०६२ पुसदेखि २०७३ सम्म राप्रपा नेपालका अध्यक्ष र २०७३ भदौदेखि २०७८ मंसिर १५ सम्म राप्रपा अध्यक्ष भए। उनी २०४३ र  २०५१ मा मकवानपुरबाट संघीय सांसद निर्वाचित भएका थिए। २०७० मा समानुपातिकबाट सभासद बनेका थिए। लामो समय राजतन्त्रको पक्षमा वकालत गरेका थापाले अब हिन्दुवादी पार्टी गठन गर्ने तयारी गरेको निकटस्थ नेता बताउँछन्।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले थापाको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन्। ‘उहाँले उठाउनुभएको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइरहेकै बेला बाहिरिनु दुर्भाग्यपूर्ण हो’, अध्यक्ष लिङदेनले भने। पदाधिकारी मंगलबार बसेको बैठकले थापालाई आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेको छ। बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्तिमार्फत कुनै दुविधामा नपर्न कार्यकर्ता आग्रह गरेका छन्।

    Facebook Comments Box