टोखा टाइम्स, काठमाडौँ । आगामी जुलाई २ , २०२३ आईतबार जापानी भाषा (JLPT) को सम्पूर्ण लेभलहरु (N1, N2, N3, N4 र N5) को परीक्षा हुने भएको छ ।
परीक्षाका लागि जापानी भाषा शिक्षक संगठन (जाल्टान)ले www.jlpt.org.np मार्फत अनलाइन आवेदन फाराम पेश गर्न आव्हान गरिएको छ ।
आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै अनलाइन आवेदन फारामको दर्ता प्रक्रिया स्वतः बन्द हुने जानकारी जाल्टानले दिएको छ । जाल्टानले अनलाइन आवेदन फाराम फागुन २६ गते दिउसो १ बजे देखि चैत्र १० गते सम्म खोल्ने छ ।
अनलाइन आबेदन भर्नका लागि अनिवार्य रुपमा इमेलको आवश्यक्ता हुने भएकोले इमेल तयार गर्नुपर्ने, परिक्षार्थीले आफ्नै मोबाइल नम्बर प्रयोग गर्नुपर्ने, हालसालै खिचेको ४.५ सी.एम ३.५ सी.एम को पासपोर्ट साइजको फोटो स्क्यान गर्ने र फोटोको स्क्यान साईज ५०० केबी भन्दा कमको हुनुपर्ने समेत भनेको छ ।
१६ वर्षभन्दा माथिका परीक्षार्थीहरुले अंग्रेजीमा नाम र जन्ममिति खुलेको नागरिकताको दुबै साइड वा पासपोर्टको स्क्यान कपी तयार गर्ने र १६ वर्षभन्दा मुनिका परीक्षार्थीहरुको हकमा भने अंग्रेजीमा नाम र जन्ममिति खुलेको जन्मदर्ता प्रमाण-पत्र वा एस. एल. सी./ एस. ई. ई. मार्कसिटको स्क्यान कपी तयार गर्न जाल्टानले भनेको छ । माथि उल्लेखित परिचय पत्रमा अंग्रेजीमा नाम र जन्म मिति नखुलेका परीक्षार्थीहरुले नोटरी पब्लिकबाट अंग्रजीमा अनुवाद गराई त्यसको स्क्यान कपी तयार गर्नुपर्नेछ र स्क्यान साईज ५०० केबी भन्दा कमको हुनुपर्नेछ ।
फारम भर्ने प्रक्रियामा खल्ती वालेटबाट मात्र रकम भुक्तानी गर्नुपर्ने भएकोले खल्ती एप डाउनलोड गरी खल्ती वालेट मार्फत भुक्तानी गर्न सकिने र त्यसको लागि आवश्यक अग्रिम तयार गर्न समेत जाल्टानले भनेको छ ।