• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३० चैत्र २०८१, आईतवार


    बिज्ञापन

    राष्ट्रवादी ट्याक्सी व्यवसाय संघद्वारा ८२ सालको शुभकामना भेला सम्पन्न

    काठमाडौँ, १२ चैत्र २०८१

    राष्ट्रवादी ट्याक्सी व्यवसाय संघले आज टोखा नगरपालिका वडा नं ८ को जालपादेवी स्थानमा एक भव्य शुभकामना भेला सम्पन्न गरेको छ। नववर्ष २०८२ को पावन अवसरमा आयोजित यस भेलामा ट्याक्सी व्यवसायसँग सम्बन्धित विविध पक्षका समस्या, समाधान र भविष्यको कार्ययोजनाबारे गहिरो छलफल गरिएको थियो।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा कुसलभ केसी सहभागी हुनुहुन्थ्यो भने अन्य विशिष्ट अतिथिहरूमा पुस्तकालय अध्यक्ष नरबहादुर बीसी, ट्याक्सी व्यवसायी हिरा पोखरेल, पत्रकार हिक्मत डंगोल, पूर्व वडा अध्यक्ष जेपी नेपाल, पुर्व वडा सदस्य निशा पाण्डे, सचिव गोपाल योगी, अध्यक्ष सुनील श्रेष्ठ, गोपाल अतिथि, नवराज घिमिरे, संजीव तामाङ, विकास तथा हालका काठमाडौं इन्चार्ज सुरेन्द्र उप्रेतीलगायतको उपस्थिति रहेको थियो।

    रगत संकलनको उल्लेखनीय कार्य:

    कार्यक्रममा दुई महिनाअघि ट्याक्सी व्यवसायीहरूले A+ रगत संकलन गरेर विभिन्न अस्पतालहरूमा निशुल्क वितरण गरेको सामाजिक उत्तरदायित्वको पनि चर्चा भयो। “हामीसँग रगत छ, समस्या परे सम्झनुहोस्” भन्ने सन्देशसहित एकताको भाव प्रस्तुत गरिएको थियो। ब्लड बैंक निर्माणको प्रस्ताव समेत अघि सारियो।

    चालकहरूको पीडा र माग:

    कास्कीबाट आएर लामो समयदेखि ट्याक्सी व्यवसायमा लागेका भीमराज रानाभाटले “राज्यले हाम्रो आवाज सुन्नुपर्छ” भन्ने आग्रह गरे। सुदीप ढुंगानाले व्यवसायको खस्कँदो अवस्था र ट्राफिकबाट हुने पीडाबारे गुनासो गरे। “हामीलाई पनि सम्मानपूर्वक हेर्नुपर्छ,” उनले भने।

    वित्तीय संस्थामा संलग्न युवराज अर्यालले ट्याक्सी चालकहरूलाई मिलेर सहकारी संस्था खोल्न सुझाव दिए भने अमर पण्डितले ट्याक्सी व्यवसायको दयनीय अवस्था चित्रण गरे– “कमिसनले डुबायो, कालो प्लेटलाई बेवास्ता गरिएको छ।”

    व्यवस्थापनको अपुग र राज्यसँगको दूरी:

    पूर्व वडा अध्यक्ष जेपी नेपालले ट्याक्सी मिटर प्रणाली नमानिने र भाडा असन्तुलनबारे चिन्ता व्यक्त गर्दै भने, “राज्यसँग ट्याक्सी व्यवसायको पहुँच छैन, कानुन कमजोर छ, क्षमता विकासमा जोड दिनुपर्छ।”

    कुसलभ केसीको स्पष्ट सन्देश:

    प्रमुख अतिथि कुसलभ केसीले ट्याक्सी व्यवसायीहरूका समस्याहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भने, “मैले पीपलको बोट जोगाएको छु, अब तपाईँहरूले पनि आफ्नो व्यवसाय जोगाउन सचेत र संगठित हुनुपर्छ।” उनले थपे, “राजनीतिक रंग नछरौँ, एकता नै बल हो। यदि अन्याय भयो भने मलाई सम्झनुहोस्, म डराउँदिन।”

    समाप्तिमा,

    हिरा पोखरेलले यस्तो जमघट हरेक दुई-तीन महिनामा गर्नुपर्ने सुझाव दिँदै, “समाज र व्यवसाय दुबैको समृद्धिको लागि सकारात्मक सोच र समीक्षा आवश्यक छ,” भने।

    कार्यक्रमका सहभागीहरूले ट्याक्सी व्यवसायलाई पुनर्जीवित गर्न सरकारसँग स्पष्ट नीति र व्यवहारिक समाधान माग गरेका छन्।

    Facebook Comments Box