• टोखा टाइम्स

    • प्रकाशित मिति:१ श्रावण २०७९, आईतवार


    बिज्ञापन
  • भख्य: हाम्रो मुटु र फोक्सो

    इतिहास दोहोरिन्छ तर फरक ढङ्गले भने जस्तै वि.सं. २०५२ सालमा भख्य:(भुतखेल)को सल्लाघारीको सबै रुखहरु काटी च्यारिटी अस्पताल बनाउँछु भनी एउटा निजी परियोजना यहाँका केही अग्रजहरुको निरन्तर विरोध पश्चात् सो परियोजना जोरपाटीमा गयो।त्यस्तै पोहोर साल मात्रै यस्तै समयमा यहाँ स्टेडियम बनाउने भन्ने प्रस्तावको चौतर्फी विरोध भई लगभग नबन्ने भन्ने कुरा पक्कापक्की भइसकेको थियो।आज त्यही विषयलाई पृथक ढङ्गले उजागर गर्दा उदेक लाग्यो।

    ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले प्रसिद्ध टोखा नगरीको नामसँगै जोडिएर आउने भख्य: पर्यावरणीय र सांस्कृतिक रुपले अत्यन्तै महत्त्वपूर्ण स्थान हो।यसलाई समग्र टोखाको मुटु र फोक्सोको रुपमा लिन सकिन्छ।यो ठाउँ फुटबल खेल्नुका साथै प्रात: र सन्ध्याकालिन भ्रमणको रुपमा लिनुका जात्रा एवं विविध सांस्कृतिक कार्य गर्ने थलो हो।यसलाई प्राकृतिक चौरको रुपमै रहन दिँदा सर्वोत्तम हुन्छ।यसको स्तरोन्नतिका लागि केही गर्न सकिन्छ तर एकजना व्यक्ति,क्लब वा पार्टीको स्वार्थका लागि स्टेडियम बनाई परापुर्वकालदेखि प्राकृतिक संरचनालाई बिगार्ने अधिकार कसैलाई नि छैन।

    घरमा कुनै महत्त्वपूर्ण कार्य गर्ने बेलामा अभिभावकले आफ्ना छोराछोरीसँग सल्लाह गरे जस्तै यस्तो एकदमै गहन विषयलाई झिनोमसिनो ठानी जनताको विश्वासको अमूल्य मत पाई विजय भएका जनप्रतिनिधिले जनभावना विपरीत जबर्जस्ती गर्न मिल्दैन।त्यसो गर्दा गणतन्त्रको मूल्य मान्यता अनुसार जनता नै सर्वेसर्वा भन्ने सिद्धान्तको धज्जी उड्नेछ।यो जनप्रतिनिधिलाई विरोध गरेको होइन सल्लाह मात्रै हो।जुनसुकै ठाउँको जनप्रतिनिधिलाई सफल बनाउन त्यस ठाउँका सचेत नागरिकको भुमिका उल्लेखनीय हुन्छ।

    यो ठाउँलाई जस्ताकोतस्तै छोडेर वडा र यहाँका सम्पूर्ण क्लबहरुसँग सहकार्य गरी फुटबल,भलिबल,बास्केटबलको नियमित प्रशिक्षण(कोचिङ)को व्यवस्था गरी खेललाई थप मर्यादित र विकास गर्न सकिन्छ।यसो गर्न सकेमा भोलि खेल प्रतिस्पर्धा गर्न जाँदा अरु खेलाडीहरुको भर नपरी टोखाकै खेलाडीहरु जान सक्नेछन्।

    हाम्रा पुर्खाहरुले टोखाबस्तीका लागि यति खाली खुल्ला ठाउँको आवश्यकता छ भनी संरक्षण गरिराखेको यो भख्य:ले मात्रै जहिले नि गिद्धे दृष्टिको मात्रै किन शिकार हुनु परेको! यो त आफैमा निकै नै विकसित भइसकेको छ । यसको वास्तविक संरचनालाई किन बिगार्ने? कुनै बहानामा नि यसलाई छुन मिल्दैन। सपनातिर्थ मन्दिरभन्दा माथि मेरिडियन स्कुल बनाउँदा खेरि कति रोपनी २५ रोपनी सार्वजनिक जग्गा मिचेको छ रे!त्यहाँ बनाउने किन कोशिश गरिन्न?कि सबै राजनैतिक दल र संघसंस्थाहरुलाई बुजो लगाइदिए अविसिन्नले?यदि होइन भने जनतालाई स्पष्ट पार्नुपर्छ।

    सन्जोलमा ४५ रोपनी,ग्रान्डी हाउजिङलाई १० वर्षसम्मका लागि भनेर २०६३ सालमा भाडामा दिएको के भो के हुँदैछ जनता बिल्कुलै अनविज्ञ छन्।त्यता बनाउने कोशिश किन गरिन्न?जो आएनि भख्य:लाई नै निशाना किन बनाउने?चौर बनाउने नाममा हामीले यहाँको पोखरी,फल्चा(पाटी),दिप(घाट) गुमायौं।यस ठाउँलाई कसैले पनि कमाइ खाने भाँडोको रुपमा नहेरुन्।मुटु र फोक्सो टुक्राटुक्रा गरी कमाएको पैसाको के अर्थ रह्यो र?

    स्टेडियमभन्दा महत्त्वपूर्ण चीज के छ भन्ने कुरामा सबै मिली छलफल गर्नु जाती हुन्छ।स्टेडियम बनाउने प्रस्ताव मेरो व्यक्तिले राखेको,यो मेरो पार्टीको योजना र मेरो क्लबको सपना हो भनी कसैले नि आँखा चिम्ली अन्धाधुन्ध समर्थन गर्ने कार्य नगरौं।सम्पूर्ण संस्था, खल:,पुच:,राजनैतिक दल,गुथि र नागरिक समाज कसैको दबाब र प्रभावमा नपरी खुलेआम विरोध गरौं।नेवा: गुथि र सांस्कृतिक संरक्षण दबुले पनि स्पष्टसँग बोल्नुपर्छ न कि राष्ट्रघाती एमसीसी पारित गरेको बेलामा एमाले पार्टीको जस्तो भुमिका नहोस्।

     

    Facebook Comments Box