• टोखा भिल्लिटारमा ‘भाजु नस:’ को भव्य उद्घाटन, नेवारी स्वाद र संस्कारको संगम

    टोखा टाइम्स। वैशाख-२०, २०८२

    टोखा–२, भिल्लिटार (पञ्चेटार) मा नेवारी परिकारमा विशेषता राख्ने नयाँ रेस्टुरेन्ट ‘भाजु नसः’ को भव्य उद्घाटन गरिएको छ। प्रदेश प्रमुख मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, वडा नं. ३ का अध्यक्ष रमेश डंगोल, वडा नं. १ का वडा सदस्य रमेश लामिछाने, स्थानीय समाजसेवी, व्यवसायी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    इकुलाग चण्डेश्वरी दाफा भजन खल: द्वारा बॅासुरीको धुन संगैस्वागत गरी नेवारी परम्परा र आतिथ्य संस्कृतिलाई जीवन्त बनाउँदै स्थापना गरिएको ‘भाजु नस:’ ले परम्परागत स्वाद मात्र होइन, सेवा र सत्कारको भावनालाई पनि विशेष प्राथमिकता दिएको बताइएको छ। उद्घाटन समारोहमा एक सञ्चालक केश कुमार श्रेष्ठले भने, ‘भाजु’ भन्नाले ज्वाइँ भन्ने बुझिन्छ — “जसरी नेवारी समाजमा ज्वाइँलाई विशेष सत्कार गरिन्छ, त्यस्तै हामीकहाँ आउने हरेक पाहुनालाई पनि त्यही सम्मान र माया दिने परम्परा कायम रहनेछ।”

    उनका अनुसार, रेस्टुरेन्ट सबै वर्ग, समुदाय र पृष्ठभूमिका पाहुनाहरूका लागि खुला छ । जात, वर्ग वा हैसियतको कुनै भेदभाव नगरिकन, सबैलाई आत्मीय सेवा दिने र आफ्नोपनको अनुभूति गराउने उद्देश्यले ‘भाजु नसः’ को सुरुवात गरिएको हो।

    रेस्टुरेन्टमा शुद्ध र मौलिक नेवारी खाना पाइनेछ जसमा स्थानीय उत्पादनको उपयोग, परम्परागत शैलीमा पकाउने तरिका, र सांस्कृतिक स्वादको गहिरो झल्को प्रस्तुत गरिनेछ। साथै, यहाँको वातावरणलाई पनि नेवारी शैलीअनुसार सजाइएको छ, जसले पाहुनालाई केवल स्वाद मात्र होइन, सांस्कृतिक अनुभव पनि प्रदान गर्छ।

    भाजु नस: केवल एउटा रेस्टुरेन्ट होइन, यहाँ सेवा, संस्कार र आत्मीयता पाइन्छ। यो एक यस्तो स्थान हो जहाँ स्वादसँगै मन पनि तृप्त हुन्छ। सञ्चालक मध्यका एक सुमन डंगोल भन्छन्, “हामीले ‘भाजु नस:’ लाई तपाईंको दोस्रो घर बनाउने लक्ष्य लिएका छौं — जहाँ स्वाद छ, सम्मान छ, र आत्मीयता पनि छ।”

    नेवारी खानाको स्वादमात्र होइन, संस्कार र सामुदायिक भावनालाई पनि केन्द्रमा राखेर संचालनमा ल्याइएको ‘भाजु नस:’ अब टोखाबासीका साथै अन्य स्थानका पाहुनाका लागि पनि एक आकर्षक गन्तव्य बन्ने आशा गरिएको छ।

    Facebook Comments Box