• लैङ्गिक हिंसा विरुद्धको कानुनी सचेतना कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौं, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनारहेको छ ।

    लैङ्गिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियानको अवसरपारेर महिला जागरण समाज नेपालको आयोजनामा आज टोखा नगरपालिका–३ वडा कार्यालयको सभाहलमा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

    समाजकी अध्यक्ष नानीमाया श्रेष्ठको सभाध्यक्षमा टोखा नगरपालिका–३ का वडाध्यक्ष रमेश डंगोल, वडा सदस्य तथा नगरकार्यपालिका सदस्य शान्ता राई, समाजका संस्थापक अध्यक्ष तथा टोखा नगरपालिकाकी निर्वतमान उपप्रमुख ज्ञानमाया डंगोलको आतिथ्यमा सम्पन्न भएको लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रमको सहजीकरण अधिवक्ता सुशिला श्रेष्ठ र सन्तोष महर्जनले गर्नु भएको थियो ।

    हामीले घरबाट नै लैङ्गिक हिंसा कम गर्न आवश्यक रहेको टोखा नगरपालिका–३ का वडाध्यक्ष रमेश डंगोलले बताउनु भयो । उहाँले भन्नुभयो– ‘नेपालको कानुन महिलाहरुको पक्षमा बनेको छ । हाम्रो समाजमा महिलाहरु पुरुषबाट भन्दा बढि महिलाबाटै हिंसामा परिरहेको छ । हामीले एकअर्का प्रती गर्ने अभद्र व्यवहार. गोपनीयता, गाली गलौज जस्ता पक्षलाई सुधार्दै र आफु सचिदै जाँदा जाने हो भने पनि यस्ता हिंसा समाधान हुन्छ । विकासित र मिलनशील, समुन्नत समाज र हिंसा मुक्त समाजको लागि महिलाहरु अनुशासित र जागरुक भएर लाग्न आवश्यक छ ।’

    लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि परिवारस्तरबाटै लैङ्गकि हिंसाको बारेमा सचेतना जगाउनु पर्ने टोखा नगरपालिका–३ की वडा सदस्य तथा नगरकार्यापलिका सदस्य शान्ता राईले बताउनु भयो । हिंसामा कोहि नपरुन हिंसाको विरुद्ध सबैले आवाज उठाउन आवश्यक रहेको उनले बताउनु भयो ।

    संस्थाका स्थापक अध्यक्ष तथा टोखा नगरपालिकाकी निवर्तमान उपप्रमुख ज्ञानमाया डंगोले समाजले स्थापनादेखि नै समाजमा हुने गरेको लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउदै आइरहेको कार्यक्रममा जानकारी गराउनु भयो । उहाँले विश्वमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रमको ईतिहास र नेपालमा यसको सुरुवाटको बारेमा चर्चा गरेकी थिइन । उहाँले आफ्नो कार्यकालमा नगरपालिकामा १६ दिनसम्म प्राथमिकतामा राखि विविध सचेतना कार्यक्रम गर्ने गरेको स्मरण गर्दै हाल टोखा नगरपालिकाले त्यस्तो कार्यक्रमको आयोजना नगरेको प्रति दुखेसो पोख्नु भयो ।

    समाजकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष नानीमाया श्रेष्ठले कार्यक्रमबाट प्राप्त भएका ज्ञानलाई आफ्नो व्यवहारिक जीवनमा लागु गर्न सके समाजमा हुने गरेका हिंसा कम हुने विश्वास ब्यक्त गर्नु भयो ।  

    लैङ्गिक हिंसा विरुद्ध कानुनी सचेतना कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता सुशिला श्रेष्ठले सामाजमा हुने लैङ्गिक हिंसाको बारेमा चर्चा गर्नु भएको थियो भने अर्का अधिवक्ता सन्तोष महर्जनले सामाजिक सञ्जाल तथा अनलाइन मार्फत हुने हिंसाको बारेमा चर्चा गर्नु भएको थियो ।

    समाजकी सचिव मंगलमाया श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा उपस्थितहरुले आफुलाई परेका/भोगेका समस्याहरुको बारेमा अधिवक्ताहरुसँग कानुनी सहयताका बारेमा छलफल समेत गरेका थिए । कार्यक्रममा समाजका महिला सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

    Facebook Comments Box