टोखा टाइम्स, १८ फागुन, हिक्मत डंगोल । बुढानिलकण्ठ नगरपालिका वडा न -५ मा पर्ने चिसिने अवस्थित नाग नागिन गुफा प्रचारप्रसारको कारण ओझेलमा परेको छ । राजधानीकै शिवपुरी निकुन्ज भित्र पर्ने पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
चारैतिर जङ्गल, पहाडको फेदमा रहेको सुन्दर प्राकृतिक गुफा देख्दा भने त्यहाँ पुग्ने जो कोही पनि मोहित हुने गर्दछन् गुफा क्षेत्र हरियाली र स्वच्छताले भरिपूर्ण छ । त्यहाँको मनमोहक दृश्यले अवलोकन गर्न पुग्ने सबैलाई लोभ्याउने गरेको छ ।
यो स्थान बिष्णु पादुका बैकुण्ठधाम मुनि शिवपुरी लेकको पश्चिमपट्टी पर्ने गंगा भीरसंगै उत्तरपट्टि पूर्व फर्केको नाग जस्तो रूप छ। बिष्णुमती नदी भित्र बनेको प्राकृतिक ताल अहिले पुरिएको अवस्थामा छ। बिष्णुमती नदीले शोभा दिएको उपत्यका भित्रबाट अटुट रूपमा बगिरहने झरनासंगै ठूलो कथा र व्यथा बोकेर बसेको नागराजा बस्ने यो प्राकृतिक ओडार आध्यात्मिक रूपले निकै महत्वपूर्ण छ। नाग गुफा वरिपरीका प्रत्येक ढुंगाहरूमा नागकै मूर्ति देखिने ठूलो ओडार छ। अन्दाजी १५ मिटर गहिराई र ६ हात चौडाईको ठूला दुई ढुंगाको खापा जस्तै एउटा लगाएको जस्तो र एउटा खोलेको जस्तो देखिने ओडार भित्र पुग्न आफ्न जीऊलाई ४५डिग्री कोणमा ढालिए पछि तल पुगिन्छ। कतिपय ठाउँ साँच्चै अद्भूत थियो । अलिकता मोटो मानिस पनि छिर्न हम्मे हम्मे पर्ने थियो भने कतिपय ठाउँमा टेक्न समेत मुशकिल पर्थ्यो र कतै प्रकृतिले नै निर्माण गरिदिएको मनमोहक छटा देखिन्थे ।
सुन्दर वर्णन गर्न नसकिने र जति हेरे पनि अझै हेर्ने दृश्य बाँकी छन् जस्तो लाग्ने, अझ भनौँ अमूर्त कला जस्तो अनेक थरीका नाग आकृति ढुङ्गामा कुँदिएका जस्ता थिए ।त्यस ठाउबाट तल गयो भने पाताल पुगिन्छ भन्ने भनाई छ। हेर्दा पनि निकै डरलाग्दो छ। यो ठाउमा आएर एक छिन सोच्ने हो भन्ने मानिसको जन्म र मृत्यको वास्तविक पहिचान गराउंदछ। यहांको छहरा , पहरा र प्राकृतिक वनौटका ढुंगाहरूले आकास थामेर बसेको भन्ज्याङ्ग र चौतारीहरूले काउकुटी लगाइ हाम्रा पूर्वज देव ऋषिहरूको याद झल्काउंछ। बुढानिलकण्ठ स्कुल पछाडीबाट पैदल हॅुदै १ घण्टा उकालो हिड्यो भन्ने यस नागनागिन गुफा पुगिन्छ। साथै बुढानिलकण्ठ मन्दिर बाट बाइकमा हुइंकिदै माथी चिसिने पुगेपछि १५ मिनेटको उकालो हिडेर यस ठाउॅ सम्म पुगिन्छ।