• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१७ चैत्र २०७८, बिहीबार


    बिज्ञापन
  • टोखा विशेषः पाहां चःर्हे नखः

    टोखा टाइम्स । नेवार समुदायले प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमा देवी (संकटा) र लुकुमहा द्यः (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चःर्हे मनाइने गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ । पाहाँ अर्थात पाहुना र चःर्हे अर्थात पर्व, बिहे गरी पठाइसकेका छोरीचेलीलाई घर ब्यवहारले नभ्याइ रहने हुँदा वर्षको एक दिन भए पनि अनिवार्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश हेरी आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चःर्हे मनाइने गरिन्छ । पाहाँ चःर्हेलाई टोखाको पुरानो विस्काः जात्रा पनि भन्ने गरिन्छ ।

     

    अन्य नेवार समुदायमा मनाइने पाहाँ चःर्हे भन्दा टोखामा मनाइने पाहाँ चःर्हेमा केही भिन्नता रहेको पाइन्छ । यस दिन विहान थनेलाछीमा यँसि(लिङ्गो) ठड्याईन्छ । बुढापाका र युवा मिलेर होइस्ते र हाइस्ते गर्दै यँसी ठड्याईन्छ । यँसि ठड्याउनु पूर्व यँसि गुथि खलःहरुले यँसिको विशेष पुजाआजा गरे पश्चात् आफ्नै मौलिक परम्परागत विधिबाट अथक मेहनत र प्रयास पश्चात् यँसी ठड्याइन्छ । यसरी ठड्याइएको यँसीले जात्रा शुरु भएको संकेत गरिन्छ । यँसी (लिङ्गो)लाई महादेवका प्रतीक मानिन्छ ।

     

    साँझपख यँसी गुथि खलःहरुले यँसिमा विशेष प्रकारको हलिपता (विश्वध्वज) फहराइने गरिन्छ । हलिपताले टोखामा विशेष जात्रा भईरहेको सन्देश पनि दिने गर्दछ । यो हलिपता यँसिमा अनिवार्य रुपमा फहराउनु पर्ने प्रचलन रहेको छ । त्यस्तै गरी यसै दिन राति वंतुली (अजिमा द्यः) र सपनविनायकको मुर्तीलाई खतमा राखी जात्रा गर्ने परम्परा रहि आएको छ । अजिमा द्यः (पार्वती) आमा, यँसि (लिङ्गो, शिव) पीता र सपनविनायक (गणेश) छोराको प्रतीकका रुपमा लिइन्छ । साँझपख टोल, चोक, ननी, बहालमा निगालो बालेर बाजागाजा सहित अजिमा द्यः र सपन विनायकको मुर्तीलाई खतमा राखि टोखा नगर परिक्रमा गराइन्छ । जसलाई स्थानीयभाषामा लुकुमहाद्य (लुकिरहेको महादेव) अथवा लख द्यःजात्रा पनि भनिन्छ । यसै दिन मध्यराती यँसिको अगाडि विशेष चाः पुजा गरिन्छ । आचार्यजुले तान्त्रिक पूजा गर्ने गरिन्छ । यो पूजालाई यँसि खलःबाहेक अरुले हेर्न नहुने मान्यतन रहेको पाइन्छ । टोखाको धार्मिक तथा सामाजिक मान्यतालाई अघिसारेर हेर्दा अजिमा द्यः(पार्वती) आमा र सपनविनायक छोरा दुबै मिलेर लुकिरहेको महादेवलाई खोजि हिडेको प्रतीकको आभाष मिल्दछ । यसै समय देखी “हरे राम गन वने गन च्वने वने धास मदु दैब..” भन्ने करुणा रसले भरिएको राग गाउने गर्दछ ।

     

     

    यस पर्व सम्बन्धी रोचक किम्बदन्ती सुन्न पाइन्छ । किम्बदन्ती अनुसार-सत्ययुगमा पार्वतीले श्री महादेवलाई भन्नुहुन्छ, ”हे ईश्वर तँपाई देवको पनि देव महादेव, तपाईको अर्धाङ्गिनी हुन पाउँदा म निकै खुसि छु । तर म अनेक रुप धारण गरी बेला बेलामा मध्यपान, माँस ग्रहण गर्ने गर्दछु तर तँपाई भने यस्तो खानेकुरा कहिले पनि खानु हुन्न, त्यसैले मलाई अलि अप्ठेरो महसुश भएको छ ।“ त्यसपछि श्री महादेवले त्यसो होइन भनि आफै सुटुक्क कसैले नदेख्ने गरी लुकेर पिसाच रुपी महादेवले माँस, मदिरा, लावाजन्य खानेकुरा खाएर पार्वतीलाई देखाउनु भयो ।

     

    त्यसैगरी गरी महाकाल तन्त्र शिव बचन शास्त्र अनुसार यस दिन महदेव (लुकुमहा द्यः)लाई मासु, लाभा, रक्सी, थ्वं लुँबु, बह बँु आदि चढाई बत्तीबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ, भने भोलि पल्ट अस्वयात्रा गर्नाले भबिष्यमा ज्ञान पनि प्राप्त गर्न सकिन्छ अर्थात घोडा जति बेघले दौड्न सक्छ त्यतिनै देशमा दुःख कस्ट हराउने र सत्रुहरु नाश हुन्छ भन्ने मान्यताका साथ घोडे जात्रा मनाउने परम्परा रहि आएको छ । धार्मिक किम्बदन्ती जेसुकै भए तापनि हामीले मनाइने मौलिक पर्वको स्थान र परिवेश अनुसार त्यसको छुट्टा-छूट्टै महत्व, विधि र आस्था रहेको हुन्छ ।

     

    पाहाँ चर्हेको भोलिपल्ट अर्थात घोडे जात्राका दिन वंतुलिमा अवस्थित अजिमा द्यः, लबुँमा अवस्थित सपनविनाय र थनेलाछिमा रहेको यँसिको वेलुका विशेष पुजा गरिन्छ । अजिमा द्यः लाई भने खटमा राखि तरख्यः (गणेश मन्दिरको पूर्वपती रहेको स्थान) लगि विसाइन्छ । पुजाका क्रममा अजिमा द्यः अगाडी नाय्खिँ बाजा पनि बजाइन्छ । यसै दिन सपनविनायक, अजिमा द्यः र यँसि यी तीनै मन्दिर परिसरमा डंगोल थरका २ कन्या र ६ कुमार गरी जम्मा ८ जना कुमारकुमारी बसाएर मरः जा (विशेष प्रकारले पक्काएको भात ) खुवाउने चलन छ । त्यस लगत्तै साँस्कृतिक बाजा र सुकुन्दा यात्रा सहित धुम्धामसँग जात्रा गरी अजिमा द्यः को खट उठाई ताहलयमा ल्याएर राखिन्छ । खटलाई रातभरी ताहलयमै राखिन्छ । भजनकृतन गरी रातभरी जागा बस्ने चलन छ । उत्ता सपनतिर्थबाट सपनविनायकमा मर जाः खुवाइ सकेपछि साँस्कृतिक बाजा बजाई सुकुन्दा यात्रा गरी नास द्यः (नाटेश्वर मन्दिर) परिसरामा राखिन्छ ।

     

    भोलिपल्ट पारु अर्थात प्रतिपदाका दिन धुमधामसँग जात्रा गरिन्छ । पारुकै दिनमा टोखामा रहेका बाँसुरी खलः बाजा खलःको सहभागितामा साँगीतिकमय वातावरणमा सपनविनायकको जात्रा अगाडि बढाई तपलाछीमा रहेको न्याः प्वा ल्वो (पाँच प्वाल भएको चक्रढुङ्गा) मा ल्याएर अजिमाद्यः र सपनविनायक दुवै रथको भेट गराइन्छ । यस चक्रढुङ्गालाई आमा र छोराको सीमाना क्षेत्रको रुपमा मानिन्छ । सपनविनायक (छोरा)ले अजिमाद्यः(आमा) लाई ढोग गरेको प्रतीक सपनविनायको खटले अजिमाद्यःको खटलाई ढोगाइन्छ । तीन पट्क ढोगेपछि आमा छोरा मिलि यँसि लिङ्गो (पिता)लाई ढोगाइन्छ र त्यस पश्चात् आ-आफ्नो मन्दिर घरमा लगिन्छ । यसरी पाँहा चःर्हे विधिवत रुपमा समाप्त गरिन्छ । तर यँसि भने बैशाख १-४ गते सम्म मनाईने विस्केट जात्रा सकिसके पछिमात्र बैशाख ५ गते विहान विधिवत रुपमा ढालिन्छ ।

     

    यसरी हेर्दा टोखामा मनाइने यस जात्रालाई आमा बुबा र छोराको ममता र प्रेम भावनाले भरिएको पर्वको रुपमा लिन सकिन्छ । यस पर्व अर्थात् जात्राले समाजमा छोराछोरीहरुले आफ्ना आमा-बुबालाई सम्मान गर्नुपर्छ । परिवारमा माया, ममता र सद्भाव कायम गर्न सके सबैको भलो हुने सन्देश दिनखोजिएको देखिन्छ ।

    Facebook Comments Box