• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१२ असार २०८१, मंगलवार


    बिज्ञापन
  • टोखा नगरपालिकाको बजेट १ अर्ब ७० करोड, कुन योजनामा कति विनियोजन?

    टोखा टाइम्स । टोखा नगरपालिकाले २०८१/८२ को लागि १ अर्ब ७० करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

    नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सोमबार बसेको पन्ध्रौं नगरसभाको बैठकमा उपप्रमुख मुरारी तामाङले आय-व्यायको बजेट प्रस्तुत गरेका हुन्।

    बजेटको चालू खर्चतर्फ ६६ करोड २७ करोड ६० लाख र  पुँजीगत खर्चतर्फ १ अर्ब ३ करोड ७२ लाख ४० विनियोजन गरेको छ।

    आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च मध्ये संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व वाँडफाँडवाट रु. ५8 करोड ६७ लाख ६ हजार, प्रदेश सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडवाट रु. १२ करोड ५८ लाख ७३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रु. २३ करोड,  आन्तरिक एवं अन्य आयवाट रु. ३२ करोड ८८ लाख २१ हजार, जनसहभागिताबाट  ७५ लाख र चालु आर्थिक बर्ष बाट अल्या हुने रकम रु. ४२ करोड बाट व्यहोरिने छ ।

    २०८० जेठ मसान्त सम्म आर्थिक बर्ष २०७९/८० को आन्तरिक आय १९ करोड ४३ हजार रहेकोमा चालु आर्थिक बर्षको जेठ मसान्त सम्म आर्थिक बर्ष २०८०/८१ को आन्तरिक आय २९ करोड ६५ लाख ६० हजार रहेको छ ।जुन, समिक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको भन्दा चालु आर्थिक बर्षको आन्तरिक आय ५६.०५ प्रतिशत बढी हुन आउँछ ।त्यसैगरी चालु आर्थिक बर्षको लागि आन्तरिक आयको संशोधित अनुमान २५ करोड ७२ लाख ७२ हजार रहेकोमा २०८१ जेठ मसान्तसम्म वास्तविक आन्तरिक आय चालु आर्थिक बर्षको लागि संशोधित अनुमान भन्दा १५.२७ प्रतिशत बढी हुन आउँछ ।

    आर्थिक बर्ष २०७९/८० को यथार्थ खर्च ६५.३ प्रतिशत रहेको छ । सम्बन्धित शीर्षकमा विनियोजित रकममध्ये चालु खर्च ७२.९५ प्रतिशत र पुजीगत खर्च ६१.३३ प्रतिशत रहेको छ ।

    चालु आर्थिक बर्ष २०८०/८१ मा कूल आय-व्ययको अनुमान रु. १ अर्व ७५ करोड ६७ लाख ५९ हजार, जसमध्ये चालु खर्च रु. ७१ करोड २५ लाख ४९ हजार अर्थात ४०.५६ प्रतिशत र पुजीगत खर्च रु. १ अर्ब ४ करोड ६० हजार अर्थात ५९.४४  प्रतिशत हुने संशोधित अनुमान रहेकोमा २०८१ जेठ मसान्त सम्म  चालु खर्च रु. ४४ करोड ७३ लाख ५२ हजार अर्थात ६३.७८ प्रतिशत र पुँजीगत खर्च रु. ४८ करोड २३ लाख १ हजार अर्थात ४६.३७ प्रतिशत गरी कूल खर्च ९२ करोड ९३ लाख ५३ हजार अर्थात ५२.९१ प्रतिशत रहेको छ भने सो अवधि सम्मको कूल खर्च मध्ये चालु खर्च ४८.१२ प्रतिशत र पुजीगत खर्च ५१.८८ प्रतिशत हुन आउँछ ।

    बजेटका उद्देश्य र प्राथमिकता

    रोजगारी सिर्जना र गरिबी निवारण गर्नु, स्रोत साधनको सन्तुलित र अधिकतम् परिचालन मार्फत दीगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्नु, सार्वजनिक सेवालाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी वनाउनु, दीगो विकास लक्ष्यको स्थानीयकरण मार्फत दिगो विकास लक्ष्यका सूचकहरु हासिल गर्नु तथा देशलाई विकासशिल तथा मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न योगदान पुर्याउनु बजेटको मुख्य उद्देश्य रहेको छ ।

    उद्यम विकास, संस्कृति परम्पराको जगेर्ना तथा पर्यटन प्रवर्द्धन, करको दरमा पुनरावलोकन तथा दायरा विस्तार मार्फत आन्तरिक राजस्व परिचालनमा बृद्धि, लक्षित बर्गको सशक्तिकरण मार्फत आर्थिक, सामाजिकस्तरमा परिवर्तन , शिक्षा,स्वास्थ्य,सामाजिक सुरक्षा, सूचना प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह तथा सुशासन प्रवर्द्धन र द्वीगो पूर्वाधार निर्माणलाई बजेटको मुख्य प्राथमितकता दिएको छ ।

    आर्थिक बर्ष २०८१/८२ को बजेटका मुख्य मुख्य कार्यक्रम

    • नव उद्यमी सिर्जना तथा विद्यमान उद्यमीको स्तरोउन्नति गर्न लागत साझेदारीमा उद्यमशीलता  प्रविधि हस्तान्तरणको लागि रु. ४० लाख रकम विनियोजन गरेकोछ । 
    • स्थानीय कृषि, उद्यम तथा पशुजन्य उत्पादित वस्तुहरुलाई बजारीकरणका लागि प्रोत्साहन गर्न जनघनत्व हुने स्थानहरुमा कोशेली-घर, स्थानीय उत्पादनको प्रदर्शनी, हाटबजार/रैथाने बजार संचालनको लागि आवश्यक रकम विनियोजन गरेकोछ ।
    • CTEVT र CTEVT वाट सम्बन्धन प्राप्त संस्थाहरुको समन्वयमा निर्धारित पाठ्यक्रममा आधारित सीपमूलक (सीप परीक्षण सहितका) कार्यक्रम संचालनको लागि रु ७५ लाख रकम विनियोजन गरेकोछ ।
    • टोखा चाकुको व्राण्डिङ्ग र चाकु स्तम्भ निर्माणको लागि आवश्यक रकम विनियोजन गरेकोछ ।
    • नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना निर्माणको लागि आवश्यक रकम विनियोजन गरेकोछ । 
    • सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको लागि नेपाल सरकारले  प्रदान गर्ने रकममा रु ५ थप गरी कक्षा १० सम्म अध्ययनरत बालबालिकाहरुलाई रु २५ का दरले हुने गरी मेयर दिवा खाजा कार्यक्रम संचालनको लागि रु. ८५ लाख रकम विनियोजन गरेको छ ।
    • नगर खेलकूद परिषदलाई थप क्रियाशिल बनाई एकद्धार प्रणालीबाट नगरभरीका सम्पूर्ण खेलकूद गतिविधिहरु संचालन र नियमन गरिनेछ । सोको लागि नगरकार्यपालिको निर्णय बमोजिम खर्च हुने गरी खेलकूद कोषमा रु १ करोड रकम विनियोजन गरेकोछ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालनको लागि आवश्यक रकम विनियोजन गरेको छ ।
    •  टोखा नगरपालिका वडा नं. ३ मा रहेको भूतखेल चौरमा नगरस्तरीय खेलकूद मैदान निर्माणको लागि आवश्यक रकम विनियोजन गरेको छ ।
    • गरिव, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आवश्यक रकम विनियोजन गरेको छु । बेसाहारा, अपाङ्ग तथा विपन्न बालबालिका अध्ययनरत मुनाफा रहित विद्यालयहरुलाई दिएको अनुदान कार्यक्रमलाई निरन्तरता दिएकोछ ।
    • वालमैत्री, युवामैत्री तथा वातावरणमैत्री स्थानीय तह घोषणाको पूर्व तयारीका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न आवश्यक रकम विनियोजन गरेकोछ ।
    • सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्राहरूलाई वर्षभरी आवश्यक पर्ने सेनेटरी प्याड वितरण गर्न रु. ५० लाख विनियोजन गरेकोछ ।
    • मेयर दीर्घायू निःशुल्क स्वास्थ्य परीक्षण, दीर्घरोग विरुद्धको अभियानमा मेयरकार्यक्रम तथा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यलाई निरन्तरता दिई आवश्यक बजेट विनियोजन गरेको छ ।
    • सङघीय र प्रदेश सरकारसंगको लागत साझेदारीमा किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको HPV (Human Papilloma Virus Vaccine) खोप लगाउने कार्यको लागि आवश्यक रकम विनियोजन गरेकोछ ।
    • ७५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा निमोकोकल भ्याक्सिन उपलब्ध गराउन ५ लाख रकम विनियोजन गरेकोछ ।  
    • उपमेयरसंग बालबालिका कार्यक्रम मार्फत विद्यालय तहका बालबालिकाको निःशुल्क स्वास्थ्य शिक्षा, पोषण, महिनावारी स्वच्छता र स्वास्थ्य परीक्षण जस्ता कार्यक्रमहरु संचालनको लागि १५ लाख रकम विनियोजन गरेकोछ ।
    • नगरपालिका भरी वर्षभरी संचालन हुने विभिन्न मेला,पर्व,जात्रा, परम्परा तथा संस्कृति संरक्षण, प्रवर्द्धनको लागि   संस्कृति संरक्षण कोषमा रु १ करोड रकम विनियोजन गरेकोछ । 
    • भौतिक पूर्वाधार, सूचना प्रविधि र सेवाप्रवाहसँग सम्बन्धित अध्ययन अनुसन्धान तथा परामर्श सेवाको लागि रु ७५ लाख विनियोजन गरेकोछ ।  
    • नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा संरक्षणको लागि सार्वजनिक जग्गा संरक्षण कोषमा रु. ६० लाख रकम विनियोजन गरेकोछ ।
    • मेयर उज्यालो कार्यक्रम  मार्फत नगरपालिकाभरि सडक बत्ती आवश्यक हुने सार्वजनिक स्थलको पहिचान गरी एकमुष्ट रुपमा सडकबत्ती जडान गर्न रु १ करोड २५ लाख रकम विनियोजन गरेकोछ  । 
    • जनता सुरक्षा कार्यक्रम मार्फत नगरपालिकाभरि सिसिटिभी आवश्यक पर्ने सार्वजनिक स्थान पहिचान गरी एकमुष्ठ रुपमा सिसिटिभी जडान सम्बन्धी कार्यविधि वमोजिम नगरपालिका, वडा कार्यालय वा प्रहरीसंग नियन्त्रण कक्ष रहने गरी सिसिटीभी जडान गर्न रु १ करोड २५ लाख रकम विनियोजन गरेकोछ ।
    • टोखा नगरपालिका प्रवेश गर्ने मुख्य सडकहरुमा सांस्कृतिक प्रवेशद्वार निर्माणको लागि रु. ५० लाख रकम विनियोजन गरेकोछ ।
    • संघ,प्रदेश सरकार तथा अन्य स्थानीय तहसंगको लागत साझेदारी एवं ४० प्रतिशत र ५० प्रतिशत जनसहभागिता  मार्फत आयोजना संचालनको लागि समपुरककोषमा आवश्यक रकम विनियोजन गरेकोछ ।
    • नगरपालिका र नागरिकको लागत साझेदारीमा फोहोर वर्गीकरणको लागि प्रत्येक घरमा डस्टवीन/ कम्पोष्ट बिन वितरण गर्न रकम रु. १ करोड विनियोजन गरेकोछ ।
    • विपद् व्यवस्थापनको लागि त्रिपाल,फायर बल, फायर हाईड्रेन्ट, दमकल लगायत अन्य सामाग्री तथा उपकरणहरु खरिदका लागि आवश्यक रकम विनियोजन गरेकोछ ।
    • कानुन बनाई नगरपालिकालाई सम्पतिकर/ बहाल कर तिर्ने करदातासंगको लागत साझेदारीमा  पारिवारिक स्वास्थ्य बीमा गर्न आवश्यक रकम विनियोजन गरेकोछ ।
    • नियमित रुपमा आन्तरिक लेखापरीक्षण गरी आन्तरिक लेखापरीक्षण प्रतिवेदनबाट देखिएका कैफियतहरुलाई समयमा नै सुधार गरिनेछ । अघिल्ला आर्थिक बर्षहरूको बेरुजुमध्ये नियमित गर्नुपर्नेलाई नियमित गरी असुल उपर गर्नुपर्ने खालको बेरुजु सम्बन्धित व्यक्ति तथा संघसंस्थाहरूसंग नियमानुसार असुल गरिनेछ । अन्तिम लेखापरीक्षणले औल्याउने बेरुजु रकम शून्य हुने गरी आर्थिक कारोवार तथा सोको लेखाङ्कन गरिनेछ ।
    • बजेट कार्यान्वयनको क्रममा आर्थिक कारोवारका सबै क्रियाकलापहरूमा स्वच्छता, जवाफदेहिता, पारदर्शिता, मितव्ययिता, प्रभावकारिता र प्रतिस्पर्धा कायम गर्दै आर्थिक अनुशासनलाई कडाईका साथ पालना गरिनेछ ।
    • आगामी आर्थिक बर्षमा नगरपालिका भित्रका घरहरुमा डिजिटल घर नम्वर वितरण कार्यको लागि सर्वेक्षण तथा सफ्टवेयर निर्माणको कार्य सम्पन्न भइ घर नम्वर वितरणको शुरुवात गरिनेछ । सो को लागि रु. 3 करोड विनियोजन गरेको छ ।
    • नगरपालिका स्थापना भएको दिन मंसिर १६ लाई विभिन्न रचनात्मक क्रियाकलाप संचालन गरी भव्य रुपमा नगर दिवस मनाउन आवश्यक बजेटको व्यवस्था गरेको छ ।
    • वडा समितिवाट सिफारिस भई आएका योजना तथा कार्यक्रमहरुको लागि रु. ३१ करोड विनियोजन गरेको छु ।
    • न्यायीक समितिका विभिन्न क्रियाकलापहरु सन्चालनको लागि आवश्यक रकम विनियोजन गरेको छ ।
    • नगर पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत स्थानीयवासीको माग तथा वडा कार्यालयको सिफारिस अनुसार गुणस्तरीय आयोजना पहिचान गरी कार्यपालिकाको निर्णयानुसार कार्यान्वयन गरिनेछ । सोको लागि रु. १ करोड ५० लाख विनियोजन गरेको छ ।
    • निर्मीत पुर्वाधारको दिगोपनाको लागि नियमित रुपमा मर्मत सम्भारको व्यवस्था गर्न मर्मत सम्भार कोषमा रु. 1 करोड रकम विनियोजन गरेको छ ।
    • नगरपालिका भित्रका विभिन्न खोला, खोल्सी, नदी नियन्त्रणको लागि आवश्यक रकम विनियोजन गरेकोछु ।
    • वडा नं. ३ को भत्केको पुल देखि भिल्ले पन्चेटार हुँदै बखुन्डोल निस्कने सडक स्तरोन्नति/ कालोपत्रे कार्यको लागि रु ३ करोड विनियोजन गरेको छ ।
    • वडा नं. ३ स्थित चख्खु टोलबाट टोखा गेट सम्म सडक स्तरोन्नती/कालोपत्रे कार्यको लागि रु. २ करोड ९५ लाख विनियोजन गरेकोछ ।
    • टोखा नगरपालिका क्षेत्रभित्र पर्ने वडा नं. ११, ८, ६ र ३ हुदै बग्ने बिष्णुमति नदीको करिडोर एवं सरसफाई कार्यको लागि रु २ करोड ९४ लाख विनियोजन गरेको छ ।
    • सामाखुशी टोखा सडकमा पैदलयात्रीको सहजताका लागि सडकपेटी, फल्चा र यात्रु प्रतिक्षालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
    • स्वास्थ्य शाखा मार्फत संचालन हुने कार्यक्रमहरुको लागि रु. ३ करोड २५ लाख, शिक्षा, युवा तथा खेलकूद शाखामार्फत संचालन हुने कार्यक्रमहरुको लागि रु. ३ करोड ५० लाख रकम विनियोजन गरेको छ । कृषि शाखा मार्फत संचालन हुने कार्यक्रमहरुको लागि रु. ८० लाख, महिला तथा वालवालिका शाखा मार्फत संचालन हुने कार्यक्रमहरुको लागि रु. ४० लाख, पशु सेवा शाखा मार्फत संचालन हुने कार्यक्रमहरुको लागि रु. ५० लाख र सहकारी शाखा मार्फत कार्यान्वयन हुने कर्यक्रमको लागि रु. ३० लाख विनियोजन गरेकोछ ।
    • सबै सामुदायिक विद्यालयमा  स्मार्ट बोर्ड राख्ने कार्यको लागि रु. ४० लाख विनियोजन गरेको छ ।
    • विद्यार्थी स्वास्थ्य वीमा कार्यक्रम कार्यान्वयनको लागि रु. २१ लाख ९० हजार  विनियोजन गरेकोछ ।
    • स्थानीय मातृ भाषा ( नेपाल  र तामाङ ) को पाठ्यक्रम विकासको लागि आवश्यक वजेट विनियोजन गरेको छ ।
    •  नगरपालिका भित्रका विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहयोग गर्न विपन्न नागरिक स्वास्थ्य उपचार कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार कोषमा रु. २५ लाख विनियोजन गरेकोछ ।
    •  टोखा नगरमा स्थायी वसोवास गर्ने व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई काजक्रिया खर्च वापत प्रतिव्यक्ति ५ हजार उपलव्ध गराईनेछ । सोको लागि १० लाख रकम विनियोजन गरेकोछ ।  
    • खानेपानी संरचना निर्माण, खानेपानी लाईन विस्तार एवं विभिन्न स्थानमा वुष्टर पम्म जडानको लागि रु. ३ करोड  विनियोजन गरेको छ ।
    • टोखा नगरपालिका वडा नं. २ को चण्डेश्वरी मन्दिर देखि वडा नं. १ को बौंडेश्वर सम्म ग्रेटवाल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
    Facebook Comments Box