• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० असार २०७९, सोमबार


    बिज्ञापन
  • टोखा नगरपालिकाको एघारौं अधिवेशन सम्पन्न, २ अर्ब ११ करोड ५६ लाख रुपैंयाँको बजेट सर्बसम्मतिले पारित

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकाको  नगर सभाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मतिले पारित गरेको छ । टोखा नगरपालिकाको सोमबार सम्पन्न  एघारौं अधिवेशन नगरसभामा आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मति रुपमा पारित गरिएको हो ।

    नगर सभामा नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आगामी आर्थिक २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम पारित गरियोस् भनि नगरसभामा प्रस्तुत गरेका थिए । त्यसपछि नगर सभाका सदस्यहरुले तालि बजाएर सर्बसम्मत रुपमा पारित गरेका थिए ।

    सो अवसरमा नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर लाग्ने बताए ।

    नगर प्रमुख अधिकारीले नगरपालिकालाई समृद्ध र नमूना बनाउन आफू लागिपरेको पनि बताएका थिए । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताएका थिए ।

    नगरसभामा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० को लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैंयाँको बार्षिक बजेट प्रस्तुत गरेका थिए ।

    नगरसभामा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९।०८० विनियोजन विधेयक समेत प्रस्तुत गरेका थिए ।

    नगरसभामा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले टोखा नगरपालिकाको समग्र विकास र समृद्धि गर्ने गरी बजेट तथा नीति कार्यक्रम पारित गरिएको बताउदै नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको बताएका थिए ।

    नगरसभाले नगरसभा सदस्यहरु गोपीकृष्ण पाठक र चन्द्र प्रकाश श्रेष्ठलाई न्यायिक समितिको सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

    नगरसभामा टोखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत नगरसभा सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    Facebook Comments Box