टोखा (टोखा टाइम्स), टोखा नगरपालिका-२ क्वाखः (तलेजु परिसर)मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको शुक्रबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै मेयर अधिकारीले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताए ।
सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै उपमेयर मुरारी तामाङले अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गरे । नगरपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको उपमेयर तामाङले बताए ।
कार्यक्रममा टोखा नगरपालिका -२ का निवर्तमान अध्यक्ष दिपकराज जोशीले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने भन्दै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले अब सहज रुपमा सेवा प्राप्त गर्ने बताए । उनले यस अघि साँघुरो भवनबाट सेवा प्रवाह गरिरहनु परेकोले सेवाप्रवाह समेत चुस्त हुन नसकेको अवस्थामा आफ्नो कार्यकालमा भवन निर्माण कार्यको थाल्नी भएको बताए । उनले अब कर्मचारी र सेवाग्राहीलाई सहज हुनेमा विश्वास व्यक्त गरे ।
४ र ६ का वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ र शान्ता पौडेलले नयाँ भवन निमार्ण सम्पन्न भएकोमा बधाई दिँदै आमनागरिकलाई गुणस्तरीय सेवा दिन सकोस भनि शुभकामना दिए । प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सीले गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजना अनुरुप वडा कार्यालयको आफ्नै भवन निर्माण गरिएको बताए । उनले कर्मचारीहरुलाई सुविधा सम्पन्न भवनको पूर्ण रुपमा प्रयोग गरी आमनागरिकलाई सेवा दिन आग्रह गरे ।
कार्यक्रममा २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले सहज सेवाप्रवाहको माध्यम भनेकै भवन भएकाले नवनिर्मित भवनबाट अब सहज सेवा प्रवाह गर्न सकिने बताए । उनले आफ्नै भवन निर्माण भएकाले खुशी व्यक्त गर्दै अब वडावासीले सेवालिन आउँदा दुःख भोग्नु नपर्ने बताए ।
२०७९ भाद्र २७ गते निर्माण सम्झौता भएको वडा कार्यालय भवनको निर्माण लागत स्टिमेट एक करोड ४५ लाख र कुल खर्च एक करोड ७ लाख रहेको प्राविधिक उमेश श्रेष्ठले जानकारी दिए ।
वडा सचिव शालिकराम गौतमले सञ्चालन गरेको कार्यक्रममा पुर्व चण्डेश्वरी गाउँ विकास समितिका अध्यक्ष कशिनारायण श्रेष्ठ, दुई वडाका सदस्य सबिना श्रेष्ठ, आर्यन डंगोल, अमर डंगोल, लक्ष्मी हिमाङ, निवर्तमान वडासदस्यहरु पञ्चकुमारी श्रेष्ठ, प्रेम कृष्ण शाही, प्रतिमा हिमाङ, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा वडाको कर्मचारीहरु लगायतको उपस्थिति रहेका थिए ।