टोखा टाइम्स। २९, वैशाख, २०८२
काठमाडौं – सहकारी घोटालाबाट पीडित भएका हजारौं बचतकर्ताको लामो संघर्ष र आन्दोलनपछि अन्ततः न्यायालयबाट न्याय प्राप्त भएको छ। सर्वोच्च अदालतले आज सहकारी पीडितहरूको पक्षमा ऐतिहासिक फैसला सुनाउँदै सरकारलाई स्पष्ट आदेश दिएको छ—सात दिनभित्र सहकारी नियमन प्राधिकरण गठन गर, पीडितहरूको बचत रकम फिर्ता गर, ठगी र अपचलनमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गरी लिलाम प्रक्रिया सुरु गर।
यो फैसला न्याय मरेको छैन भन्ने प्रमाण भएको भन्दै देशभर छरिएर रहेका पीडित बचतकर्तामा उत्साह छाएको छ।
न्यायको जित, जनताको विजय:
सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका तर्फबाट दायर रिटमा आज सुनुवाइ हुँदै फैसलासहित सरकारलाई जिम्मेवारी बोध गराइएको हो। अदालतमा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठ र डा. सुरेन्द्र भण्डारीले निःशुल्क बहस गर्दै न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरे। महासंघको तर्फबाट स्वयं निवेदकका रूपमा उपस्थित रहेका अभियन्ता कुसलभ केसीले अदालतमा निष्क्रिय देखिएको सरकारलाई कडा चुनौती दिए।
“आज सरकार सर्वोच्चमा हारेको छ, पीडितले जितेका छन्,” कुसलभले भने, “हामी नतिजा नभइ नरोकिने संघर्षमा छौं। आजको निर्णयले सत्यको पक्षमा लड्नेहरू ढिलो भए पनि जित्नेछन् भन्ने कुरामा हामी थप विश्वास राख्न सक्दछौं।”
सर्वोच्चको आदेश:
१. ७ दिनभित्र सहकारी प्राधिकरण गठन गर्नुपर्ने।
२. सहकारी पीडितहरूलाई राहत दिन ‘कोष’ खडा गर्नुपर्ने।
३. पीडितको बचत रकम तुरुन्त फिर्ता गरिनुपर्ने।
४. अपचलनमा संलग्न व्यक्तिको सम्पत्ति जफत गरी लिलाम प्रक्रिया थाल्नुपर्ने।
संघर्षको मोर्चामा वृद्ध पलसिंह केसीको अविराम योगदान
७४ वर्षीय पलसिंह केसीजस्ता वरिष्ठ नागरिक पनि रातदिन खटेर पीडितको पक्षमा बोलेका छन्। “उहाँ जस्ता नागरिकको समर्पणले नै आन्दोलन बलियो बनेको हो,” कुसलभले भावुक हुँदै भने।
अब के हुन्छ?
फैसलाको विस्तृत विवरण केही दिनमा सार्वजनिक गरिनेछ। त्यसपछि महासंघले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवक्ताहरूलाई सार्वजनिक सम्मान दिने जनाएको छ। पीडितहरूलाई थप एकताबद्ध गराउँदै आन्दोलनलाई सशक्त बनाउने रणनीति तय गर्ने तयारी पनि भइरहेको छ।
निष्कर्ष:
सहकारी घोटालाबाट बचत गुमाएका नागरिकका लागि यो फैसला ऐतिहासिक विजय हो। अब सरकारसँग कुनै बहाना छैन—सिधा कार्यान्वयन गर्नु उसको बाध्यता हो।
महासंघले सम्पूर्ण पीडितलाई एकजुट भई अझै सक्रिय रहन आह्वान गर्दै, “सत्यको साथ दिनुहोस्, अन्त्यमा सत्य नै जित्नेछ,” सन्देश दिएको छ।