सत्यनारायण डंगोल, टोखा टाइम्स । अहिले थाइल्याण्ड र कम्बोडियाको बिचमा युद्ध शुरु भएको छ । धेरै जनामा यस युद्धलाई लिएर चिन्ता, आशङ्का र थुप्रै कौतुहल छन् ।
विवादको जड
हाल सम्मको इतिहास हेर्दा थाईल्याण्ड र कम्बोडिया बिचको विवादको केन्द्रमा सधैं एउटा मन्दिर खास हुनेगर्छ- लाओस र यी दुई देश समेतको त्रिदेशीय सीमा बिन्दु स्थित प्राचीन शिव मन्दिर प्रेआह विहेअर (Preah Vihear) मन्दिर र यसै मन्दिर क्षेत्रको तनाव बल्झिएर अहिले यसले पुनः अन्तर्राष्ट्रिय ध्यान तानेको छ । दुई देशको लामो सीमा क्षेत्रमा यो बाहेक अरू पनि केही मन्दिरहरू छन् र ती कुनै विवाद बाहिर छैनन् तापनि मुख्य मुद्दा प्रेआहबारे नै देखिन्छ । वास्तवमा यो मन्दिर क्षेत्र एक धार्मिक स्थल मात्र नभई दुई राष्ट्रको इतिहास, स्वाभिमान, भू-राजनीति र औपनिवेशिक घाउको प्रतीक बनेको छ । सन् ११ औं शताब्दीमा खमेर साम्राज्यले बनाएको यो मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । तर, दुखको कुरा, यसको स्वामित्व र पहुँचको विवादले पछिल्लो दशकमा बारम्बार सशस्त्र झडप सम्म निम्त्याएको छ ।
ऐतिहासिक पृष्ठभूमि
उहिले थाईल्याण्ड र कम्बोडिया एउटै खमेर साम्राज्य थिए समस्या थिएन । इतिहासमा लामो समय नाग र अनेक जातिका राजपाट चल्दै आए । पछि अलग अलग भएपछि १९०७ सम्म फ्रान्सेली उपनिवेशकालीन नक्शामा प्रेआह विहेअर कम्बोडियाको भूभागभित्र देखाइएको थियो । १९६२ मा अन्तर्राष्ट्रिय अदालत (ICJ) ले पनि यो मन्दिर कम्बोडियाकै भएको फैसला गर्यो । तर थाईल्याण्डले उक्त फैसलामा असहमति जनाउँदै सीमाको नक्सा विवादलाई कायमै राख्यो । मुख्य विवाद मन्दिर वरपरको ४.६ वर्गकिलोमिटरको भूमि हो, जहाँ थाई सैनिकहरूको समेत उपस्थिति छ ।
ल्याण्डमाइन र सशस्त्र द्वन्द्व
यो क्षेत्र खासमा विगतमा कम्बोडियाको खमेर रूज र गृहयुद्धको घाउ बोकेको भूमि हो । यहाँ अझै पनि हजारौं भूमिगत बम (land-mines) छन् जसले सर्वसाधारण र सैनिक दुवैलाई बेलाबेलामा खतरा पुर्याउँछन् । सन् २००८, २०११ र पछिल्लो पटक २०२४ मा सशस्त्र झडप हुँदा दर्जनौं सैनिकको मृत्यु भएको र सयौं स्थानीय नागरिकहरू विस्थापित भएका थिए ।
प्रधानमन्त्रीको निलम्बन र आन्तरिक राजनीति
यसपटक त्यस्तै ल्याण्डमाइन विष्फोट र दोहोरो हानाहान चल्दा थाई प्रधानमन्त्री सेठा थाभिसिन ले हालै कम्बोडियासँगको वार्तालाई प्राथमिकता दिँदै विवाद समाधान गर्ने प्रयास गरेकी थिइन् । उनले पारिवारिक निकटताको कारणले कम्बोडियाका पूर्वनेता हुनसेनलाई “काका” भन्दै गरेको संबोधन र त्यसमा प्रयोग भएको भाषाको विषयलाई लिएर केही सैनिक पक्षीय नेताहरूले उनलाई राष्ट्रघाती ठहर्याउने प्रयास गरे । अन्ततः थाई अदालतले उनलाई पदीय अधिकारको दुरुपयोगमा अनुसन्धान गर्दै पदबाट निलम्बन गर्यो, जसले आन्तरिक अस्थिरता झनै बढायो ।
पश्चिमाहरूको चासो र प्रभाव
यस क्षेत्रमा चीन, अमेरिका र युरोपेली सङ्घको दृष्टि गढेको छ । चीनले बेल्ट एण्ड रोड (BRI) मार्फत भौतिक संरचना निर्माण र सुरक्षा सहयोगको प्रस्ताव गर्दै आएको छ भने अमेरिका इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत थाई-कम्बोडिया सम्बन्धलाई परिभाषित गर्न चाहन्छ । फ्रान्स र युनेस्कोजस्ता संस्थाहरू मन्दिरको संरक्षण र सम्पदा व्यवस्थापनमा संलग्न देखिए जसो गर्छन् । उनीहरूका पनि आ-आफ्ना अघोषित उद्देश्यहरू छन् ।
निष्कर्ष
निष्कर्षमा यतिमात्र भन्न सकिन्छ, प्रेआह विहेअर केवल एक मन्दिर मात्र नभएर सधैं राष्ट्रिय अस्मिता, ऐतिहासिक घाउ र शक्ति सन्तुलनको चौबाटो बनेको छ । जब एउटा धार्मिक सम्पदा सैनिक मोर्चा बन्छ, तब युद्धले केवल भौगोलिक सीमामा मात्र नभई सांस्कृतिक चेतनामा समेत चोट पुर्याउँछ. थाईल्याण्ड–कम्बोडिया मन्दिर विवाद केवल सीमाको विषय होइन, इतिहासको उल्झन, राजनीतिको खेल, भू-रणनीतिक प्रतिस्पर्धा र विश्व सम्पदाको संरक्षण सङ्ग गाँसिएको बहुपक्षीय चुनौती हो । त्यसैले दुवै मुलुकले ऐतिहासिक निर्णयको सम्मान गर्दै द्विपक्षीय संवाद र शान्तिपूर्ण समाधानमा उन्मुख हुन जरुरी छ । नत्र इतिहास फेरि बारुद बनेर दोहोरिन सक्ने संभावनालाई इन्कार गर्न सकिन्न ।