टोखा टाइम्स, टोखा, कार्तिक ३ । आगलागीजन्य विपद्का घटना नियन्त्रणका लागि टोखा नगरपालिकाले वारुणयन्त्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै वारुणयन्त्र सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
‘आगलागीजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणको लागि यस टोखा नगरपालिकाको कार्यालयद्वारा वारुणयन्त्र (Fire Brigade) खरिद गरी सञ्चालनमा आईसकेको कुरा सहर्ष जानकारी गराउँदै आगलागीका घटनाहरु भएको अवस्थामा यथाशीघ्र नगरपालिकालाई खबर गरी आगलागीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्नु हुन सम्पूर्ण नगरबासी एवं आम जनसमुदायमा हार्दिक अनुरोध छ ।’ – टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।
नगरमा बस्ती बाक्लो हुँदै गएको कारण आपतकालिन कुनै आगलागीजन्य घटना न्यूनिकरण र जनताको जनधनको सुरक्षाका लागि नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट पुस मसान्तको १६ औँ नगरसभाले निर्णय गरी ७७ लाख लागतमा वारुणयन्त्र गरिद गरिएको हो ।
नगरपालिकामा वारुणयन्त्र नहुँदा आगलागी हुँदा क्षति धेरै हुने गरेकोमा अब भने नगरपालिका भित्रका हुने आगलागीका घटना नियन्त्रणमा सहज हुनेछ ।
सूचना
