• टोखा टाइम्स

    • प्रकाशित मिति:७ मंसिर २०८०, बिहीबार


    बिज्ञापन
  • आज हरिबोधनी एकादशी पर्व मनाइँदै, टोखामा हलिमली शुरु

    टोखा टाइम्स

    ७ मंसिर, काठमाडौं । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

    चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

    आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

    हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । आजदेखि कार्तिक पुर्णिमाका दिनसम्म बूढानीलकण्ठमा विशेष मेला लाग्ने गर्छ ।

    हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ ।

    आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

    टोखामा हलिमली प्रदर्शन

    आषाढ शुक्ल हरिशयनी एकादशीको दिनदेखि टोखामा शुरुभएको रात्रिकालिन चतुरमास (चार महिना) दाफा भजन खलःको फल्चा तथा प्राङ्गणमा आज अर्थात कात्तिक शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पुर्णिमा (सकिमना पुन्हि) पाँच दिनसम्म प्रत्यक बेलुकी पख हलिमली प्रदर्शन हुँदैछ । मकै, लावा, भतमास, बदाम लागायतको खाद्यबस्तुले सुकुलमा विष्णु भगवानको चित्राकृति बनाई हलिमली प्रदर्शन गरिन्छ । प्रदर्शनिमा राखिएको हलिमली औषधिको काम गर्ने जनविश्वासले स्थानीयहरुले लुच्छाचुडि गर्ने गर्छन् ।

    आषाढ शुक्ल एकादशीका दिन बुढानीलकण्ठ मन्दिरको दर्शन गरी सुरु भएको उक्त दाफा भजन कार्तिक शुक्ल पुर्णिमा (सकिमना पुन्हि) का दिन पुनः बुढानीलकण्ठ मन्दिरको दर्शन गरी बेलुका दाफा भजन कृतन पश्चात विशेष हलिमली प्रदर्शनसँगै चतुरमास (चार महिनाको) दाफा भजन समापन हुन्छ ।

    Facebook Comments Box