• चण्डेश्वरी मन्दिरमा सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति सार्वजनिक

    टोखा टाइम्स, काठमाडौं । उर्वर भूमि नेपालले सतीदेवीको मृत शरीरलाई बोकेर महादेवले पृथ्वी भ्रमण गर्न लागेको मूर्ति टोखा नगरपालिका २ स्थिति चण्डेश्वरी मन्दिरमा सार्वजनिक गरेको छ ।

    सोमबार उर्वर भूमि नेपालले मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नवनिर्मित मूर्तिको अनावरण गरेको हो ।

    मूर्ति अनावरण पश्चात् सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले टोखाको धार्मिक स्थलमा ऐतिहासिक कार्य गरेकोमा आयोजक प्रति धन्यवाद दिँदै टोखा नगरपालिका सबै धर्महरूलाई सम्मान गर्दै अगाडि बढिरहेको बताए । उनले यस कार्यले टोखाको गौरवलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    नयाँ मूर्ति राख्दा पुराना मन्दिरको अस्तित्वमा आँच आउने स्थानीय जनस्तरबाट बुलन्द आवाज उठिरहेकोले यसलाई उचित स्थानमा प्रतिस्थापन गर्न जरूरी रहेको टोखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले कार्यक्रममा बताए ।

    त्यस्तै, टोखा नगरपालिका २ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले चण्डेश्वरी मन्दिर परिसरलाई व्यवस्थित बनाउन डिपिआर तयार भैरहेको जानकारी दिँदै सबैको राय सुझाव लिएर मूर्तिला२ उचित स्थानमा राखिने बताए । उनले मूर्ति राख्नु पुर्व आयोजकलले सम्बन्धित वडा तथा सरोकारवाला निकायसंग समन्वय गरेर अगाडि बढेको भए प्रभावकारी हुनेसमेत बताए ।

    उर्वर भूमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले नेपाल र नेपाली आफ्नो मौलिक धर्म र संस्कृतिलाई त्यागेर पापतिर उन्मुख भएकोले उचित बाटोमा ल्याउन यस्तो कार्यको सुरुवात गरेको बताए । अध्यक्ष श्रेष्ठले मूर्ति स्थापना गरेको स्थान पौणाकि कालमा दक्ष प्रजापतिको दरबार रहेको र उक्त ठाउँमा उनले बृहस्पति महायज्ञ गरेको समयमा सोही यज्ञ कुण्डमा सतीदेविले हामफाली प्राण त्याग गरेको दाबी गरेका छन् ।

    तामाबाट निर्मित उक्त मूर्ति ८ फिट अग्लो र चार सय किलो तौल रहेको छ । मूर्ति बुधबारसम्म चण्डेश्वरी मन्दिर परिसरमा राखिनेछ त्यसपछि आयोजकको कार्यक्रम अनुसार ७७ वटै जिल्लामा आयोजना गरिने महायज्ञमा लगिने र पछि चण्डेश्वरी मन्दिर परिसरमा प्राण प्रतिष्ठा गरि स्थापना गर्ने कार्यक्रम रहेको छ ।

    Facebook Comments Box