• टोखा टाइम्स

    • प्रकाशित मिति:२२ श्रावण २०८१, मंगलवार


    बिज्ञापन
  • हसिना युगको दु:खद अन्त्य

    ‘लोकतान्त्रिक अधिनायकवाद’उन्मुख बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई नागरिक विद्रोहले सत्ताच्युत मात्रै गराएको छैन, देश नै छोडेर भाग्न बाध्य पारेको छ, उनको बहिर्गमनपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरे पनि लोकतान्त्रिक शक्तिका लागि संशय पैदा भएको छ

    २२ श्रावण २o८१ मंगलबार। बंगलादेशमा दुई महिनादेखि जारी नागरिक आन्दोलनले अन्ततः शक्तिशाली प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत मात्रै गरेन, देश छोडेरै भाग्न बाध्य बनाएको छ । नागरिक असन्तुष्टि विस्फोट भएपछि उनी सोमबार राजीनामा दिएर भारत पुगेकी छिन् । हसिनाको बहिर्गमनपछि बंगलादेशको शासनसत्ता सेनाले हातमा लिएको छ । हसिना युगको अन्त्यसँगै नागरिक सरकारको ठाउँमा सेनाले अन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ । 

    सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा गरेको सम्बोधनमा बंगलादेशका सेनाप्रमुख वाकर–उज–जमानले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् । ‘प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,’ उनले भनेका छन् । 

    सन् १९७१ मा जन्मेको बंगलादेश सेनाको जिम्मामा पुगेको छ । तर, कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आफैँले गर्छन् वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने स्पष्ट गरेका छैनन् । ‘देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो,’ उनले सम्बोधनमा भने । 

    बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलता पाएपछि प्रधानमन्त्री हसिना राजीनामा दिन बाध्य भएकी हुन् । आन्दोलनको उभार यति शक्तिशाली भयो कि प्रधानमन्त्रीले राजीनामा दिएर देश छोड्नुपर्ने अवस्था आयो । 

    हसिनाले देशवासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेकी थिइन् । तर, प्रदर्शनकारी निवासमै घुसेपछि त्यसो गर्ने मौकासमेत पाइनन् । प्रधानमन्त्री र उनकी बहिनी सेनाको सहयोगमै सरकारी निवास (गणभवन) छोडेर भारततर्फ रवाना भएका थिए । सुरक्षालाई मध्यनजर गर्दै शेख सरकारी निवासबाट बाहिरिएकी हुन् ।

    आन्दोलनमा प्रहरीको धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै गएको थियो । यसले आन्दोलनमा ऊर्जा मिलेको थियो । सोहीकारण प्रदर्शनकारीले प्रधानमन्त्री हसिनाको राजीनामाको माग बुलन्द पारेका थिए ।

    शेख हसिना लन्डनका लागि त्रिपुरा हुँदै नयाँदिल्ली पुगे पनि बेलायतले राजनीतिक शरण दिने स्पष्ट नभएपछि भारतमै रोकिएकी छिन् । हसिना सोमबार दिउँसो सैनिक हेलिकोप्टरबाट सीमावर्ती भारतीय सहर त्रिपुरा प्रस्थान गरेकी थिइन् । देश छोडेर भारतको दिल्ली पुगेकी निवर्तमान प्रधानमन्त्री हसिनालाई हवाई अड्डामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भेटमा भएको विस्तृत विवरण सार्वजनिक भएको छैन । 

    बंगलादेशमा हसिना युगको अन्त्यसँगै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)की अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया सोमबार साँझ रिहा भएकी छिन् । उनलाई तत्कालै रिहा गर्न राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आदेश दिएका छन् । अन्तरिम सरकार गठनका लागि यो कदमले सहजीकरण हुने विश्वास लिइएको छ । 

    बंगलादेशमा शक्तिशाली प्रधानमन्त्रीका रूपमा यही वर्ष तेस्रो कार्यकाल सुरु गरेकी हसिनालाई आइरन लेडीका रूपमा लिइन्थ्यो । शक्तिशाली प्रधानमन्त्री हसिनाको बहिर्गमनसँगै प्रदर्शनकारीहरूले राजधानी ढाका र देशैभरि विजयोत्सव मनाएका थिए । विजय मनाउने क्रममा ढाकामा प्रधानमन्त्री निवास, संसद् भवन, मन्त्रीहरूको घर तथा राष्ट्रपिता शेख मुजिबुर रहमानका सालिकहरू पनि प्रदर्शनकारीले ढालेका छन् । 

    देश छोडेसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ । विद्यार्थीले आरक्षण प्रणाली खारेजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ तथा मृतकका परिवारलाई क्षतिपूर्तिसहितका माग राख्दै सरकारविरुद्ध असहयोग आन्दोलन गर्दै आएका थिए । प्रधानमन्त्री हसिनाले सुरुमा आन्दोलनकारीलाई बेवास्ता गरेकी थिइन् । तर, उनले आइतबार वार्तामा बोलाए पनि आन्दोलनकारीले हसिनाको राजीनामा माग्दै आन्दोलन चर्काए । सोमबार देशव्यापी आन्दोलन चर्किएपछि हसिनाले देशवासीका नाममा भिडियो सन्देश पनि जारी गर्न नपाउँदै देश छोडेकी थिइन् । 

    असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९८ जनाले ज्यान गुमाएका थिए । हसिनाले बंगलादेशमा आन्दोलन आतंककारीहरूले गरेको र यसको उद्देश्य देशलाई अस्थिरतामा लैजान खोजिएको आरोप लगाएकी थिइन् ।

    सोमबार चार लाखभन्दा बढी प्रदर्शनकारीले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको घर र कार्यालय घेराउ गरेका थिए । विद्यार्थी आन्दोलन सुरु भएको ६१ दिनमा कम्तीमा पनि तीन सयजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् । हालसम्म कम्तीमा ११ हजारजना प्रदर्शनकारी विद्यार्थी र राजनीतिक कार्यकर्ता गिरफ्तारीमा परेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । 

    बंगलादेशको घटनाक्रमबारे भारतको सुरक्षासँग सम्बन्धित क्याबिनेट बैठक बसेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निवास सात लोककल्याणमार्गमा बसेको बैठकमा बंगलादेशको परिस्थितिले भारतमा पर्न सक्ने सुरक्षा प्रभाव, बंगलादेशी हिन्दुहरूको सम्भावित विस्थापन, दुई देशको सम्बन्ध, नयाँ सरकारलगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हसिना भारतको विश्वासयोग्य पात्र थिइन् । 

    हसिनाले अघिल्लो महिना (७ र ८ असार)मा भारतको राजकीय भ्रमण गरेकी थिइन् । उनले जुलाई दोस्रो साता चीनको औपचारिक भ्रमण पनि गरेकी थिइन् । 

    बुबाको नियति दोहोरिएन, सकुशल रहिन् शेख
    १९७५ मा सैन्य ‘कु’को वेला शेख मुजिबुर रहमानसहित उनका परिवारका अधिकांश सदस्यको हत्या गरियो । मात्र शेख हसिना र उनकी कान्छी बहिनी बाँच्न सफल भए, किनभने उनीहरू त्यसवेला विदेशमा थिए । शेख मुजिबुर रहमानले १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनाए । र, उनी प्रथम राष्ट्रपति भए । 

    शान्त र बलियो मानिने शेख बंगलादेशका प्रथम राष्ट्रपतिकी छोरी हुन् । राजनीति उनले विरासतमा पाएकी हुन् । भारतमा निर्वासित जीवन बिताएपछि शेख १९८१ मा बंगलादेश फर्किइन् । र, आफ्नो पिताको राजनीतिक दल अवामी लिगको नेता बनिन् । जनरल हुसेन मुहम्मद इरसादको सैन्य शासनका विरुद्ध उनले अन्य राजनीतिक दलसँग मिलेर प्रजातन्त्रका लागि सडकसंघर्ष गरिन् । यो आन्दोलनले शेखलाई बंगलादेशको आइकन बनाइदियो । 

    उनी सबैभन्दा पहिला १९९६ मा चुनिएर सत्तासम्म पुगिन् । तर, आफ्नो राजनीतिक सहयोगीबाट प्रतिद्वन्द्वी बनेकी बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी)की बेगम खालिदा जियासँग २००१ मा चुनाव हारिन् । राजनीतिक परिवारको पृष्ठभूमिका बलमा यी दुई महिला बंगलादेशको राजनीतिमा ३० वर्ष हाबी भए । 

    शेख २००९ मा फेरि सत्तामा फर्किइन् । यो चुनाव कार्यवाहक सरकारको निगरानीमा भएको थियो । उनीमाथि कैयौँपटक हमला भए । २००४ मा भएको हमलामा उनको सुन्ने शक्तिमा क्षति पुग्यो । उनी भ्रष्टाचारको मुद्दामा पनि परिन् । तर, उनले विपक्षीमाथि व्यापक दमनको नीति अवलम्बन गरिन् । 

    अहिले उनको अवस्था जसरी कमजोर बन्यो, यसअघि कहिल्यै यस्तो देखिएको थिएन । विद्यार्थी आन्दोलनलाई विपक्षी र सरकारविरोधी सबैको समर्थन रह्यो । बंगलादेशको सर्वोच्च अदालतले विद्यार्थीको आरक्षणसम्बन्धी माग त पूरा गर्‍यो, तर सत्ताविरुद्ध सडकमा असन्तोष रोकिएन । 

    आरक्षणबाट उठेको असन्तोषले उनलाई सत्ताच्युत बनायो । सरकारी निवास प्रदर्शनकारीको नियन्त्रणमा आयो । बुबाको जस्तो नियति भएन, सकुशल देश छोडिन् । सैन्य ‘कु’मा उनले बुबा गुमाएकी थिइन् । सम्भवतः उनलाई चाहिँ सेनाकै सहयोगमा देशबाहिर निस्कन सम्भव भयो । 

    अत्यन्तै निराशाका साथ हसिनाले बंगलादेश छोडेको उनका राजनीतिक सल्लाहकारसमेत रहेका छोरा सजिव बाजेद जोयले बताएका छन् । हसिना पारिवारिक दबाबपछि अत्यन्तै चिन्तासाथ देश छोडेर गएको छोरा जोयले बिबिसीलाई बताएका छन् । ‘उहाँले एउटा गरिब देशबाट बंगलादेशलाई एसियाको उदाउँदो बाघ (राइजिङ टाइगर) बनाउनुभयो । यो यथार्थलाई बिर्सन मिल्दैन,’ उनले भनेका छन् । 

    विद्रोहका ६१ दिन : कम्तीमा ३०० को ज्यान गयो, प्रधानमन्त्री देशबाटै लखेटिइन्
    गत २३ जेठमा उच्च अदालतले स्वतन्त्रता सेनानीका सन्तानलाई निजामती सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने आदेश दिएसँगै बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । लगत्तै त्यहाँका प्रमुख विश्वविद्यालयहरूमा आरक्षणको विरोधमा विद्यार्थीले शान्तिपूर्ण प्रदर्शन गरे, तर सरकारले सुनुवाइ गरेन । १७ असारमा विश्वविद्यालयका विद्यार्थीले सडक र रेलमार्ग अवरोध गर्दै आन्दोलन चर्काए । आरक्षण हटाउने विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री शेख हसिनाले गम्भीर रूपमा लिइनन् । बरु आन्दोलन गरेर विद्यार्थीले व्यर्थमा समय खेर फालेको आरोप लगाइन् । जसले आन्दोलनमा ‘आगोमा घिउ’ थपेझैँ गर्‍यो । २६ असारमा विद्यार्थीले ढाका विश्वविद्यालयमा ठूलो प्रदर्शन गरे । २८ असारमा शेख हसिना नेतृत्वको अवामी लिगसम्बद्ध छात्र लिगका सदस्यले प्रदर्शनकारी विद्यार्थीमाथि उल्टै हमला गरे । यसले तनाव झन् बढायो । 

    भोलिपल्ट २९ असारमा विद्यार्थीले कडा प्रतिरोध प्रदर्शन गरे । उनीहरूले ढाकाको राजशाहीस्थित रेलमार्ग अवरुद्ध पारे । ढाका विश्वविद्यालयमा प्रदर्शनकारीले पत्रकार सम्मेलन गरेर आन्दोलन दबाउने षड्यन्त्र भएको भन्दै नरोक्ने चेतावनी दिए । सरकार हस्तक्षेप गरेरै आन्दोलन दबाउने योजनासहित अघि बढ्यो । ३० असारमा सरकारले ढाका विश्वविद्यालय क्षेत्रमा इन्टरनेट नेटवर्कको फोरजी सेवा बन्द गर्न आदेश दियो । राति छात्र लिगका नेता तथा अन्य केही नेताले प्रदर्शनकारी विद्यार्थीमाथि आक्रमण गरे । जसमा १३ विद्यार्थी घाइते भए । भोलिपल्ट पनि छात्र लिगका कार्यकर्ताले प्रदर्शनकारी विद्यार्थीमाथि आक्रमण गरे । ढाका मेडिकल कलेजबाहिर भएको झडपमा करिब तीन सयजना घाइते भए । 

    ढाका, चिटगाउँ र रंगपुरमा १ साउनमा भएको प्रदर्शनका क्रममा प्रहरी तथा सत्तारूढ लिगका कार्यकर्तासँगको झडपमा ६ प्रदर्शनकारी विद्यार्थीको मृत्यु भयो । भोलिपल्ट उनीहरूको अन्तिम संस्कारका वेलामा पनि प्रहरीले हस्तक्षेप गर्‍यो । झडप भयो ।  प्रदर्शनकारीले ३ साउनमा तानासाहको अन्त होस् भन्ने नारा लगाउँदै सरकारी टेलिभिजन तथा दर्जनौँ सरकारी भवनमा आगजनी गरे । त्यसपछि सरकारले इन्टरनेट बन्द गर्‍यो । त्यसपछिको झडपमा प्रहरीको आक्रमणमा कम्तीमा ३२ जना प्रदर्शनकारीको मृत्यु भयो । सरकारले कर्फ्यु लगायो र सेना परिचालन गर्‍यो । तर, विद्यार्थी प्रदर्शन रोकिएन । 

    ४ साउनमा सरकारले देशव्यापी कर्फ्यु आदेश जारी गरेर सेना परिचालन गरे पनि प्रदर्शनकारीले आन्दोलन जारी राखे । त्यसक्रममा भएको झडपमा कम्तीमा ६६ जनाको मृत्यु भयो ।  यसैगरी, ५ साउनमा पनि कर्फ्यु तोड्दै विद्यार्थी प्रदर्शनमा उत्रिए । प्रहरी आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भयो । 

    सर्वोच्च अदालतले ६ साउनमा भन्यो कि जागिरमा आरक्षण पुनः लागू गर्ने उच्च अदालतको फैसला गैरकानुनी छ । विद्यार्थीहरूको विरोध जे विषयमा थियो, त्यसको पक्षमा सर्वोच्चको फैसला सार्वजनिक भयो । फैसलापूर्व त्यही दिन प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भयो । 

    सूचना तथा प्रसारण राज्यमन्त्रीले ८ साउनमा  बैंक, व्यापारिक घराना, निर्यात क्षेत्र तथा केही सीमित क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा नियमित गर्ने घोषणा गरे । ९ साउनमा इन्टरनेट सेवा सबै क्षेत्रमा सुरु भयो । 

    विद्यार्थीहरूको प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिना पहिलोपटक १० साउनमा सार्वजनिक कार्यक्रममा देखिइन् । प्रदर्शनकारीले क्षति पुर्‍याएको मेट्रो रेलको उनले अवलोकन गरिन् । 

    हसिना ११ साउनमा ढाका मेडिकल कलेज भ्रमणमा गइन् । उनले पोंगु अस्पतालमा १२ साउनमा भ्रमण गरिन् । त्यसपछि १३ साउनमा बंगलादेशमा इन्टरनेट सेवा पुनस्र्थापित भयो । 

    प्रदर्शनका क्रममा करिब नौ हजार विद्यार्थी तथा आन्दोलनकारी पक्राउ परेका थिए । उनीहरूको रिहाइका लागि भएको माग सुनुवाइ नभएपछि १४ साउनमा प्रदर्शनकारीले रिहाइको माग गर्दै देशका विभिन्न क्षेत्रमा ठूला प्रदर्शन गरे । सरकारले थप दुई हजार प्रदर्शनकारीलाई ढाकाबाट गिरफ्तार गर्‍यो । 

    बंगलादेशको मन्त्रिपरिषद्  बैठकबाट प्रधानमन्त्री हसिनाले १४ साउनमा आरक्षण सुधार आन्दोलनमा मारिएकाको सम्झनामा १५ साउनमा देशव्यापी शोक मनाइने घोषणा गरिन् । प्रदर्शनकारीको सम्झनामा नभएर सरकार समर्थित समूहको मृत्युमा शोक मनाउने उनको घोषणाको चौतर्फी विरोध भयो । मारिएका विद्यार्थीहरूमाथि न्याय नभएसम्म राष्ट्रिय शोक हुन नसक्ने प्रदर्शनकारी विद्यार्थीहरूको भनाइ थियो । 

    विद्यार्थीहरूले १६ साउनमा देशव्यापी विरोध गरे । उनीहरूले न्यायका लागि मार्च भन्दै भेदभावविरुद्ध विद्यार्थी आन्दोलनको ब्यानरमा विरोध प्रदर्शन गरे । गिरफ्तारी, आक्रमण, हत्या, बेपत्ताको विरोधमा उनीहरूको विरोध थियो । सरकारले जमात शिविर नामक संगठनलाई प्रतिआतंकवाद ऐनअन्तर्गत प्रतिबन्ध लगायो । 

    प्रदर्शनकारीहरूले १८ साउनमा विद्यार्थी नेताहरूको रिहाइपछि प्रहरीको आक्रमणमा परेका पीडितहरूमाथि न्यायको माग गर्दै विरोध गरे । उनीहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिन तथा देशभरि विश्वविद्यालय तथ विद्यालय खोल्न माग गर्दै आन्दोलन गरे । त्यसक्रममा देशका विभिन्न भागमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रहरीले रबरका गोली र टियर ग्यास फाल्यो । 

    प्रधानमन्त्री हसिनाले १९ साउनमा प्रदर्शनकारीलाई वार्तामा आउन आग्रह गरिन् । उनले आरक्षणविरोधी आन्दोलनकारीसँग वार्तामा बसेर समाधान खोज्न तयार भएको अनुरोध गरिन् । तर, वार्ता हुन सकेन । प्रदर्शन पनि रोकिएन ।

    २० साउनमा हजारौँ प्रदर्शनकारी र सरकार समर्थकबीच झडप भयो । कम्तीमा पनि ९८ जनाको मृत्यु भयो, जसमध्ये १४ जना प्रहरी थिए । 

    सरकारविरुद्ध प्रदर्शनले ठूलो आकार लियो । प्रदर्शनकारीले प्रधानमन्त्रीको निजीनिवास घेराउको योजना बनाए । लगत्तै, २१ साउनमा प्रधानमन्त्री शेख हसिनाले भिडियो सम्बोधनसमेत रेकर्ड गर्न नपाई देश छाडिन् । उनी सोमबार (२१ साउनमा) दिउँसो सेनाको हेलिकोप्टरबाट भारतको सीमावर्ती त्रिुपरा राज्य हुँदै साँझ भारतको राजधानी दिल्ली पुगेकी छिन् । 

    राजीनामा दिएर हसिना भागेपछि सेनाले शासन हातमा लिएको घोषणा गरेको छ । प्रदर्शनकारीलाई शान्त रहन सेनाले अनुरोध गरेको छ । साथै, सेनाले उनीहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ । 

    अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कयौँ सर्वसाधारण रहेको स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् । 

    हसिनाको डेढ दशकको अविराम सत्तायात्रामा दु:खद विराम : बहुमतको दम्भमा विपक्षीमाथि दमन गर्दा आफैँ बढारिइन्

    दक्षिण एसियाली मुलुक बंगलादेशको विश्वसनीय आर्थिक प्रगतिको श्रेय पाएकी प्रधानमन्त्री शेख हसिना सन् २००९ देखि सत्तामा थिइन् । उनी सबैभन्दा लामो समय (१५ वर्ष) सत्तामा रहेकी दक्षिण एसियाली नेतृ हुन् । पछिल्लो चुनावमा उनी नेतृत्वको अवामी लिगले प्रत्यक्ष निर्वाचन भएका २९९ मध्ये २२३ सिट जितेको थियो । ३५० सदस्यीय बंगलादेशी संसद्मा उनको पार्टीका मात्रै २७२ सांसद छन् । शेख हसिनाले लगातार चारवटा आमनिर्वाचन त जितिन्, तर त्यसको निष्पक्षतालाई लिएर अन्तर्राष्ट्रिय समुदायले सधैँ आवाज उठाइरह्यो । 

    विश्लेषकहरू मान्छन् कि बंगलादेशको प्रगतिमा हसिनाको हात छ । कुनै समय अस्थिर राजनीति भएको देश उनकै नेतृत्वमा दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने देशका रूपमा स्थापित भएको छ । तर, उनमा बहुमतको दम्भले तानासाही प्रवृत्ति बढ्दै गएको थियो । आलोचकहरू त उनलाई ‘लोकतान्त्रिक तानासाह’समेत भन्न थालिसकेका थिए । यद्यपि, लगातार बढिरहेको तानासाही सोचकै कारण उनले देशको प्रगति गरेकी हुन् भन्ने मान्यता राख्नेहरू पनि छन् । ७६ वर्षीया हसिनाले प्रधानमन्त्रीका रूपमा चीन र भारतसँग सम्बन्ध सन्तुलित बनाएकी थिइन् । उनीमाथि कैयौँपटक हमलाको प्रयास भए । मानव अधिकार हनन मुद्दामा पनि उनले धेरैपटक प्रदर्शनको सामना गर्नुपरेको थियो । 

    बंंगलादेशले वार्षिक ५५ अर्ब डलरको गार्मेन्ट निर्यात गर्दै आएको छ । २०१५ मा निम्नमध्यम आय भएको मुलुक रहेकामा सन् २०३१ मा प्रतिव्यक्ति आय चार हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य थियो । २०४१ मा विकसित मुलुक बन्ने महत्वकांक्षा थियो । नयाँ परिवर्तनसँगै यो महत्वकांक्षा के हुन्छ, स्पष्ट छैन । 

    नेपालमा पनि सुरक्षा उच्च सतर्कता बढाइयो 
    बंगलादेशको राजनीतिक उथलपुथलबाट नेपालको सुरक्षामा समेत असर पर्न सक्ने आकलन गरी सुरक्षा निकायले सतर्कता बढाएका छन् । सीमा क्षेत्रमा गस्ती बढाइएको छ भने विदेशबाट आउनेहरूमाथि निगरानी बढाउन थालिएको छ । बंगलादेशको घटनालाई मध्यनजर गरी सोमबार गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठक बसेर यस विषयमा समीक्षा भएको छ । यो घटनापछि बंगलादेशी नागरिकहरू भारत हुँदै नेपाल प्रवेश गर्न सक्ने भएकाले खासगरी पूर्वी सीमानाकामा गस्ती बढाउन गृहले निर्देशन दिएको छ ।

    बंगलादेशमा रहेका करिब चार सय नेपाली विद्यार्थी सुरक्षित : दूतावास
    ढाकास्थित नेपाली दूतावासका अनुसार अहिले बंगलादेशमा करिब चार सय नेपाली विद्यार्थी छन् । उनीहरू सुरक्षित रहेको बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बताए । सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन सोमबार दूतावासले सूचना जारी गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार राजदूत भण्डारीलाई टेलिफोन गरेर स्थितिबारे जानकारी लिएकी थिइन् । 

    सबै नागरिक दैनिकबाट

    Facebook Comments Box