• सार्वजनिक जग्गा खाली गर्न टोखा नगरपालिकाको १५ दिने अल्टिमेटम

    २३ माघ,  टोखा (टोखा टाइम्स) । टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १५ दिने अल्टिमेटम दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले सोमबार जारी गरेको सार्वजनिक सुचनामा १५  दिन भित्र टोखा नगरपालिका भित्र अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गाका साथै नगर क्षेत्र भित्र पर्ने नदिनाला तथा खोला खोल्सीको करिडोरको मापदण्डमा बनेका संरचनाहरु समेत हटाउन / खाली गराउन १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् ।

    जारी सार्वजनिक सूचनामा भनिएको छ –’ यस टोखा नगरपालिकाको नगरकार्यपालिका बैठकको मिति २०७९/०५/०९ को निर्णयानुसार टोखा नगरपालिका भित्र अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गा खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी भएकोमा उक्त सूचना बमोजिम सार्वजनिक तथा सरकारी जग्गाहरु हाल सम्म अझै खाली हुन बाँकी रहेकोले मिति २०८० माघ १९ गतेको नगरकार्यपालिका बैठकबाट सार्वजनिक जग्गा संरक्षण सम्वन्धी अभियान सञ्चालनलाई निरन्तरता दिने । अतिक्रमित जग्गा हटाउनको लागि पूर्व प्रकाशित सूचना समेतलाई स्मरण गराउदै पुनः सार्वजनिक जग्गा खाली गर्ने सम्वन्धी १५ दिने सूचना प्रकाशन गर्ने निर्णय भएकोले आजका मितिले १५ दिन भित्र टोखा नगरपालिका भित्र अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्नु / गराउनु हुन साथै नगर क्षेत्र भित्र पर्ने नदिनाला तथा खोला खोल्सीको करिडोरको मापदणडमा बनेका संरचनाहरु समेत हटाउनु हुन सम्वन्धित सबैलाई सूचित गरिन्छ । सो अवधि भित्र जग्गा खाली नगराएमा नगरपालिकाबाट कानुन बमोजिम खाली गराईने व्यहोरा समेत जानकारी गराईन्छ ।’

    टोखा नगरपालिकाले माघ १९ गते शुक्रबार ११ नं. वडा कार्यालय स्थित महादेवटारमा विष्णुमती कोरिडोरको दायाँबायाँ अतिक्रमित टहराहरु भत्काई मनोरथ पुलदेखि फ्लोरिसेंट विद्यालयसम्मको सडक डोजर लगाएर खोलिएको थियो ।

    सूचना

    Facebook Comments Box