कार्तिक ९, टोखा । नेपाल संवत् ११४५ न्हूदँ (नयाँ वर्ष)को अवसरमा टोखामा मौलिक नेवाः नृत्य प्रतियोगिता हुने भएको छ ।
नेवाः गुथि तोखाको आयोजनामा टोखामा मौलिक नेवाः सामुहिक नृत्य प्रतियोगिता आयोजना हुने भएको हो । आउँदो कार्तिक १७ गते नेपाल संवत् ११४५ न्हूदँ (नयाँ वर्ष)को प्रारम्भको अवसरमा हुने बृहत् भिंतुना सांस्कृतिक ऱ्यालीका साथै विविध कार्यक्रममा उक्त मौलिक नेवाः नृत्य प्रतियोगिताको आयोजना गरिने नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले बताए ।
‘नेपाल सवंत्को नयाँ वर्षको स्वागतार्थ नेवाःगुथि तोखाको आयोजनामा वर्षेनी बृहत् स्वागत भिंतुना सांस्कृतिक र्यालीका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आइरहेका छौं । हरेक वर्षमा झैं यस वर्ष पनि बृहत् भिंतुना सांस्कृतिक कार्यक्रममा ‘उत्तरी भेगयी मौलिक नेवाः सामुहिक नृत्य प्रतियोगिता’को आयोजना गरिने लागेका छौं ।’ गुथिका अध्यक्ष नापितले बताए ।
काठमाडौंको उत्तरी भेग तोखा लगायत गोङ्गबु, धापासी, दथु गां (धर्मपुर), भुईजसी (बुठानिलकण्ठ), वसकु, चुनिखेल, गाम्चा, फुसिख्यः (फुटुङ) मनमैजु, धमाथु (धर्मस्थली) का बीच नृत्य प्रतियोगता हुनेछ । प्रतियोगितामा सहभागी हुने खलः, समूह, संघसंस्थाले कार्तिक १५ गते बिहिवारसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । साथै सान्त्वना पुरस्कारको समेत व्यवस्था रह्ने गुथिका अध्यक्ष नापितले जानकारी दिए ।
भिंतुना सांस्कृतिक ऱ्याली नेपाल संवत् ११४५ कछलाथ्व पारु (२०८१ कार्तिक १७ गते) शनिबार बिहान ०७:३० बजे थनेलाछिबाट शुरू हुनेछ भने सांस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम बिहान ११:०० बजेदेखि थनेलाछि दबु:मा हुनेछ ।