• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१६ कार्तिक २०८२, शनिबार


    बिज्ञापन

    आज हरिबोधनी एकादशी पर्व मनाइँदै, टोखामा चतुरमास हलिमली शुरु

    टोखा टाइम्स, काठमाडौँ । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको छ ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

    विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा गर्नु अशुभ मानिन्छ ।

    हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।

    तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ ।

    तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भन्ने धारणा रहेको छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।

    आजका दिन काठमाडौं उपत्यकाका चारनारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण) स्थानमा विशेष मेला लाग्छ ।

    यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

    टोखामा हलिमली प्रदर्शन

    आषाढ शुक्ल हरिशयनी एकादशीको दिनदेखि टोखामा शुरुभएको रात्रिकालिन चतुरमास (चार महिना) दाफा भजन खलःको फल्चा तथा प्राङ्गणमा आज अर्थात कात्तिक शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पुर्णिमा (सकिमना पुन्हि) पाँच दिनसम्म प्रत्यक बेलुकी पख हलिमली प्रदर्शन हुँदैछ । मकै, लावा, भतमास, बदाम लागायतको खाद्यबस्तुले सुकुलमा विष्णु भगवानको चित्राकृति बनाई हलिमली प्रदर्शन गरिन्छ । प्रदर्शनिमा राखिएको हलिमली औषधिको काम गर्ने जनविश्वासले स्थानीयहरुले लुच्छाचुडि गर्ने गर्छन् ।

    आषाढ शुक्ल एकादशीका दिन बुढानीलकण्ठ मन्दिरको दर्शन गरी सुरु भएको उक्त दाफा भजन कार्तिक शुक्ल पुर्णिमा (सकिमना पुन्हि) का दिन पुनः बुढानीलकण्ठ मन्दिरको दर्शन गरी बेलुका दाफा भजन कृतन पश्चात विशेष हलिमली प्रदर्शनसँगै चतुरमास (चार महिनाको) दाफा भजन समापन हुन्छ ।

    Facebook Comments Box