टोखा टाइम्स, ९ काठमाडौ । विन्ध्यवासिनी माध्यमिक बोर्डिङ स्कुलले टोखा नगरपालिका व्यापी दोस्रो अन्तर विद्यालय स्तरीय (English Spelling contest) अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । बुधबारदेखि विद्यालयको प्राङ्गणमा आयोजना भएको प्रतियोगिताको फाइनल शुक्रबार सम्पन्न भएको हो ।
प्रतियोगितामा श्री चन्द्रविन्दु इन्टरनेशनल स्कुल प्रथम हुन सफल भए । स्मरणीय छ बि. सं. २०७९ सालको प्रथम प्रतियोगितामा श्री चन्द्रविन्दु स्कुलले दोस्रो स्थान हासिल गरेका थिए । त्यस्तै फ्लोरेन्स सेकेन्डरी स्कुल दोस्रो र सरस्वती माध्यमिक विद्यालय (A) तृतीय हुन सफल भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका-३ नं वडाका वडा अध्यक्ष श्री रमेश डंगोलले बिजयी टिमलाई सिल मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका विद्यालयलाई क्रमश: दस हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
टोखा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू गरी २० वटा समूहको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको निर्णायक मण्डलको भूमिकामा अशोक ढकाल – (साउथ वेस्त्रण कलेजका अङ्ग्रेजी विषय प्राध्यापक ), प्रकाश पौडेल – (हेराल्ड इन्टरनेशनल कलेजका अङ्ग्रेजी विषय प्राध्यापक ) रहेका थिए भने Spelling Master यम कुमार पुरी (विन्ध्यावासिनी माविका अङ्ग्रेजी विषयको शिक्षक) रहेका थिए साथै कार्यक्रमकाे व्यवस्थापन र उद्घोषण विद्यालयका इन्चार्ज मुक्ति मान डंगोलले गरेका थिए ।
विद्यार्थीहरुको सवाङ्गिण विकासकालागि आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै निरन्तरता दिने वाचा सहित कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमलाई सफल बनाएकोमा सहभागि विद्यालय र विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक बेखानारायण डंगोलले धन्यबाद ज्ञापन गर्नु भयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन डंगोलको सभापतित्वमा ३ दिनसम्म संचालन भई सम्पन्न भएको हो ।