टोखा टाइम्स, काठमाडौँ । टोखाको गणेशस्थानमा रहेको भिंद्य:को मूर्तिमा क्षति पुर्याएको भन्दै एक युवक पक्राउ परेको छ । शुक्रबार विहान मन्दिर भित्र पसि धारिलो फलामको गलले मूर्तिमा प्रहार गरिरहेको अवस्थामा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको हो । प्रहारबाट मूर्तिको दायाँ गालामा क्षति पुगेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला आरू आरूवाङ गाउँपालिका घर भई हाल टोखा-३ साईबाबा चोकमा बसोबास गर्ने ३४ वर्षीय जीवन गुरुङ रहेको महानगरीय प्रहरी प्रभाग टोखाका वरिष्ठ प्रहरी नायव निरीक्षक जय बहादुर सिंहले जानकारी दिएका छन् ।
टोखाबासीहरूको धार्मिक आस्था र सम्पदामाथि प्रहार गर्नेलाई हदैसम्मको कडाभन्दा कडा कार्वाही गर्नु पर्ने स्थानीयबासीहरूले प्रहरी प्रशासन समक्ष माग गरेका छन् ।
पक्राउ परेका अभियुक्त लागूऔषध दुर्व्यसन रहेको र मानसिक सन्तुलन समेत ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी प्रभागले बताएको छ ।
अभियुक्तलाई महानगरीय प्रहरी वृत महाराजगन्जमा राखि घटनाको बारेमा थप अनुसन्धान भैरहेको समेत प्रहरी प्रभागले बताएको छ ।
नेवाः समुदायको आराध्य देवको रूपमा विशेष पूजाअर्चना गर्ने उक्त भिंद्यःको मूर्ति विश्वकै पुर्ण कदको अग्लो मूर्तिको रूपमा रहेको छ । जसको उच्चाइ ५ फिटको रहेको छ । प्रत्येक वर्ष भिमा एकादशीका दिन यहाँ विशेष मेला लाग्ने गर्दछ ।
टोखामा विभिन्न समयमा धार्मिक मठमन्दिर तथा मूर्तिहरू तोडफोड रचोरी गर्ने कार्य भैरहेको छ । यस्ता घटना हुन नदिन स्थानीय सरकार सम्वन्धि ब्यक्ति खलः तथा सरोकारवालाहरुले विशेष सुरक्षा संयन्त्र बनाएर अगाडी बढ्नु पर्ने देखिन्छ ।