• जात्रा अवधिभर व्यापारिक विज्ञापनको लागि प्रयोग गरिएको लोगो भएको टिसर्ट लगाउन नपाईने, व्यानर समेत राख्न नपाइने

    टोखा टाइम्स, चैत्र १८ । नयाँ वर्ष २०८१ बैशाख १ गतेदेखि ५ गतेसम्म हुने टोखाको सपनतीर्थ मेला तथा विस्काः नखः जात्रा अवधिभर व्यापारीक विज्ञापनको लागि प्रयोग गरिएको लोगो भएको टिशर्ट लगाउन नपाउने भएको छ । टोखा नगरपालिका २ र ३ वडा कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै जात्रा व्यवस्थापनका लागि सर्वपक्षीय बसेको बैठकले निर्णय भएको जारी सूचनामा भनिएको छ ।

    त्यसका साथै शुभकामना व्यानर, विज्ञापन होडिङ्ग वोर्डहरू मद्यपानजन्य वस्तुहरुको विज्ञापन समेत जथाभावी राख्न नपाउने भएको छ । संघसंस्थाले आफ्नो कार्यालयल भवनमा मात्र शुभकामना व्यानर राख्न पाउने छन भने कुनै पनि मदिराजन्य वा अन्य व्यापार व्यवसायको विज्ञापन समेत गर्न पाउने छैनन् । त्यसो गरेको पाएमा प्रचलित कानुन अनुसार कार्वाही गरिने वडा कार्यालयले जनाएको छ ।

    ‘यस वर्ष जात्राको समयमा कुनै पनि निकायको विज्ञापन तथा प्रचारप्रसार हुने खालका कुनै पनि पोसाकहरू लगाउन निषेध गरिने भएको छ । जात्रा तयारीको लागि बसेको सर्वपक्षीय बैठकले जात्रामा कुनै पनि राजनितीक दल, क्लब, संघ संस्थाहरूले अन्य कुनै पनि निकायको विज्ञापन तथा प्रचारप्रसार हुने खालका कुनै पनि पोसाकहरू लगाउन बन्देज गरिएको व्यहोरा अवगत गराउँदै उक्त जात्रा बखत नेवारी संस्कृती झल्किने मौलिक ड्रेस (दौरा सुरुवाल/हाकु पटासी) लगाइ जात्रालाइ भव्य र सभ्य रूपमा मनाउने निर्णय गरिएको छ ।’ टोखा नगरपालिका २ वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

    त्यस्तै टोखा नगरपालिका ३ वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ- ‘कला, संस्कृतियुक्त, स्वच्छ, समुन्नत टोखाको पहिचान स्वरुप टोखा नगरपालिका वडा नं. २ र ३ मा नयाँ वर्ष २०८१ साल बैशाख १ गतेबाट सुरु हुन लागेको टोखा विस्केट जात्रा व्यवस्थापनको लागि सर्वदलिय बैठकको निर्णयानुसार कम्पनीको लोगो तथा अन्य व्यापारिक विज्ञापनको लागि प्रयोग गरिएको टिसर्ट लगाएत अन्य ड्रेसहरु कोहि कसैले विस्केत जात्रा अवधीभर लगाउन नपाईने र कुनै पनि व्यापारिक कम्पनी, उद्योगको विज्ञापन वोर्ड सार्वजनिक स्थल तथा मुल सडक तथा भित्री सडकहरुमा समेत राख्न नपाईने निर्णय भएको व्यहोरा सवैमा जानकारी गराउँदै उक्त निर्णय पालना गर्न गराउन सामाजिक संघ संस्था, क्लब, द्यःखलःहरुमा हार्दिक अनुरोध गरिन्छ ।’

    Facebook Comments Box