◾ हिक्मत डंगोल

साउनको अन्तिमतिरको ननिचाको बिहानी। टोखाको साँघुरो गल्लीहरूमा अझै ओस झरिरहेको छ। पुराना इँटाका घरका झ्यालबाट देखिने मुस्कान र टोलको कुनामा सुनिने बाजागाजाले यो बस्तीमा विशेष दिन आएको संकेत दिन्छ। आज झ्यालिन्चा निकाल्ने दिन हो—गाईजात्रा सुरु हुनु अघिको त्यो पवित्र संस्कार, जसलाई यहाँका नेवा: समुदायका बासिन्दाले शताब्दीयौंदेखि जोगाउँदै आएका छन्।
इतिहासको गहिराइमा:
झ्यालिन्चा गुठीको ठ्याक्कै सुरुवात कहिले भयो भन्ने अभिलेख छैन। तर बुढापाकाको भनाइअनुसार यो कम्तीमा १५–२० पुस्तादेखि चलिआएको छ। ८९ वर्षीय तेजबहादुर डंगोलका शब्दमा—
“हामी सानैदेखि हेर्दै आएका हो—गुठीको काम सकिएपछि मात्र झ्यालिन्चा निकालिन्छ। नियम अनुसार झ्यालिन्चा ननिकालेसम्म गाईजात्रा सुरु हुँदैन।”
यो गुठी केवल धार्मिक अनुष्ठानको व्यवस्थापक मात्र होइन, टोखाको सामाजिक ऐक्यबद्धताको धरोहर हो।
अनुष्ठानको बिहान:
यो कामका लागि गुठीका १०–१२ जना डंगोल खलकका सदस्य भेला हुन्छन्। यो कार्य गर्ने अधिकार झ्यालीं च्वयके ज्यापु परिवारका सदस्यलाई मात्र हुन्छ।
सबैभन्दा पहिले बाँसको डालो र तीन वटाको लठ्ठी तयार पारिन्छ। त्यसपछि ६ जोडी (१२ वटा) कतामरी—नेपालीमा पुतली—घरमै बनाइन्छ।
• १ जोडी सेतो
• १ जोडी कालो
• बाँकी जुनसुकै रंगको
यी कतामरीलाई बारा, चतांमरी, सलांच र मासु खुवाइन्छ—जसरी कुनै पाहुनालाई सत्कार गरिन्छ। अनि हरियो ज्यान लप्टेमा राखेर बाँसको त्रिपादमा सजाइन्छ।

गाउँभरिको यात्रा:
कतामरी लिएर गुठीयार टोल–टोल घुम्न थाल्छन्।
बालबालिका र महिलाहरूको हर्षित नजरबीच उनीहरू भन्छन्—
“ए नानीहरू!! तिमिहरूको पनि कतामरी छ भने देऊ।”
यो वाक्य मात्र माग्ने शब्द होइन—यो सहभागिताको निम्तो हो। जसले हरेक परिवारलाई यस अनुष्ठानको हिस्सा बनाउँछ।
थने लाछीको योंसीमा पुगेर ५० जोडी चतांमरी अर्पण गरी भोज खुवाइन्छ। यसमा “ ने “ बाजा बजाउने काम भैरहन्छ। त्यसपछि ढुगेधारामा रातो माटोले लिपपोत गरिएको ठूलो करूवामा चतांमरी राखी ‘राक्षस’लाई अर्पण गरिन्छ—टोखामा अनिकाल नहोस् भन्ने विश्वासमा।

अन्तिम यात्रा र नफर्किने प्रतिज्ञा:
यसपछि बाँसको लठ्ठीमा एउटा कतामरी, एकातिर अनार र अर्कोतिर काक्रो झुन्ड्याएर इकुलाग टोल हुँदै बुरान्डो चौरमा पूजा गरिन्छ।यता बुण्डोमा बसी बाजा बजाउने काम निरन्तर भैरहन्छ। दुई जना खुकुरी बोक्ने मानिससँगै मसानकालीको पश्चिमपट्टीको “ कांकधचा “ मा पुगेपछि कतामरीलाई खुकुरीले काटेर कुलोमा छोडिन्छ।
यसबेला एउटा कठोर नियम छ—पछाडि फर्केर हेर्नु हुँदैन।यो मात्र परम्परागत वर्जित होइन; यो विगतका पीडालाई त्यागेर नयाँ जीवनतर्फ अघि बढ्ने सामूहिक प्रतिज्ञा हो।यसपछि टोखामा गाईजात्रा शुरू हुन्छ।

जीवन र मृत्युबीचको सांकेतिक संवाद:
• कतामरी : मृत आत्मा र विगतको पीडाको प्रतीक
• पछाडि नहेर्ने : जीवनको निरन्तरता र भविष्यमुखी सोच
• सामूहिक भोज : ऐक्यबद्धता र जिम्मेवारीको साझेदारी
• बाजागाजा : शोकपश्चातको उत्सव र पुनर्जागरणको संकेत
टोखाको आत्मा जोगाउने परम्परा:
झ्यालिन्चा गुठी केवल एक संस्कार मात्र होइन, टोखाको सामूहिक स्मृति हो। यो बस्तीलाई बाँध्ने अदृश्य डोरी हो, जसले मानिसलाई सम्झाउँछ—
मृत्यु अन्त्य मात्र होइन, नयाँ जीवनको सुरुवात पनि हो।
गाईजात्राको रमाइलो सुरु हुनु अघिको यो विधि बस्तीको आत्मा हो, जसले विगतलाई श्रद्धा र भविष्यलाई आशा दिन्छ।