• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ पुष २०८०, आईतवार


    बिज्ञापन
  • नेपालभाषामा स्थानीय पाठ्यक्रम ‘झीगु तोखा देय्’ विमोचन

    टोखा टाइम्स, टोखा । टोखा नगरपालिकाले कक्षा १ देखि ३ सम्म नेपालभाषामा स्थानीय पाठ्यक्रम विमोचन गरेको छ । नगरपालिकाले एक कार्यक्रमबीच आज कक्षा १ देखि ३ सम्मको पाठ्यमक्रम सार्वजनिक गरेको हो । कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकपनि चाँडै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, टोखा–२ र ३ का वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल, निवर्तमान उपप्रमुख ज्ञानमाया डंगोल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम, मातृभाषा संरक्षण अभियानका अध्यक्ष श्रीकृष्ण मानान्धर र ‘नेवाःबस्ती, नेवाः स्कुल’का अभियान्ता दिपक तुलाधारले संयुक्त रुपमा आज टोखा–२ को सभाहलमा पुस्तक विमोचन गरेका हुन्।

    टोखा नगरपालिका क्षेत्र भित्रका विद्यालयमा मातृभाषामा कक्षा १ देखि ३ सम्म ५० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन गर्ने उद्देश्यसहित ‘झीगु तोखा देय्’ पाठ्यक्रम विमोचन गरिएको हो।

    पाठ्यपुस्तक विमोचनपछि नगर प्रमुख प्रकाश अधिकारीले धेरै वर्षको प्रयत्न पश्चात पाठ्यक्रम कार्यान्वयन गर्न पाउनु टोखाको गौरव, प्रतिस्था र सम्मानको विषय भएको बताए । हामीले यहाँको स्थानीय मातृभाषाको सम्मान र संरक्षण गर्नु पर्ने बताउँदै अधिकारीले भने-‘पाठ्यपुस्तक अनुसार यहाँको भाषा, संस्कृति, सम्पदा कलालाई नेपालभाषाबाट लिपिबद्ध गरी पाठ्यक्रम निर्माण गर्न तपाईहरु अगाडि बढ्नुस । त्यसका लागि आवश्यक बजेट तथा सहायता नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछु।’

    कार्यक्रमा उपप्रमुख मुरारी तामाङले टोखा नगरपालिकाको ऐतिहासिक नगरी टोखाको मौलिक, कला, सांस्कृतिक र भाषाको उत्थान तथा संरक्षणका लागि टोखा नगरपालिकाले हरतरहको सहयोग गर्न तयार रहेको बताए ।

    ‘विद्यालयमा मातृभाषा पठनपाठन गराउन पाउदा हामी गौरवान्वित भएका छौँ, टोखा–२ का वडाध्यक्ष श्रेष्ठले भने- ‘हामी आफ्नो मातृभाषा सिकाउँदै छौँ, भाषा सँगसँगै यहाँका परम्परा, संस्कार लगायतका विषय पनि पाठ्यक्रममा समावेश गरी भाषासँगै हाम्रो परम्परा तथा संस्कार पनि नयाँ पुस्तामा पुस्तान्तरण गर्दै लैजानु पर्ने आजको आवश्यकता भएको छ । यसका लागि आवश्यक सहयोग २ र ३ वडाले गर्ने वचनबद्धता दिन चहान्छु ।’

    त्यस्तै, कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमले नगरपालिकाको आफ्नो पाठ्यक्रम नहुँदा विद्यालयमा महानगरको पाठ्यपुस्त पठनपाठन गराईरहेको जानकारीदिदै आजदेखि आफ्नै स्थानीय पाठ्यक्रमको पठनपाठन हुने बताए ।

    ‘यहिकै सेरोफेरोमा रहेर यहिकै विषयवस्तुहरु समावेश गरेर हामीले पाठ्यपुस्तक तयार गर्छौं । पहिलो चरणको प्रयास भएकोले कमिकमजोरी हुन सक्छ, त्यसलाई परिमार्जित गर्दै स्तरीय पाठ्यपुस्तक तयारी गर्दै अगाडि बढ्ने छौँ ।’, उनले बताए ।

    टोखा नगरपालिकामा मातृभाषालाई  कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा वृहतरुपमा छलफल भए अनुरुप नगरपालिका र राजनीतिक दलहरु सँगको छलफल पश्चात मातृभाषा संरक्षण अभियान नाम संस्थाको स्थापना गरी दुई वर्ष अगाडि हालका लागि टोखा–२ र ३ वडाका विद्यालयहरुमा काठमाडौं महानरपालिकाले तयार गरेको पाठ्यक्रम/पाठ्यपुस्तलाई आधार बनाएर पठनपठन शुरु गरिएको मातृभाषा संरक्षण अभियानका अध्यक्ष श्रीकृष्ण मानान्धरले कार्यक्रममा जानकारी दिए ।

    नगरपालिका, राजनीतिक दल तथा शिक्षा शाखाको सहयोगमा आफ्नै स्थानीय मातृभाषाको पाठ्यक्रम तयार भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यसको कसरी प्रयोग गर्ने भन्ने मूल समस्या रहेको उनले बताए । यसकालागि नगरपालिका, स्थानीय सरकार, रानीतिक दल, संघसंस्था तथा विज्ञहरु एक ठाउँमा बसि वृहत छलफल गरी अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

    पाठ्यपुस्तकमा टोखाभित्र रहेका र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राग स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिने छन् । साथै, पाठ्यपुस्तकमा नेवार समुदायको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिने छन्।

    कार्यक्रममा विद्यालयलाई पाठ्यक्रम वितरण समेत गरिएको थियो ।

    Facebook Comments Box