• टोखा टाइम्स

    • प्रकाशित मिति:१ बैशाख २०७९, बिहीबार


    बिज्ञापन

    सपनतीर्थ मेला (लोक कथन)

    न्याय सम्पादनका क्रममा बिष्णुलाई काँखा र आफूलाई पाँखा लगाएको रिसिवीमा शनिदेवले राजा भिग्मललाई आफ्नो राजकाजबाटै भाग्नुपर्ने गरी बितण्डा मच्चाइ दिएपछि छिमेकी राज्यमा शरण लिन बाध्य राजा भिग्मललाई छिमेकी राजाले आफ्नो बालक राजकुमारको हेरबिचारको सम्पूर्ण जिम्मेवारी सुम्पिन पुग्छन । राजकुमार निकै चकचके र रुन्चे स्वभावका थिए, जसलाई सम्हाल्न राजा भिग्मलले भित्तामा बाध, भालुको चित्र देखाएर “यीनिहरुले खान्छन नरोउ” भने पछि डरले चुप लाग्थे । एकदिन राजकुमार लामो समयसम्म रुन थाले जे गर्दा नि शान्त पार्न सकिएन र भित्तामा रहेको बाघको चित्र नजिक लगेर “यी यो बाघले खान्छ” भनि भित्ता तिर देखाउदा शनिदेव साँचिकै बाघ भएर राजकुमारलाई एकै गाँसमा खाइदिन्छ । छिमेकी राज्यमा ठुलै सनसनी मच्चियो, राजा भिग्मलले छिमेकी राज्यमा आँखा लगाएको र राज्य हत्याउन राजकुमारलाई जानाजान मारेको ठहर गर्दै मरनासन्न कुटपिट, हाल गोडा भाँचेर स्वास मात्र बाँकी रहने गरी निर्घाट यातना दिई देश निकाला गरे ।

    राजा भिग्मल निकै दुख कष्ट सहदै मृत्युलाई कुर्न थाले । एकदिन सपनामा आफु कुनै अञ्जान ठाउँको पोखरीमा खस्दा सद्दे भएर आएको देखे । केही दिनको फरकमा यो सपना बारम्बार देख्न थाले । अपाङ्ग हातगोडा भाँचिएर कुष्टरोगले समेत ग्रसित भएका राजा भिग्मलले बारम्वार यी सपना देख्न थाल्नुले जीवन बाँच्ने चाहना पलाउन थाले र ती ठाउँको खोजिमा घिस्रदै गुल्टिदै एक ठाउँबाट अर्को ठाउँमा जान थाले । एकदिन राजा भिग्मल टोखा स्थित सिद्धिमान ज्यापुले बनाएको पाटीमा भारी बर्षातबाट बच्न बाँस बस्न पुगे । रातभर बर्षातका कारण जाग्राम बसेका राजा बिहानको छिपिसकेको घामसँगै ब्युँझिन पुग्छन । चञ्चले गोठाला केटाहरु भेडाबाख्रालाई चौरमा डुलाउँदै किरा फट्याङ्ग्राको प्वाँख, हात, पखेटा निकाल्दै सानो पोखरीमा फाल्दै गर्दा पुनर्जिवित भएर फर्केको अलौकिक दृश्य देख्न पुग्छन र गोठाला केटाहरुलाई अनुनय, बिनय गर्छन पोखरीमा आफूलाई फ्याँक्न भन्दा डरले सबै टाढाँ भाग्छन । केही केटाहरुले लठ्ठीको सहाराबाट पोखरी नजिक ल्याइ पुर्याइदिन्छन । राजाले आफ्नो सपनामा यस्तै खालको पोखरीमा खस्दा सपाङ्ग भई पुनर्जिवन पाएको स्मरण गर्दै भगवान नारायणको नाम जप्दै पोखरीमा हाम फाल्दा गोठाले केटाहरु भयभित हुँदै कोही उद्धारको लागी पोखरीमा कोही गाउँ घरमा हार गुहार गर्न र कोही रमिता हेर्न पुग्छन । केहीबेर पछि राजा भिग्मल आफ्नो पुरानो रुप सौन्दर्य र सवलाङ्ग भई फर्कन्छ र सारा गाउँका मानिसहरु आफ्ना प्यारा राजा आएको भनि राजाको जय जय कार गर्छन ।

    राजा भिग्मलले पनि आफ्नो सपनामा पनि नचिताएको र बारम्वार सपनामा देखिरहने कुरालाई मूर्त रुपमा पाउँदा यसको भित्री रहस्यको खोजी कार्य गर्न थाले र सो स्थानमा भगवानको आगमन हुन सक्ने भनि खोजबिन गर्दा बिध्नहर्ता श्री गणेशको आगमन रहेको र भगवान बिष्णुको अनुरोधमा राजा भिग्मलका यी यावत कष्ट र दशा मोचनका लागी बिध्नहर्ता श्री गणेश टोखा आगमन भएको थाहा पाए र श्री गणेशको दर्शन गरी राज्यमा रहेका सारा दुखी रोगी अपाङ्गलाई सो दिनमा उक्त पोखरीमा स्नान गर्न लगाए र सबै रोग मुक्त सवल शारिरिक रुपमा सशक्त सवलाङ्ग भई नयाँ जीवन पाए । राजा भिग्मलले श्री सिद्धि बिनायक सपनतिर्थको महिमालाई चौतर्फी प्रचार प्रसार गरी प्रत्येक वर्ष बैशाख १ गते सपनतिर्थ मेलाको प्रचलन चलाएको र भिग्मल राज्यका सारा प्रजाले शान्ति समृद्धिका साथ जीवनयापन गरेको भन्ने लोक कथन छ । पछि बिशाल धर्मावलम्वीहरुको घुइचोलाई मध्यनजर गरी बिशाल कुण्डको निर्माण भयो र बिज्ञानको एक अध्ययनले पनि त्रिवेणी र सनवेणी खोलाको मुहान बिष्णाप र शिवपुरी जंगलमा बिशाल जडीबुटीको भण्डार रहेको र सोही जडीबुटीयुक्त जलसंञ्चयबाट अवतरित खोला सपनतिर्थ स्नानकुण्डमा मिसिने भएकोले कुण्ठरोगीको लागि उपयुक्त रहेको भनि प्रचार प्रसारले आजसम्म निरन्तरता पाएको छ र सपनतिर्थ मेलामा लाखौं भक्तजनहरुले सहभागीता जनाउँदै आएको छ ।

    सपनतिर्थ मेला सम्बन्धि धेरै लोक कथनहरु सुन्न पाइन्छ ति मध्येको यो पनि एक हो ।

    यो लोककथन – सपन्द्य खल द्य छेँका स्व. ज्ञानबीर डंगोलले सुनाउनु भएको कथाबाट तयार गरिएको । प्रस्तुतकर्ताः प्रकाश डंगोल

     

    Facebook Comments Box