टोखा टाइम्स, १० फागुन । व्यावहारिक र संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको एन्जल्स प्याराडाइज स्कुलको ११ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
टोखा नगरपालिका-३ झुडोलमा रहेको विद्यालयले संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेल, बागमती प्रदेश खानेपानी तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्का, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ विभिन्न विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षा प्रेमी, सञ्चारकर्मी, विद्यार्थी तथा अभिभावकको उपस्थितिमा शनिबार विद्यालय प्राङ्गणमै अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री पौडेलले स्वस्थ्य व्यक्तिले राम्रो शिक्षा ग्रहण गर्न सकिने बताउदै सर्व प्रथम सबैले आफू स्वस्थ हुनु पर्ने जिकिर गरे । स्वस्थ्य देशका कर्णधार निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको रहेकाले आआफ्नो स्थानबाट सबैले सक्दो भुमिका निर्वाह गर्नु पर्नेमा जोडदिए ।
कार्यक्रममा शुभकामना मनतव्य राख्नेक्रममा बागमती प्रदेश खानेपानी तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्काले आज व्यवहारिक, प्रविधियुक्त र रोजागारीमुलक युक्त शिक्षाको आवश्यक भएको बताए । उनले विद्यार्थीहरुको प्रस्तुतिहरु हेर्दैगर्दा विद्यालयले एउटा उच्च किसिमको शिक्षा विद्यार्थीहरुलाई प्रदान गरिरहेको अनुभव गरेको बताउँदै यस विद्यालयले प्रविधियुक्त शिक्षाका साथै अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुलाई उच्चस्तरको शिक्षा प्रदान गरिरहेको धारणा ब्यक्त गरे ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विद्यालयका शैक्षिक क्रियाकलाप जीवनोपयोगी र गुणस्तरीय रहेकाले अझ उत्तरोतर प्रगतिको कामना गरेका थिए। उनले अब विद्यालयहरूले व्यवहारीक र सीप युक्त शिक्षा दिनु पर्नेमा जोडदिए ।
विद्यालयका प्रधानाध्यापक रामकृष्ण डंगोलले कार्यक्रममा सम्बोधन गर्दै विद्यालयको वर्तमान अवस्था, शैक्षिक उपलब्धि, र भावी योजनाबारे चर्चा गरेका थिए । उनले एन्जेल्स प्याराडाइज स्कुलले आगामी वर्षहरूमा प्रविधिमा आधारित शिक्षण प्रणालीलाई थप परिष्कृत गर्दै विद्यार्थीलक्षित विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने योजना बनाएको बताए । हाल कक्षा ८ सम्म पठनपाठन भैरहेकोमा उनले आउदो शैक्षिकसत्र २०८२ बाट कक्षा ९ सम्म सञ्चालन गरिने र त्यसका लागि आवश्यक भौतिक पुर्वाधारको समेत तयारी भैसकेको उनले जानकारी दिए ।
विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, नाटक तथा तेक्वान्दो खेल प्रदर्शन गरी उपस्थित दर्शकहरूको मन जितेका थिए।.
विक्रम संवत् २०७० मा स्थापना भएको यस विद्यालयले सुरुवाती समय देखि नै विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ। गुणस्तरीय शिक्षा प्रणाली, अनुभवी शिक्षकहरू र अनुशासित शैक्षिक वातावरणका कारण एन्जल्स प्याराडाइज स्कुल टोखा क्षेत्रको एक उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ।
‘एन्जल्स लिटिल प्रिन्सेस–२०८१’ को उपाधि जिया डंगोललाई
विद्यालयको सौन्दर्य प्रतियोगीता ‘एन्जल्स लिटिल प्रिन्सेस–२०८१’ को उपाधि कक्षा ८ कि जिया डंगोलले जितेकी छन् । उनीले ९ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि हात परेकी हुन् । त्यस्तै, प्रतियोगितामा कक्षा ६ कि जिविका गुरूङले फस्ट रनर्सअप र कक्षा ८ कि रिमा श्रेष्ठले सेकेण्ड रनर्सअपको उपाधि हात परे ।