टोखा टाइम्स, काठमाडौं । सांस्कृतिक अध्ययन तथा अनुसन्धान समाज टोखाको आयोजनामा एक दिवसीय ‘वाङमय विमर्श तथा कविगोष्ठी’ कार्यक्रम सम्पन्न भएको छ ।
टोखाको संस्कृति र साहित्यको अध्ययन र उत्थानका लागि आयोजित उक्त कार्यक्रममा संस्कृतिविद् जगमान गुरूङको प्रमुख आतिथ्यमा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको विशिष्ट आतिथ्य तथा समाजका अध्यक्ष इन्द्र विलास घिमिरेको सभाध्यमा धापासिमा अवस्थित अपि स्कुलको सभा कक्षमा शनिबार सम्पन्न भएको हो ।
पौराणिक तथा सांस्कृतिक महत्व बोकेको टोखालाई विश्व समुदायमाझ चिनाउने आधार धेरै रहेको भन्दै त्यसलाई गहन अध्ययन अनुसन्धान गरी प्रकाशमा ल्याउन जरूरी रहेको कार्यक्रमका प्रमुख अतिथि तथा संस्कृतिविद् जगमान गुरूङले बताउनु भयो ।
टोखामा साहित्यको अवस्थाको बारेमा प्राज्ञ शैलेन्दृ नेपालले कार्यक्रममा चर्चा गर्नु भएको थियो । उहाँले लेखकहरूलाई प्रोत्साहन दिनका लागि साहित्य पुस्तक प्रकाशन तथा समयसमयमा कार्यक्रमको आयोजना गर्नु पर्ने बताउनु भयो ।
नेपालले टोखाको समग्र विषय तथा क्षेत्रको अध्ययन अनुसन्धानका लागि प्राज्ञहरूलाई एकै स्थानमा राखि वृहत् रूपमा खोज, अनुसन्धान गरी त्यसलाई लिपिबद्ध गर्न टोखा प्रज्ञा प्रतिस्ठानको स्थापना गर्न आवश्यक रहेको सुझाव दिनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कार्यक्रमले टोखाको समुन्नतका लागि प्राज्ञ र साहित्य स्रस्ताहरूको अहम् भूमिका रहने बताउनु भयो । नगरप्रमुख अधिकारीले स्रस्ता तथा प्राज्ञहरूले प्रस्तुत गरेका विषयहरू निकैनै गहन रहेको भन्दै त्यसको सम्मान गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
टोखाका मुनायः हेमराज श्रेष्ठले टोखाको संस्कृतिको बारेमा चर्चा गर्नु भएको थियो । त्यस्तै, नेपाल समाचार पत्रका पुर्व सम्पादक वाग्लेले पत्रकारिता र साहित्यको महत्वको विषयमा चर्चा गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रममा सभापति इन्द्र विलास घिमिरेले सिंगो टोखा नगरपालिकाको सांस्कृतिक अध्ययन तथा अनुसन्धान गर्न स्थापना भएको यस समाजले आगामी दिनहरूमा नगरपालिकासंग समन्वय गरी आफ्ना कार्यलाई तीव्र बनाउने बताउनु भयो ।
टोखा नगरपालिकाको प्रायोजनमा आयोजना भएको कार्यक्रममा टोखाका साहित्य स्रस्ता तथा सहित्य अनुरागीहरूको बाक्लै उपस्थिति रहेको थियो । ५० भन्दा बढी स्रस्ता तथा सर्जकहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए ।