• पाटनमा ‘हिटी आर्ट एक्जिबिसन’ सुरु, संरक्षणविहीन हिटीको अवस्थामाथि कलात्मक चेतना

    हिक्मत डंगोल, काठमाडौँ, १० जनवरी २०२६ — काठमाडौँ उपत्यकाभित्रका संरक्षणविहीन हिटीहरूको अवस्थामाथि कलात्मक चेतना जगाउन लक्षित ‘हिटी आर्ट एक्जिबिसन’ आज पाटन संग्रहालयमा सुरु भएको छ। ई–आर्ट्स नेपाल, यलको रोटरी क्लब र चिवा चैत्यले संयुक्तरूपमा आयोजना गरेको प्रदर्शनी वरिष्ठ कलाकार किरण मानन्धरले उद्घाटन गरेका हुन्।

    तीन दिनसम्म चल्ने यस प्रदर्शनीमा २० जना नेपाली कलाकारहरूले लिच्छवी तथा मध्यकालीन समयमा निर्माण भएका हिटी प्रणाली, तिनको चिनारी तथा वर्तमान संकटमाथि केन्द्रित आफ्ना कलाकृतिहरू प्रस्तुत गरेका छन्। प्रदर्शनीमा समावेश कृतिहरूले इतिहास, कला र पानी व्यवस्थाको सांस्कृतिक महत्वलाई समेट्न प्रयास गरेको आयोजकहरूको भनाइ छ।

    कलाकार एरिना ताम्रकारका अनुसार उपत्यकाका धेरै हिटीहरू संरक्षक अभाव, अतिक्रमण र पानीको मुहान सुक्दा लोपोन्मुख अवस्थामा पुगेका छन्। “हिटीहरू सहरको सौन्दर्य र इतिहास दुवैका महत्वपूर्ण भाग हुन्। अहिले तिनीहरू संकटमा छन्। यस प्रदर्शनीले समाजलाई झकझकाउने विश्वास लिएको छु,” उनले भनिन्।

    इतिहासका पृष्ठमा लिच्छवी र मल्लकालीन शासकले सर्वसाधारणका लागि पानीको सजिलो पहुँच सुनिश्चित गर्न हिटी निर्माण गरेको उल्लेख पाइन्छ। तर आज उपत्यकामा अनियोजित बस्ती विस्तार, प्लटिङ र भू–जलको अत्यधिक दोहनका कारण धेरै हिटी सुकिरहेका छन्। यस्ता संरचनाहरू संरक्षणअभावमा प्रयोगविहीन हुँदै गएको तथ्य कलाकारहरूले क्यानभासमार्फत उजागर गरेका छन्।

    ‘हिटी सिस्टम इन द काठमाडौँ भ्याली’ शीर्षकमा आयोजना गरिएको यो प्रदर्शनी ११ जनवरी २०२६ सम्म पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालय ग्यालरीमा चल्नेछ।

    Facebook Comments Box