काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी धम्कीपछि सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेको आरोप लगाएका छन् । उनले अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई धम्की दिएपछि एमसीसी संसद्मा टेबल हुन लागेको आरोप लगाएका हुन् ।
‘के नेपालमा अमेरिकी झन्डा आउन लागेको हो ? के नेपालमा अमेरिकी सेना आउन लागेको हो ?,’ प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद सुवालले प्रश्न गरे । उनले नेपाली कांग्रेसले आफूलाई नेपाली जनता हो कि होइन भनेर प्रस्ट पार्नसमेत आग्रह गरे ।
सांसद सुवालले यदि कांग्रेस नेपाली जनता नै हो भने अमेरिकालाई ‘हाम्रो प्रधानमन्त्रीलाई किन धम्की दिएको’ भनेर सोध्नुपर्ने बताए । उनले नेपालका तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने मन्त्री र मन्त्रीलाई हस्ताक्षर गर्न पठाउने प्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्नुपर्ने बताए ।
‘यस्तो सम्झौता यहाँ पेश गर्नै मिल्दैन, पास गर्न त झन् मिल्दैन,’ उनले भने, ‘यसलाई खारेज गर्नुपर्छ ।’ उनले सम्झौतामा व्यापक राजनीतिक सहमति भएको भनेर लेखिएको भन्दै त्यो गलत भएको बताए । उनले सम्झौतामा भारत सरकारको सहमति हुनुपर्ने उल्लेख भएको भन्दै सम्झौता द्विदेशीय हो कि त्रिदेशीय हो भनेर प्रस्ट नभएको बताए ।
‘एमसीसीको वेभसाइटमै लेखिएको छ ।यो अमेरिकी स्वार्थलाई अगाडि बढाउने परियोजना हो; अमेरिकी अनुदान होइन । यो लगानी हो । अमेरिकाको स्वार्थबमोजिमको लगानी हामीले किन लिने ?,’ सांसद् सुवालले भने ।