• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ फाल्गुन २०८१, आईतवार


    बिज्ञापन

    कक्षा ८ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा एडुसमिट स्कुल प्रथम

    टोखा टाइम्स, २३ फागुन । नेसनल प्याबसन टोखाद्वारा आयोजित कक्षा ८ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा एडुसमिट स्कुलले प्रथम स्थान हासिल गरेको छ। टोखास्थित कामना स्कुलमा आयोजित उक्त प्रतियोगितामा विभिन्न १३ विद्यालयका टोलीहरूले सहभागिता जनाएका थिए।

    प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल द्वितीय तथा क्युपिड स्कुल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् भने न्यूमालाश्री स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो। प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान अभिवृद्धि, तार्किक क्षमता विकास तथा प्रतिस्पर्धात्मक आत्मविश्वास बढाउने अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।

    कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन टोखाका अध्यक्ष बलराम भट्टले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमले गर्नुभएको थियो। कार्यक्रमका अन्य अतिथि तथा विद्यालयका प्रतिनिधिहरूले यस्ता शैक्षिक प्रतियोगिताहरू विद्यार्थीहरूको समग्र बौद्धिक विकासका लागि आवश्यक रहेको धारणा व्यक्त गरे।

    प्रतियोगिताको सञ्चालन आकर्षक ढङ्गले गरिएको थियो, जसले विद्यार्थीहरूको सक्रिय सहभागिता र उत्साहलाई अझ बढाएको थियो। आयोजकका अनुसार विद्यार्थीहरूमा ज्ञानप्रतिको रुचि बढाउने तथा समूहमा सहकार्य गर्ने क्षमतालाई विकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले आयोजकलाई धन्यवाद दिएका छन्। विजयी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो। आयोजकले आगामी दिनहरूमा पनि यस्ता ज्ञानमूलक प्रतियोगिताहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    Facebook Comments Box