• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३१ श्रावण २०८१, बिहीबार


    बिज्ञापन

    टोखाको चाकुलाई नेपालको ब्राण्डिङ गर्न सकिन्छः स्वास्थ्य मन्त्री पौडेल

    टोखा टाइम्स, ३१ श्रावण
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले टोखाको चाकुलाई नेपालको ब्राण्डको रुपमा ब्राण्डिङ गर्न सकिने बताएका छन् । टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा विहिबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा चाकुलाई नेपालको ब्राण्ड बनाउन सकिने बताएका हुन ।

    ‘परम्परागत सीप र प्रविधिको प्रयोग गरी उखुको रसबाट बनाइने चाकुको गुणस्तर मापन तथा परीक्षण गरि चाकुबाट विभिन्न चक्लेटहरू उत्पादन गरी अन्य मुलुकमा निर्यात गर्न सकिन्छ, यसका लागि चाकु व्यवसायी स्थानीय सरकारका प्रतिनिधि र विज्ञ सहितको टोलि बसी घनिभुत छलफल गरि संसदबाट अनुमोदन गराउन सकेमा चाकुलाई नेपालको बाण्डिङ बनाउन सकिन्छ । ‘मन्त्रि प्रदिप पौडेलले भने ।

    उखुको रसबाट बनाइने चाकु नेवाः समुदायमा जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कार र पर्व उत्सवमा प्रयोग गर्ने गर्दै आइरहेको छ । विशेष यमरी र माघेसंकान्तिमा प्रयोग गरिने चाकुलाई ब्राण्डिङ गर्ने आफ्नो उनले आफ्नो चुनावी घोषणापत्रमै राखेर चाकुको ब्राण्डिङमा लाग्ने घोषणा गरेका थिए ।

    त्यस्तै, चाकुलाई ब्राण्डिङ गर्ने नगरपालिकाले योजना बनाएको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए । ‘आ.व. २०८१-८३ को बजेटमा चाकुलाई टोखाको ब्राण्ड बनाउन योजना बनाएका छौं । त्यसका लागि आवश्य प्रक्रिया अनुसार कार्यान्वयनका लागि हामी लाग्ने छौं ।’ उनले भने ।

    चाकुको उद्गम थलो टोखाको नामबाट नामाकरण भएको टोखा नगरपालिकाको प्रमुखको हैसियतले अभिभावकत्व ग्रहण गर्दै चाकुको सम्बर्द्धन र प्रवर्द्धनमा लागि नगरपालिकाले सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तरता दिइने नगर प्रमुख अधिकारीले बताए ।

    टोखाको पहिचानको रूपमा रहेको चाकुको स्तभ निर्माण गर्न वडा र नगरपालिकाले १५ लाख रूपैयाँ बजेट विनियोजन गरेको टोखा-३ का वडाध्यक्ष रमेश डंगोलले कार्यक्रममा जानकारी गराए । उनले चाकुको स्तभ निर्माण कहाँ र कसरी गर्ने भन्ने विषयमा आश्यक छलफल गरि उचित स्थानमा निर्माण गरिने कार्यक्रममा बताए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी.सीले चाकुको पेटेन राइट लिनको लागि कार्य अगाडि बढाइसकेको बताए । उनले चाकुको सम्बर्द्धन र प्रवर्द्धनका लागि नगरपालिकाले दिन सक्ने सेवा सुविधा तथा छुटमा कुन कसर बाँकी नराख्ने समेत बताए ।

    चाकु केवल सिमिति व्यवसायीहरूको मात्र नभई सिंगो टोखाको पहिचानसँग गाँसिएको विषय भएकोले चाकु उत्पादनमा गुणस्तरीयता, सुद्धता मुल्यमा एकरूपता हुन पर्ने र चाकु स्तभ निर्माण गर्दा केवल स्तम्भ मात्र नभई चाकु बनाउदा प्रयोग हुने बस्तु तथा गतिविधि सहित प्रदर्शनी गर्न सकिने संग्रहालय सहितको संरचना स्थापना गर्नु पर्ने टोखा संस्कृति संरक्षित समाजका अध्यक्ष गणेशमान श्रेष्ठ र नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले सुझाएका थिए ।

    हाल चाकु छिमेकी मुलुक भारत, अष्ट्रेलिया, लण्डन, जापान, चाइना लगायतका देशहरूमा समेत निर्यात भैरहेको
    टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण बहादुर श्रेष्ठले जानकारी दिँदै चाकु व्यवायीहरू चाकुलाई नेपालको ब्राण्ड बनाउन तत्पर रहेको बताए । उनले यसका लागि चाकु व्यवसायी, स्थानीय सरकार, केन्द्रीय सरकार र विज्ञ सहितको टोलि बसि आपसि छलफलबाट चाकुको गुणस्तरीयता, सुद्धता र आवश्यक नीति नियम बनाउन एक जुटभएर लाग्ने बताए ।

    यतिबेला स्थानीयदेखि केन्द्र सरकारले समेत चाकुको ब्राण्डिङ गर्ने तयारी गरिरहेको बेला चाकु व्यवसायीहरूले उचित कदम चाल्न आवश्यक छ ।

    Facebook Comments Box