• टोखामा स्वस्थानी व्रत कथामा आधारित हरिहर भजन यात्रा

    हिक्मत डंगोल (टोखा टाइम्स, २८ पुस) – हरेक वर्ष झै यस पटक पनि टोखाको ऐतिहासिक चण्डेश्वरी मन्दिर परिसरमा सञ्चालन भइरहेको एकमहिने श्री स्वस्थानी व्रत कथा तथा हरिमार (हरिहर भजन ) यात्रा आज दसौं दिनमा प्रवेश गरेको छ। पौष शुक्ल पूर्णिमाबाट सुरु भएको यो धार्मिक अभियान माघ शुक्ल पूर्णिमासम्म निरन्तर सञ्चालन हुनेछ।

    स्वस्थानी व्रत कथामा आधारित यो भजन यात्रा प्रत्येक वर्ष पौष शुक्ल पक्ष पूर्णिमादेखि सुरु भई करिब एक महिनासम्म चल्ने परम्परा रहिआएको छ। प्रत्येक दिन बिहानको पहिलो प्रहरमै चण्डेश्वरी मन्दिरमा पुगेर नित्य पूजा–आराधना गर्ने र त्यसपछि हरिहर भजन गाएर टोखा नगर परिक्रमा गर्ने चलन रहेको छ।

    टोखा क्षेत्र हिन्दू परम्परामा विशेष महत्त्व राख्ने स्थल हो। यहाँ चौसट्ठी शिवलिङ्गमध्ये चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णेश्वर महादेव अवस्थित छन्। ‘नेपाल महात्म्य’ अनुसार हालको जोरपाटी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेवलाई टोखाको प्रसिद्ध तीर्थस्थलका रूपमा चिनाइएको पाइन्छ, जसले टोखाको ऐतिहासिक विस्तारको प्रमाण दिन्छ।

    स्वस्थानी व्रत कथाअनुसार हिमालय पुत्री पार्वतीले पिण्डारक तीर्थमा स्नान गरी चण्डिकेश्वर महादेवको आराधना गरेपछि भगवान शिवलाई पति रूपमा प्राप्त गरेकी थिइन्। यसैगरी चण्डेश्वरी मन्दिर परिसरमै दक्षप्रजापतिले यज्ञ गरेको, तर शिवलाई निम्तो नदिएको कारण सतीदेवीले यज्ञकुण्डमै देह त्याग गरेको कथन पाइन्छ। पछि महादेवले सतीको देह बोकेर संसार परिक्रमा गर्दा यही स्थानमा बायाँ स्तन पतन भएको र त्यसपछि चण्डेश्वरी देवी तथा चण्डिकेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ।

    मन्दिर परिसरमा अहिले पनि कालो माटो र यज्ञकुण्डको नमुना देख्न सकिन्छ, जसलाई पौराणिक घटनाको प्रमाणका रूपमा लिइन्छ। यसै कारण काठमाडौं, भक्तपुर र ललितपुरलगायत क्षेत्रबाट भक्तजनहरू बिहानैदेखि दर्शनका लागि चण्डेश्वरी मन्दिर पुग्ने गरेका छन्।

    स्वस्थानी व्रत सुरु भएसँगै टोखाका घर–घरमा कथा वाचन र श्रवणको परम्परा पुनर्जीवित भएको छ। यस पर्वलाई ‘माघ महात्म्य’का रूपमा पनि चिनिन्छ। दैनिक बिहान गुथीका संयोजकले शंख बजाउँदै बुढापाका, युवा तथा बालबालिकालाई हरिहर भजनमा सहभागी हुन निम्तो दिने चलन छ।

    एक महिनापछि माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजा गरी हरिहर भजन गुथीले विसर्जन कार्यक्रम तथा सामूहिक भोज आयोजना गर्ने परम्परा रहिआएको छ। हाल यो ऐतिहासिक सांस्कृतिक अभियानलाई टोखा वडा नं. २ र ३ का युवाहरूले आफ्नै पहल र स्रोतसाधनबाट संरक्षण गर्दै अगाडि बढाइरहेका छन्।

    स्थानीयवासीका अनुसार यस्तो धार्मिक र सांस्कृतिक गतिविधिले समाजमा आपसी सद्भाव, धार्मिक चेतना र मौलिक पहिचानलाई थप मजबुत बनाउँदै लैजाने विश्वास गरिएको छ।

    https://scontent.fktm3-1.fna.fbcdn.net/v/t39.30808-6/615084229_26082206771397863_249628056752246390_n.jpg?stp=cp6_dst-jpg_tt6&_nc_cat=109&ccb=1-7&_nc_sid=833d8c&_nc_ohc=jGotjjhbL_gQ7kNvwHmlBjn&_nc_oc=AdkMHq1uc5Zk9nezuUwlAcFRzYKeguy8LQaKqfBV2rqrqKcjeoWENQIDs7aNNfcrvZLQMftwF6Mn_GfWX4MoTzYm&_nc_zt=23&_nc_ht=scontent.fktm3-1.fna&_nc_gid=dVd9tfNlRphSfbl_sCJ5eA&oh=00_AfqJFSC2CSjO6SV6cM0zBtTF6H2-twUfZW0c8ac0ChpxJg&oe=696A45EB
    Facebook Comments Box