टोखा टाइम्स, पुस ११ । भक्तपुरको नवदुर्गा देवगण (ङालाकेगु) नाच शुक्रबारदेखि टोखामा प्रदर्शन हुने भएको छ । टोखा र भक्तपुर बीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने नाचको रुपमा रहेको नवदुर्गा देवगण नाच भोलि शुक्रबारदेखि आइतबारसम्म टोखामा प्रदर्शन हुने भएको हो ।
भोलि शुक्रबारदेखि हुने नाचको व्यवस्थापनको लागि आज टोखा नगरपालिका- २ र ३ को आयोजनामा क्वाखःल तलेजु मन्दिर परिसरमा विशेष बैठक सम्पन्न भएको छ ।
यःमरी पुन्हि लगतै टोखामा प्रदर्शन गर्ने प्रचलन रहेको नवदुर्गा नाच टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिलका – २ र ३ वडा कार्यालयको संयुक्त आयोजनामा टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति र नेवा गुथि तोखाको संयुक्त व्यवस्थापनमा भोलि शुक्रबारदेखि आइतबारसम्म (पुस १२,१३ र १४ गतेसम्म) ऐतिहासिक साँस्कृतिक नगरी टोखाको थनेलाछीमा हुने नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।
त्यस्तै बैठकमा नवदुर्गा नाच निकै खर्चिलो भएको आर्थिक व्यस्थापन समितिका संयोजक देवराज डंगोल बताउँछन् । ३३ वर्षपश्चात २०७९ सालमा टोखा नगरपालिका- २ र ३ को आर्थिक सहयोग र टोखा संस्कृति संरक्षित विकास समिति र नेवाः गुथि तोखाको व्यवस्थापनमा भएको नाचमा ६ लाख ५४ हजार भन्दाबढी पैसा खर्च भएको जानकारी दिए । उनले ३ दिन नवदुर्गा नाचका क्रममा बस्ने, खाने र दक्षिनाका लागि झण्डै ७ देखि ८ लाख रुपैँया आवश्यक पर्ने बताए ।
३३ वर्षपछि टोखामा नवदुर्गा देवगण ल्याउन अक्षय कोषका लागि स्थानीयबासिन्दा संघ संस्थाबाट रकम जुत्ताएको थियो । त्यस मध्यक्ष आवश्यक रकम टोखा नगरपालिका -२र३ले व्यवहोर्ने भनिएको भए पनि सबै खर्चको विल नगरपालिकामा बुझाएको र हालसम्म पैसा भुक्तानि नभएको आर्थिक संयोजक देवराज डेंगोलले बैठकमा जानकारी दिए ।
यसपालिको उक्त नाचका लागि आवश्यक पर्ने रकम टोखा नगरपालिका – २ र ३ वडा कार्यालयबाट ६०/६० हजार संस्कृति संरक्षित क्षेत्र विकास समिति २० हजार नेवाः गुथि तोखा २० हजार, टोखा नगरपालिका – २ र ३ का क्रियाशील राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेमकिपा, नेकपा समाजबादी र राप्रपा २०/२० हजार २ लाख ४० हजार उठाएर उक्त नाच सञ्चालन तथा सम्पन्न गर्न लागेको आर्थिक संयोजक देवराज डंगोलले बैठकमा बताए दिए ।
टोखाका सबै राजनीतिक दल तथा संस्थाहरुको पनि संस्कृति र संस्कारमा अपनत्व बहन गर्न यसरी पैसा उठाएको नाचका संयोजक अमर डंगोलले बताए । यो पैसा पछि नगरपालिकाबाट भुक्तानि भए पछि फिर्ता गरिने उनले जानकारी दिए ।
टोखा नगरपालिका २ र ३ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, वडा सदस्य अमर डंगोल, सविना श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, संस्कृति संरक्षित क्षेत्र विकास समितिका कार्यवहाक अध्यक्ष तथा सचिव रविना श्रेष्ठ तथा सदस्य, नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापित तथा सदस्य, विभिन्न राजनीतिक दल, संघसंस्था, महिला समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा क्वाखले (तलेजु परिसरमा) बैठक सञ्चालन भएको बैठकमा पुस १२,१३ र १४ गतेसम्म टोखामा नवदुर्गा गण नाच व्यवस्थित रूपमा सञ्चालन र सम्पन्न गर्न सम्पुर्ण टोखाबासीहरूलाई अनुरोध गर्दै आआफ्नो ठाउँबाट सक्दो साथ सहयोगको आह्वान सहित बैठक सम्पन्न गरिएको थियो ।