टोखा टाइम्स, मंसिर २८ । भक्तपुरको नवदुर्गा देवगण (ङालाकेगु) नाच सोमबारदेखि टोखामा प्रदर्शन हुने भएको छ । टोखा र भक्तपुर बीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने नाचको रुपमा रहेको नवदुर्गा देवगण नाच भोलि सोमबारदेखि बुधबारसम्म टोखामा प्रदर्शन हुने भएको हो ।
तान्त्रिक विधिबाट शरीरमा देवशक्ति प्रतिष्ठापन भएको अनुभूति गरी नाचिने भक्तपुरको ऐतिहासिक एवं साँस्कृतिक महत्त्वको नवदुर्गा देवगण (ङालाकेगु) को नाच प्रत्येक वर्ष यःमरी पुन्हि लगतै टोखामा प्रदर्शन गर्ने प्रचलन अनुरुप टोखा नगरपालिकाको आर्थिक सहयोगमा टोखा नगरपालिलका – २ र ३ वडा कार्यालयको संयुक्त आयोजनामा टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समिति र नेवा गुथि तोखाको संयुक्त व्यवस्थापनमा भोलि सोमबारदेखि बुधबारसम्म (मंसिर २९ देखि पुस १ र २ गतेसम्म) ऐतिहासिक साँस्कृतिक नगरी टोखाको थनेलाछीमा हुने छ ।
सोमबार दिउँसो विभिन्न प्रकारका पकवान सहित विष्णुमति खोलामा गएर ससम्मान टोखामा देवगणहरुलाई स्वागत गरी टोखामा भित्र्याइने छ । गणेश मन्दिर परिसरमा पुगि देवगणहरु आफ्ना पोशक तथा आभुषण पहिरी नाच सहित नगरपरिक्रमा गर्नेछन् ।सोही दिन तलेजु गुठीबाट तलेजु परिसरमा देवगणलाई विशेष पूजाआजा गरिन्छ । तलेजु गुठीबाट देवगणलाई बहान बलिदिनु पर्ने परम्परा रहेको छ ।
नवदुर्गा देवगण नाच प्रस्तुती तालिका-२०८२
मसिर २९ गते पहिलो दिन सोमबार
पौष १ गते दोस्रो दिन मंगलबार
पौष २ गते तेस्रो दिन बुधबार