• टोखा टाइम्स

    • प्रकाशित मिति:२७ कार्तिक २०८०, सोमबार


    बिज्ञापन
  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपालमा टिकटक नखुल्ने बनाउने निर्णय गरेको हो।

    नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको उनको भनाई छ।

    केहि दिन अगाडि पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको छ।

    सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०८० पारित गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माका अनुसार सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको छ। 

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फेसबुक, एक्स (पहिलेको ट्वीटर) र टिकटकलगायतका सामाजिक सञ्जालले नेपालमा अनिवार्य रूपमा सम्पर्क कार्यालय राख्नुपर्ने प्रावधानसहित सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माका अनुसार अबको तीन महिनाभित्र सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत पनि हुनुपर्नेछ।

    सुरक्षा जोखिम रहेको भन्दै यी देशले पनि बन्द गरेका थिए टिकटक

    गोपनियता र साइबर सुरक्षालाई चुनौती दिएको भन्दै दर्जन बढी देशले लोकप्रिय भिडियो एप टिकटक बन्द गरेका छन्। कतिपय देशले टिकटकलाई पूर्णरूपमा बन्देज लगाएका छन् भने कतिपय देशले सरकारी संयन्त्रमा टिकटक प्रतिबन्ध गरेका छन्। चिनियाँ टेक्नोलोजी कम्पनी बाइटेन्सको स्वामित्वमा रहेको टिकटकले सर्वसाधारणको डेटा दुरुपयोग गर्दै आएको विश्लेषकहरूले टिप्पणी गरेका छन्। 

    सोही कारण अफगानिस्तान, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपियन युनियन, फ्रान्स, भारत, लातभिया, नेदरल्यान्ड्स, न्युजील्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, बेलायत, अमेरिकालगायत देशमा टिकटक बन्द गरिएको छ।

    अफगानिस्तानमा तालिवानले सत्ता हत्याएपछि चिनियाँ एप टिकटक बन्द गर्ने निर्णय गरेको थियो। उसले युवाहरूलाई भ्रमबाट जोगाउन टिकटक प्रतिबन्ध गरेको बताएको थियो।

    त्यस्तै अष्ट्रेलियाको संघीय सरकारले पनि आफ्ना सरकारी डिभाइसहरूमा टिकटक प्रतिबन्ध लगाएको थियो। महान्यायाधिवक्ता मार्क ड्रेफसले देशको गुप्तचर र सुरक्षा निकायबाट सल्लाह लिएर यो निर्णय गरेको बताएका थिए।

    बेल्जियम सरकारले पनि साइबर सुरक्षा, गोपनियतालाई मध्यनजर गर्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो। संघीय सरकारको स्वामित्वमा रहेका डिभाइसहरूमा टिकटकलाई पूर्णरूपमा बन्देज लगाइएको प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले बताएका थिए। 

    त्यस्तै क्यानाडाले पनि टिकटकले सुरक्षा जोखिम बढाएको भन्दै सरकारी डिभाइसमा टिकट प्रयोग गर्न बन्देज लगाएको थियो। त्यस्तै डेनमार्कको रक्षा मन्त्रालयले टिकटकमा प्रतिबन्ध लगाएको थियो। उसले आफ्ना कर्मचारीहरूलाई मोबाइलबाट टिकटक एप हटाउन निर्देशनसमेत दिएको थियो। 

    त्यस्तै युरोपेली संघ, फ्रान्स, लातभिया, नेदरल्यान्ड, न्युजील्यान्डले पनि सुरक्षा जोखिमलाई मध्यनजर गरेरै प्रतिबन्धनको घोषणा गरेको थियो। त्यस्तै भारतले सन् २०२० मा गोपनियता र सुरक्षा चिन्ताको कारण टिकटकमा प्रतिबन्ध लगाएको थियो। 

    त्यस्तै बेलायती अधिकारीहरूले सरकारी मन्त्रीहरू र निजामती कर्मचारीहरूले प्रयोग गर्ने मोबाइल फोनबाट टिकटकलाई तत्काल प्रभावबाट प्रतिबन्ध लगाएका थिए। अमेरिकाले मार्चको सुरुमा सरकारी एजेन्सीहरूलाई संघीय उपकरणहरू र प्रणालीहरूबाट डेटा सुरक्षा चिन्ताको कारण देखाउँदै  टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

    टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्राचार

    टिकटक बन्द गर्ने सरकारको निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ। सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

    प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले नेपालभरिका इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरिएको बताए। ‘सरकारको निर्णयअनुसार इन्टरनेट सेवा प्रदायकलाई हामीले पत्राचार गरिसकेका छौं,’ अन्नपूर्णसँग उनले भने। प्राधिकरणले मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई पनि टिकटक ब्लक गर्न पत्राचार गरिएको स्रोतले जानकारी दिएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकले सामाजिक सद‍्भाव बिथोल्नेगरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि बन्द गर्न निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। उनले आजदेखि नै टिकटक बन्द हुने बताएका थिए। 

    साभारः अन्नपुर्ण पोष्टबाट

    Facebook Comments Box