टोखा टाइम्स, १० मंसिर । बुढानीलकण्ठ काठमाडौँ जिल्लाको उत्तरपट्टी शिवपुरी डाँडाको फेदीमा रहेको धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय हिसाबले उच्च महत्व बोकेको मन्दिर हो । हाल यो मन्दिर बुढानीलकण्ठ नगरपालिका वडा नं ३ मा पर्दछ । हिन्दू सनातन धर्मालम्बी र बौद्ध धर्मालम्बीहरूले साझा आस्था राख्ने बुढानीलकण्ठ मन्दिर इतिहासका अनेक मिथकहरू बोकेको ऐतिहासिक स्थल पनि हो । बुढानीलकण्ठ नारायणको मूर्ति एउटै शिलामा भगवान शिव र विष्णुको संयुक्त हरिहर प्रभु स्वरुपको रुपमा रहेको छ । काठमाडौं उपत्यकाभित्र रहेका चार नारायणहरूमध्ये बुढानीलकण्ठ नारायणको मन्दिर त्यसभित्र पर्दैन । तर, पनि चार नारायणहरूको दर्शन गरिसकेपछि यसको दर्शन गर्नाले मात्रै पूणर्ता पाइन्छ भन्ने जनविश्वास छ ।
त्यसैले बुढानीलकण्ठ नारायणलाई बुढा अर्थात नारायणहरूको जेष्ठ नारायणको रुपमा समेत हेरिन्छ। हिन्दू सनातन धर्मभित्र ब्रम्हा, विष्णु र महेश्वरलाई प्रमुख देवता मानिन्छ । त्यसैले विश्वका जुनसुकै देशबाट हिन्दू र बौद्ध धर्मालम्बीहरू धार्मिक पर्यटकका रुपमा नेपाल आउँदा शिवको साक्षात् रुप मूल देवता पशुपतिनाथको दर्शन पछाडि बुढानीलकण्ठ नारायणको दर्शन गर्न आउने गर्दछन् । बुढानीलकण्ठ नारायणको उत्पत्ति कालदेखि वर्तमान समयसम्म आइपुग्दा यसको धार्मिक महत्वलाई बुझेर नेपाल सरकारले यस क्षेत्रलाई महत्वपूणर् धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिरहेको छ । त्यही उद्देश्यले नै बि.सं २०५३ सालमा तत्कालीन सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुढानीलकण्ठ विकास समिति गठन गरेको हो । त्यस यता मन्त्रिस्तरीय निणर्यबाट चार वर्षको अवधि किटान गरी अध्यक्ष, सदस्य सचिव र सदस्य सहितको कार्यसमितिको नियुक्त हुँदै आएको छ ।
आजभन्दा १४ र १५ सय वर्ष अगाडिविशाल वस्ती भएको बुढानीलकण्ठ नारायणस्थानमा ठूलो प्रलय भएर पनि क्रमशः त्यहीं नै रुपमा पुनः विकसित भएको मानिन्छ । केही किंवदन्ती, केही तथ्य अनुमानका आधारमा बुढानीलकण्ठ प्राचीन लिच्छवी कालमा विकसित भएको वस्ती हो । यस भेग र आसपासका गाउँ बस्तीहरूमा रहेका प्राचीन अवशेषहरूबाट यो तथ्य प्रमाणित हुन्छ ।
यस भेगको जमिनको जुन कुनै भागमा खन्दा पुराना इटाँका टुक्राहरू भेटिन्छन् । कतिपय स्थानमा त पुराना मूर्तिहरू समेत भेटिने गरेका छन् । मञ्जुश्रीले काठमाडौं उपत्यकाको पानी खोली बाहिर पठाइ बसोबास सुरु गराएको किम्बदन्ति पनि छ । यसपछि सूर्यकेतु र धुम्रकेतु राजाले श्री जलाशयी नारायणको स्थापना गरेको विश्वास गरिन्छ । प्राचीन समयमा बूढानीलकण्ठसँगैका गाउँहरू दुई पाञ्चालीमा विभाजित थिए । यद्यपी बूढानीलकण्ठ जलशायी नारायणको उत्पत्ति बारे विभिन्न इतिहासकारहरूको भनाइ र किंवदन्ती फरक-फरक खालको छ ।
लिच्छवी राजा वृषभदेवभन्दा अगाडिका राजा हरिदत्त वर्माले करिब इ.पू. ३२३ तिर चार नारायणसँगै बूढानीलकण्ठको पनि स्थापना गरेका जनश्रुती छ ।
अर्को प्रसंगमा परापूर्वकालमा शतरुद्र (शिवपुरी) पहाड भूकम्पले क्षतिग्रस्त भई पहिरो गएको थियो । पहिरो सहितको बस्तीको जलशायी भगवान नारायण भएको ठाउँमा एक जना कृषकले वाली लगाएका थिए ।
धान काट्ने समय आएपछि कार्तिक महिनामा कालिगत सम्वत १५०० मा कृषक धान चुट्दै थिए । त्यहीबेला आश्चर्य भयो । खलमा धान थुप्रिदै गयो । तर, धानका बालामा गेडाहरू जस्ताका तस्तै रहे। किसान छक्क पर्दै तत्कालीन राजा हरिदत्त कहाँ खबर सुनाउन पुगे। राजाले पनि सपनामा भगवानको दर्शन पाए अनि अवश्य नारायण भगवान्को मूर्ति भएको अनुमान गर्दै खन्न लगाए । नभन्दै बूढानीलकण्ठको शिला भेटियो । यसपछि त्यो शिला निकाली स्थापना गराए ।
त्यसताका उपत्यकाको चारै दिशामा चार नारायण स्थापना गरिएको हो भन्ने भनाई अनुसार यो थाहा हुन्छ कि बुढानीलकण्ठमा कार्तिक एकादशीदेखि पूर्णिमासम्म ठुलो मेला लाग्ने चलन आज पर्यन्त यथावत छ । यसर्थ कार्तिक एकादशीदेखि पूर्णिमासम्मको मेला त्यही बेलादेखि सुरु अनुमान छ ।
(बुढानीलकण्ठ- एक परिचय पुस्तकबाट साभार)