टोखा, साउन १८, टोखा टाइम्स । नयाँ किरण समुह (न्हुज खलः) टोखाले ‘टोखाव्यापी न्हुज: विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता’ हुनेभएको छ । नयाँ किरण समुहले भाद्र १ गते आफ्नो ४२ औं वार्षिकोत्सवको अवसरपारी उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
‘समृद्धिका लागि पर्यटन’ शीर्षकमा हुन लागेको प्रतियोगिता यहि साउन ३० गते शुक्रबार टोखा २ गणेशस्थान स्थित न्हुज खल: भवन प्राङ्गणमा हुने न्हुजः खलका अध्यक्ष बिकास डंगोलले बताउनु भयो ।
विद्यार्थीहरूमा वाक क्षमता अभिवृद्धि गर्ने र देश प्रेमको भाव तथा सामाजिक उत्तरदायित्वबोध गराउने, पुस्तकालयमा सामिप्यता अभिवृद्धि गर्ने, विभिन्न विद्यालयका विद्यार्थीबीच सघन अन्तर घुलनमार्फत सामाजिक व्यवहार, चेतना र क्षमता अभिवृद्धि गर्ने मूल उद्देश्यले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष डंगोलले बताउनुभयो ।
न्हुज खल:ले प्रत्येक भाद्र १ गते आफ्नो स्थापना दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष आयोजना हुन लागेको साउन ३० गते अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र भाद्र १ गते वृहत् खुल्ला रक्तदान कार्यक्रममा सहभागिता जनाइ कार्यक्रम सफल बनाउन अध्यक्ष डंगोलले अाग्रह गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयहुने विद्यार्थीहरूलाई नगद, ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २० गतेसम्म आफ्नो नाम टिपाई सक्नुपर्नेछ ।
प्रतियोगिताका नियमहरु
१. प्रतियोगी विद्यार्थीहरु कक्षा १० सम्मको मात्र हुनुपर्नेछ ।
२. प्रतियोगी विद्यालयले दुई जना प्रतियोगी पठाउन सक्नेछ । प्रतियोगिताका लागि सहभागी विद्यालयले शुल्क रु ५०० बुझाउनुपर्नेछ ।
३. प्रतियोगीले आफ्नो वक्तृता ५ मिनेटभित्र टुंग्याउनुपर्नेछ । ४ मिनेटमा जनाउ घण्टी बज्नेछ ।
४. वक्तृतामा प्रतियोगीले कुनै धर्म, सम्प्रदाय, जाती, समुदायमा आघात पुग्ने गरी प्रस्तुती दिन पाइने छैन
५. प्रतियोगीले कुनै टिपोट, मोवाइल लगायत अन्य विद्युतीय सामाग्री प्रयोग गर्न पाउने छैन ।
६. प्रतियोगितामा सहभागी हुन https://forms.gle/NPbKXwhPS3x6dja16 लिंकमा गई गुगल फर्म मिति २०८२ साउन २० गतेभित्र भर्नु पर्नेछ ।
७. प्रतियोगितामा विद्यालयबाट प्रतियोगी विद्यार्थीसंगै दर्शकको रुपमा २० जनासम्म विद्यार्थीहरु ल्याउन पाइनेछ ।
८. गोलाप्रथाबाट प्रतियोगीलाई पालो दिइनेछ । सो कार्य कार्यक्रम हुनु भन्दा आधा घण्टा अगाडि गरिनेछ ।
९. प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान ल्याउन सफल विद्यार्थीहरुलाई नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने प्रतियोगि विद्यार्थीहरु र विद्यालयका लागि प्रमाण-पत्र प्रदान गरिनेछ ।
१०. प्रतियोगिताको अन्तिम निर्णय निर्णायक मण्डलको रहनेछ ।
प्रथम पुरस्कार नगद रु २०,०००, ट्रफि र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु १५,०००, ट्रफि र प्रमाणपत्र र तृतीय पुरस्कार नगद रु १०,०००, ट्रफि र प्रमाणपत्र