• पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

    १९ असोज, टोखा । महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि टोखामा महिलाहरुको पाठेघरको क्यानसर सम्बन्धि नि:शुल्क प्याप स्मेयर जाँच शिविर सम्पन्न भएको छ ।

    टोखा नगरपालिका-३ को कार्यालय र टोखा सरस्वती स्वास्थ्य चौकीको आयोजना तथा चिरायु अस्पताल र मोडर्न ल्यावको प्राविधिक सहयोगमा वडा कार्यालय भवन प्राङ्गणमा संचालित शिविरको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गर्नुभयो ।

    कार्यक्रमको उद्घाटन गर्दै मेयर अधिकारीले टोखा नगरपालिकाले आफ्ना नगरबासी महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको बताउनुभयो । पछिल्लो समय स्त्री रोग तथा पाठेघर क्यान्सरले मृत्युवरण गर्ने र त्यस्तो रोगको बिरामी बढी देखिएकोले क्यान्सर हुनु पुर्व नै त्यसको समयमै पहिचान गरी रोकथाम तथा उपचार गर्न सकिन्छ भन्ने सन्दर्भ जोडेर पालिकाले यस्ता शिविर तथा कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको बताउनुभयो ।

    हाम्रो दैनिक अस्वस्थ खानपान र जीवनशैलीका कारण हाम्रो स्वास्थ्यमा नकरात्मक असर परिरहेको टोखा नगरपालिका ३ का वडा अध्यक्ष तथा टोखा सरस्वती स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समिति अध्यक्ष रमेश डंगोलले कार्यक्रममा बताउनुभयो ।

    वडाको क्षमताले भ्याएसम्मको वडाबासीहरूको स्वस्थ स्वास्थ्यका लागि विविध स्वास्थ्य कार्यक्रमहरूको आयोजना गर्दै जाने उहाँले बताउनुभयो ।

    शिविरमा स्त्री रोग विशेषज्ञ डा. बिलोनि वैध, डा. पुण्य पौडेल, डा. कृष्ण पन्डित लगायत टिमले स्वास्थ्य सेवा दिएका थिए ।

    कार्यक्रममा टोखा नगरपालिका-३ र चिरायु अस्पतालबीच ३ वडाका बासिन्दाले चिरायु अस्पतालमा उपचार गरेमा विशेष छुट र सेवा दिने विषयमा सम्झोतामा हस्ताक्षर गरिएको छ ।

    कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बि.सि, अतिथिहरु कार्यपालिका सदस्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष शान्ता राई, स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल, मोडर्न डायग्नोस्टिक सेन्टरका प्राविधिकहरु,वडा तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिह, महिला सामुदयीका स्वास्थ्य स्वयम् सेविका लगायत सेवाग्राहिहरुको उपस्थिति रहेको थिय‍ो ।

    Facebook Comments Box