• जनकवि दुर्गालाल श्रेष्ठलाई टोखामा नागरिक अभिनन्दन

    टोखा टाइम्स, ११ पुष, टोखा । साहित्यकार जनकवि दुर्गालाल श्रेष्ठलाई मंगलबार टोखामा नागरिक अभिनन्दन गरिएको छ । न्हूजः खल टोखाको आयोजनामा प्रगतिशील जनकवि दुर्गालाल श्रेष्ठलाई ऐतिहासिक संस्कृति संरक्षित क्षेत्र टोखाको मौलिक परम्परा अनुसार सांस्कृतिक अभिनन्दन गरी ससुख्य (सरस्वती चौर)बाट सांस्कृतिक बाजागाजा सहितको यात्रा थनेलाछीमा पुगेर सभामा परिन्त भएको थियो ।

    नेपाल र नेपाली भाषा साहित्य सिर्जना मार्फत देशको प्रगतीशील रुपान्तरण र जन जागरणमा अतुलनीय योगदान गर्नु भएका जनकवि दुर्गालाल श्रेष्ठलाई यस वर्षको ‘न्हूजः प्रगतिशील साहित्य पुरस्कार २०८०’ प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले सम्मान पत्र प्रदान गर्नुभएको थियो । पचास हजार नगद राशीको उक्त पुरस्कार नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधेश्याम श्रेष्ठले जनकवि श्रेष्ठलाई पचास हजार नगद राशीको चेक हस्तान्तरण गर्नु भएको थियो । साथै, श्रेष्ठलाई टोखाका विभिन्न संघसंस्थाको तर्फबाट टोखाको चाकु मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

    कार्यक्रममा आर मानन्धरद्वारा लेखित जनकवि दुर्गालाल श्रेष्ठको जीवनी पुस्तक ‘कविया बाखँ,कविया भासँ’ र ‘न्हुजः स्मारीका’ जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरिएको थियो । इन्द्रायणी दाफा खलःद्वारा तयार पारिएको ‘मचाखाचा छे बुँ त्वता वया..’ नेपालभाषाको गीतको म्यूजिक भिडियो समेत श्रेष्ठले सार्वजनिक गर्नु भएको थियो ।

    कार्यक्रमामा सम्बोधन गर्दै जनकवि दुर्गालाल श्रेष्ठले काव्यशैलीमा भन्नु भयो- ‘टोखा ए ! टोखा तिम्रो अपार सम्मानले मैले जीवनभर नविर्सने गरी ठुलो बर्दान प्राप्त गरेको छु । यो मेरो जीवनको अन्त्यसम्म पनि स्मृतिमा रहिरहने छ ।’

    ‘… टोखालाई जीवन्त राखि बाँचिरहनु भएका तपाईको जातीय स्वाभिमान प्रति म गौरवान्वित छु । तपाईको माया नै मेरो प्राण हो । प्राण नै बन्धकी राखि प्राप्त हुने जुन सम्मान ग्रहन गरे । मलाई कहिले निष्प्राण भर बाँच्ने मन छैन । यो हो मेरो अन्तरमनबाट आजको शुभ मुहूर्तमा निस्केको प्रतिबद्धता जय मातृभाषा, जय नेपालभाषा ।’ जनकवि श्रेष्ठ आफ्नो रचना मार्फत भन्नु भयो ।

    नेवाः आन्दोलनका अगुवा मल्ल के सुन्दरले जनकवि दुर्गालाल श्रेष्ठको व्यक्तित्वको चर्चा गर्दै टोखाले जनकवि दुर्गालाल श्रेष्ठलाई मात्र नभई नेवाः भावना, नेवाः भाषा, सहित्य र नेवाः आन्दोलनलाई सम्मान गरेको बताउनु भएको छ ।

    ‘म स्वयंम नेवाः आन्दोलनका अगुवा हुँ; टोखाले दिएको यो स्नेह र सम्मानको यो क्षण मैले गर्वको अनुभुति गरिरहेको छु । टोखा र न्हूजः पस्तकालयलाई धेरै धेरै धन्यवाद दिन्न चहान्छु ।’ उहाँले भन्नु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रकाश अधिकारीले जनतालाई दमन र अत्याचार विरुद्ध आफ्नो साहित्य रचना मार्फत जागरण जगाउने महान स्रष्टालाई सम्मान गर्न पाउँदा टोखाबासी गौरवान्वित भएको बताउँदै जनजनको मनमा बस्न सफल व्यक्तिलाई सम्मान गर्न पाउँदा हार्षित भएको बताउनु भयो । उहाँले उत्पीडन र दमनमा परेका जनतालाई आफ्नो हकहित प्राप्तिका लागि आफ्नो सिर्जना मार्फत जागरित गराउने महान कार्यको सर्हाना गर्नुभएको थियो ।

    न्हूजः खलःका अध्यक्ष तथा कार्यक्रमका सभापति डा. दिपेन्द्र श्रेष्ठले ‘नेवार संस्कार र संस्कृति विज्ञानका निस्कर्षहरु हुन् । यसको संरक्षण र प्रबर्दन नेवारका लागि मात्र नभई सम्पूर्ण मानव जातीको लागि अनुपम उपहार र सम्पदा रहेको बताउनु भयो ।

    श्रेष्ठले भने -‘यसको प्रबर्दनका लागि नेपाल भाषाको प्रबर्दन आवश्यक छ । कुनै पनि भाषा प्रबर्दनका लागि गीत संगीतको माध्यम सर्वोत्कृष्ट हुने भएकाले न्हुजः खलःले नेपाल भाषाका अमूल्य गीतहरुका सर्जक दुर्गालाल श्रेष्ठको नागरिक अभिनन्दन तथा उहाबाट रचित नेपाल भाषाका गीतहरुको सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यौ ।सहयोगी टोखा नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, गुठी, खलः, गायक, गायिका, वज्र ट्युन्स लगायत सम्पूर्णमा हार्दिक धन्यवाद !’

    उक्त कार्यक्रममा श्रेष्ठद्वारा रचित नेपालभाषाका लोकप्रीय गीतहरु जुजुकाजि रञ्जित, पवित्र कसाः, सतिश महर्जन, निशा देशार, रत्न शोभा महर्जन, दिपा महर्जन, सिद्धार्थ श्रेष्ठ र वज्र ट्युन्सले गीतहरु प्रस्तुत गरेका थिए । साथै, उनी द्वारा रचित गीतहरुमा सांस्कृतिक नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो ।

    Facebook Comments Box