• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२२ कार्तिक २०७९, मंगलवार


    बिज्ञापन
  • काठमाडौं ५ का उम्मेदवार पौडेलको घोषणापत्र: शिक्षा क्षेत्र प्राथमिकतामा

    काठमाडौं– सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको तर्फबाट काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका उनले प्रतिबद्धतापत्र सोमबार सार्वजनिक गरेका हुन्।

    नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका पौडेलले आफ्नो चुनावी घोषणामा शिक्षालाई प्राथमिकता दिएका छन्।

    उनले ‘सर्वसुलभ गुणस्तरीय शिक्षा, सीपमूलक व्यावहारिक ज्ञानः प्रशिक्षित शिक्षक, चुस्त व्यवस्थापन’को योजना अघि सारेका छन्। उनले आफ्नो चुनाव क्षेत्रमा पर्ने विद्यालयहरूलाई बूढानीलकण्ठ स्कुलसरहको बनाउने आश्वासन दिएका छन्।

    ‘टोखा नगरपालिकाअन्तर्गतका चण्डेश्वरी, सरस्वती, धापासी, झोर महाँकाल र तिलिंगटार माध्यमिक विद्यालय, चुनदेवी आवासीय विद्यालय, काठमाडौं महानगरभित्रका बाँसबारी, शिवपुरी, चुनदेवी, टंगाल र महेन्द्र राष्ट्रिय मावि, त्यसैगरी, बूढानीलकण्ठ नगरपालिकाका आत्मविकास, बुढानीलकण्ठ, पञ्चकन्या, मदन–आश्रित र गणेश मावि, श्रीराम र भद्रकाली आधारभूत विद्यालयलगायतका सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी बुढानीलकण्ठ स्कुलसरह विकास गर्नेछौं,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘साथै, शिक्षकलाई तालिम, सार्वजनिक–निजी साझेदारी अंङ्गिकार गरी गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि व्यावसायिक सीप र आधुनिक प्रविधिका बारेमा प्रशिक्षण, भौतिक संरचनाको विकास र आवश्यक प्राविधिक स्रोत जुटाउन स्थानीयबासी, स्थानीय तह, प्रदेश र संघबीच समन्वय गर्नेछौं।’

    पौडेलले क्षेत्र नम्बर ५ मा सरकारी इन्जिनियरिङ कलेज स्थापनाका लागि बूढानीलकण्ठ र बाँसबारी बहुमुखी क्याम्पसको स्तरोन्नति गर्नेसमेत घोषणापत्रमा उल्लेख गरेका छन्।

    ‘यो क्षेत्रमा सरकारी इन्जिनियरिङ कलेज स्थापनाका लागि बूढानीलकण्ठ र बाँसबारी बहुमुखी क्याम्पसको स्तरोन्नति गर्नेछौं,’ उनले भनेका छन्, ‘समुदायमा बोलिने मातृभाषामा अध्ययन अध्यापनका लागि नीति निर्माण तथा कार्यक्रम निर्माण गर्नेछौं।’

    पौडेलले सडक तथा पार्किङका लागि ‘सबैका लागि व्यवस्थित सार्वजनिक पार्क: व्यवस्थित पार्किङ, खुला र सुरक्षित सडक’को योजना अघि सारेका छन्।

    टोखाहुँदै झोरमा बन्ने सुरुङमार्ग सहितको रसुवा केरुङ राजमार्गको क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ।

    यस्तै, शहरलाई कुरुप बनाएका पोलपोलमा रहेका तारको जञ्जाल हटाएर भूमिगत गर्ने र पार्किङ व्यवस्थित गर्न ‘मल्टी स्टोरी’ पार्किङ बनाउने प्रतिबद्धता अघि गरिएको छ।

    यस्तै, पौडेलले स्वाथ्यमा ‘सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाः सवल स्वास्थ्य प्रणाली, सबैको स्वाथ्य बीमा’को योजना ल्याएका छन् ।

    त्यसैगरी, टिचिङ्ग, गंगालाल, कान्ति बाल, नेपाल प्रहरी अस्पताल जस्ता मुख्य अस्पतालहरूको स्तरोन्नति  र निजी अस्पताललाई व्यवस्थित गर्दै क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रुपमा विकास गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

    टोखाको प्रदेश अस्पतालको स्तरोन्नति गर्ने, सबै वडाका प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्स–रे तथा ल्याबसहितको स्तरीय सहरी स्वास्थ्य सेवा केन्द्र रुपमा विकास गर्ने बताइएको छ।

    पौडेलले हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई यथाशीघ्र विस्तार गरी स्वास्थ्य बीमालाई प्रविधिमैत्री बनाउन स्वास्थ्य कार्ड प्रणालीको व्यवस्था गर्ने उल्लेख गरेका छन्।

    यस्तो छ पूर्णपाठ:

    Facebook Comments Box