• भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ७३ जनाको मृत्यु

    १८ कार्तिक, टोखा टाइम्स/ काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र बनाएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।

    जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिसचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र ३७ जनाको मृत्यु भएको पुष्टि भएको र पुष्टि हुन बाँकी थप ४३ जनाको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ ।

    थप विवरण आएको ठाउँमा प्रहरी परिचालन गरी पुष्टि हुने क्रम जारी छ । उनले भने, ‘अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ८ जना गम्भीर घाइतेलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । जिल्ला सदरमुकामको अस्पतालमा झण्डै १ सय बढीको उपचार भइरहेको छ ।गाउँमा पहिरो आएर सडक अबरुद्ध भएकाले गाउँबाट घाइतेको उद्धारका लागि हेलिकोप्टर माग गरी गृहमन्त्रालयमा पत्राचारी गरी समन्वय भइरहेको छ ।

    यस्तै भूकम्पबाट रुकुमपश्चिममा पनि अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । रुकुमपश्चिमका प्रमूख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    थप विवरण पनि आउँने क्रम जारी छ । भूकम्पमा परी दुईवटा पालिकामा ५३ जना घाइते भएका हुन् । घाइतेहरुको मिसन अस्पताल चौरजहारि, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । #अन्नपूर्ण पोष्टबाट

    Facebook Comments Box