टोखा टाइम्स, ३० साउन । नयाँ किरण समूह (न्हुज: खल:) टोखाको ४२ अौं वार्षिकोत्सबको अवसरमा टोखा नगरव्यापी अन्तर विद्यालय न्हुज: वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘समृद्धिका लागि पर्यटन’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार न्हुजः खल:को प्राङ्गणमा सम्पन्न भएको हो ।
कार्यक्रममा उल्लिखित विषमाथि प्रतियोगीहरूले आ–आफ्नो वक्तृत्व राखेका थिए । प्रतियोगितामा अनुश्री मिश्र (फ्लोरोसेन्ट माध्यमिक विद्यालय), समीर दुलाल ( पब्लिक इङ्गलिस माध्यमिक विद्यालय) र श्रीना नेपाल (फ्लोरोसेन्ट माध्यमिक विद्यालय) क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ हात पार्दा दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
संस्थाका अध्यक्ष बिकास डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका महासचिव सुविन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रमबीच प्रमुख अतिथिको रूपमा रहेका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले प्रतियोगीलाई हौसला दिँदै यस्ताखाले कार्यक्रमहरूलाई बढवा दिनुपर्ने बताए ।
कार्यक्रममा टोखा नगरपालिका-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, ३ कि वडा सदस्य शान्ता राई, नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधेश्याम श्रेष्ठ विशेष अतिथिको रूपमा रहेको थियो । सँगै कार्यक्रममा संस्थाका संस्थापक व्यक्तित्वहरू, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थितिरहेको थियो ।
न्हुजः खलले भाद्र १ गते आफ्नो स्थापना दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना समेत गर्नेभएको छ ।
तस्बिर: शुक्रराम श्रेष्ठ (टोखा फोटो स्टुडियो)