• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:११ असार २०७९, शनिबार


    बिज्ञापन
  • टोखा नगरपालिकाले ल्यायो दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट

    टोखा टाइम्स, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि  टोखा नगरपालिकाले रु दुई अर्ब ११ करोड ५६ लाख सात हजारको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेको छ।

    नगरपालिकाको  ११ औँ  नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि  उक्त बजेट प्रस्तुत गरेको हो ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आवमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा निरन्तरता दिने बताउनुभयो ।

    टोखाले नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने बताएको छ । टोखाको चाकुलाई ब्राण्डिङ गरिने बताइएको छ ।

    यस्तै नगरपालिका र वडा कार्यालय परिसरमा फ्रि वाइफाइको व्यवस्था गर्ने, राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिकरुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    टोखाले आव २०७९/८० भित्र कार्यालय भवन निर्माण सम्पन्न गरी नगरपालिकाको भवनबाटै सेवा प्रवाहकोे व्यवस्था मिलाउने, एक वडा एक उद्यान नीतिलाई निरन्तरता दिने, एक वडा एक विपद् सुरक्षितस्थल गरी आवश्यक पूर्वाधार विकास गर्ने बताएको छ ।

    यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दिर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    Facebook Comments Box