• आज यँसि उठाएसँगै टोखामा पाहाँ चःह्रे नखः शुरु

    टोखा टाइम्स, काठमाडौँ । साँस्कृतिक नगरी टोखाको थनेलाछीमा रहेको यँसि गायमा यँसि उठाएसँगै आजबाट विधिवत रुपमा टोखामा पाहाँ चःह्रे नखः सुरू भएको छ । महादेवको प्रतीक मानिने यँसिलाई यँसि गुथि खलःहरुले यँसिको विशेष पुजाआजा गरे पश्चात् मौलिक परम्परागत विधिबाट अथक मेहनत र प्रयास पश्चात् यँसी उठाएको हो । यसरी यँसि उठाएसँगै टोखामा जात्रा शुरु भएको छ ।

    यस वर्ष नयाँ यँसी उठाएको हो । केही हप्तादिन अघि शिवपुर राष्ट्रिय निकुञ्ज चण्डेश्वरीबाट च्वसी अर्थात यँसि ल्याएको यँसि खलःको नेतृत्वमा स्थानीय जनसहभागितामा थनेलाछीमा रहेको यँसि गालय् ल्याई पुराएको थियो ।

    टोखामा प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन विहान यँसि उठाई छ । भने, सोही दिन राती अजिमा देवी (संकटा), सपन विनायक र लुकुमहा द्यः (लुकिरहेका महादेव) लाई पुजा गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ ।

    आज वेलुका वंतुली (अजिमा द्यः) र सपन विनायकको प्रतिमालाई खतमा राखी जात्रा गर्ने परम्परा छ । अजिमा द्यः (पार्वती) आमा, यँसि (लिङ्गो, शिव) पीता र सपनविनायक (गणेश) छोराको प्रतीकका रुपमा लिइन्छ । साँझपख टोल, चोक, ननी, बहालमा निगालो बालेर बाजागाजा सहित अजिमा द्यः र सपन विनायकको प्रतिमालाई खतमा राखि टोखा नगर परिक्रमा गराइन्छ । जसलाई स्थानीयभाषामा लुकुमहाद्यः तथा लख द्यःजात्रा भनिन्छ ।

    यसै दिन मध्यराती यँसिको अगाडि विशेष चाः पुजा गरिन्छ । आचार्यजुले तान्त्रिक पूजा गर्ने गरिन्छ । यो पूजालाई यँसि खलःबाहेक अरुले हेर्न नहुने मान्यता रहेको पाइन्छ । टोखाको धार्मिक तथा सामाजिक मान्यतालाई अघिसारेर हेर्दा अजिमा द्यः(पार्वती) आमा र सपनविनायक छोरा दुबै मिलेर लुकिरहेको महादेवलाई खोजि हिडेको प्रतीकको आभाष मिल्दछ ।

    यसपालीको पाहाँ चह्रेको विशेष जात्रा यही चैत्र २७ गते मंगलबार विहान ७ बजे थनेलाछीमा हुनेछ ।

    Facebook Comments Box